सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपालका इकाइहरूको कार्यसम्पादन, अनुशासन र क्षमता अभिवृद्धिका लागि वार्षिक इकाई निरीक्षण प्रक्रियालाई केवल औपचारिकतामा सीमित नराखी व्यावसायिकता, कार्यक्षेत्रको वास्तविक नतिजा, सीमा सुरक्षाको प्रभावकारिता र नागरिक तहमा संगठनले आर्जन गरेको जनविश्वासलाई मूल्याङ्कनको मुख्य आधार बनाउन निर्देशन दिनुभएको छ । मंसिर १० गते सशस्त्र प्रहरी बल, नेपाल केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाईहरुको छनौट तथा योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश २०८० (तेस्रो संशोधन) बमोजिम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट केन्द्रीय निरीक्षणमा खटिने टोलीका सदस्यहरुलाई संचालन गरिएको अनुशिक्षण तालिमको समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सो निर्देशन दिनुभएको हो । उहाँले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट खटिने निरीक्षण टोलीहरूले कुनै पनि पूर्वाग्रह, व्यक्तिगत स्वार्थ वा पहुँचका आधारमा नभई तोकिएको कार्यविधि र निष्पक्ष मापदण्डभित्र रहेर इकाईहरुको निरीक्षण गर्नुपर्ने बताउनुहुँदै इकाईभित्र कमान्डर र फौजबीचको सामञ्जस्य, गुनासो व्यवस्थापन र आन्तरिक अनुशासनको अवस्थालाई सुक्ष्म रूपमा केलाउन समेत निरीक्षण टोलीलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले निरीक्षण टोलीले इकाईभित्रका गतिविधिमा मात्र सिमित नरही अन्य सुरक्षा निकाय, स्थानीय सरकार लगायत अन्य सरोकारवाला निकायसँगको समन्वय र सशस्त्र प्रहरीप्रतिको जनविश्वासको वास्तविक मापन समेत गर्नुपर्ने बताउनुहुँदै निरीक्षणमा खटिने कमान्डर तथा टोली सदस्यहरू स्वयंले उच्च नैतिक आचरण र व्यावसायिक अनुशासन प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतका वर्षहरूमा अपनाइएका मूल्याङ्कन अभ्यासहरूलाई परिमार्जन गर्दै वााहिनी, गण, गुल्म, तालिम केन्द्र तथा सीमा सुरक्षा बेसहरूसम्मको भूमिकालाई थप उत्तरदायी र जवाफदेही बनाउन विभिन्न टोलीहरू गठन गरी प्रदेशस्तरमा खटाइएको उल्लेख गर्नुहुँदै निरीक्षणलाई औपचारिकतामा मात्र सीमित नराखी संस्थागत सुधारको माध्यम बनाउनुपर्ने बताउनुभयो । उक्त अनुशिक्षण तालिमको उद्घाटन मंसिर ९ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेलले गर्नुभएको थियो । उहाँले फरक–फरक टोलीले मूल्याङ्कन गर्दा आउन सक्ने त्रुटिलाई घटाउन र देशभरका युनिटहरूलाई एउटै मापदण्डमा नाप्नको लागि यस किसिमका अनुशिक्षण तालिम संचालन गरिएको    बताउनुभयो । निरीक्षण कार्यलाई पारदर्शी र निष्पक्ष बनाउन उच्च अधिकृतहरुको नेतृत्वमा विभिन्न विशेष टोली परिचालन गरिने भएको छ । निरीक्षण टोलीलाई तोकिएको ढाँचाबाहेक वास्तविक वस्तुस्थिति दर्शाउने प्रतिवेदन समेत पेश गर्ने अधिकार दिइएको छ । आर्थिक अनुशासन र सुशासन कायम राख्न निरीक्षण टोलीमा लेखा अधिकृतहरूलाई समेत संलग्न गराइएको छ भने सो टोलीेले इकाईहरुमा विनियोजित पुँजीगत खर्च अनुसार कार्यक्षेत्रमा वास्तविक काम भए–नभएको सूक्ष्म अनुगमन गर्नेछ । निरीक्षण सम्पन्न भएपश्चात वस्तुनिष्ठ समीक्षा गरी सशस्त्र प्रहरी बल नेपालको आगामी दिनमा नीतिगत परिमार्जन, रणनीतिक योजना निर्माण र कार्यविधिगत सुधार गर्दै लैजाने योजना समेत रहेको छ ।

APF