मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१ चौकीटोलस्थित हेटौडा–भिमफेदी सडकखण्डबाट कार्तिक २८ गते सशस्त्र प्रहरीले सेमी अटोमेटिक पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएकाहरुमा सोही जिल्लाको मनहरी गाउँपालिका–६ नयाँबस्ती बस्ने २२ वर्षिय विश्वराज मोक्तान र २७ वर्षिय अमिर लामा छन् ।
हेटौडाबाट भैसेतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ह ११८१ नम्बरको टेम्पोमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक ऋषिराम पौडेलको कमाण्डमा खटिएको टोलीले जाँच गर्दा उनीहरुको साथबाट उक्त पेस्तोल तथा सोको म्याग्जिन र एक राउण्ड गोलीसहित नियन्त्रणमा लिईएको हो ।
साथै उनीहरुको साथबाट ३ थान मोवाईल सेट र ८ सय ६० नेपाली रुपैयाँ समेत बरामद गरिएको छ ।
नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद पेस्तोल तथा टेम्पो र अन्य सामानसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।