ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा असोज ८ गते भएको भीषण आगलागी सशस्त्र प्रहरीले अन्य सुरक्षा निकाय, वारुण यन्त्र र स्थानीयवासीको सहयोगमा नियन्त्रण तथा उद्धार कार्य जारी राखेको छ । आज दिउँसो सोही ठाउँ बस्ने स्थानीय डङ्डु शेर्पाको दुई तल्ले घरमा रहेको कपडा पसल र होटलमा अचानक विद्युत सर्ट भई आगलागी भएको बताइएको छ । आगलागी भएको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. १ कञ्चनजङ्घा गुल्म ताप्लेजुङबाट सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीको कमाण्डमा सशस्त्र प्रहरी टोली खटिएको छ । सो आगलागीबाट हालसम्म ८ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको र आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिन टोली निरन्तर खटिइ रहेको छ ।