कुकुर तिहारको अवसरमा नक्सालस्थित नारायणचौर पार्कमा आयोजित विशेष कार्यक्रममा सशस्त्र प्रहरीको ’सर्च एन्ड रेस्क्यु’ ट्रेडमा कार्यरत ’साम्वा’ राष्ट्रसेवक कुकुरलाई विशेष सम्मान गरेको छ । 
      कार्तिक २२ गते उक्त कार्यक्रममा तालिमप्राप्त कुकुर ’साम्वा’ लाई मुख्य मञ्चमा राखी पूजा अर्चनाका साथ विशेष सम्मान’ गरिएको हो । ल्याब्राडोर जातको साम्वाले भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिहरूको खोज तथा उद्धारका क्रममा १५ वटा शव पत्ता लगाउन महत्वपूर्ण योगदान पुर्‍याएको थियो ।
       यसैगरी सशस्त्र प्रहरी बल नेपालले काठमाडौँको बलम्बुस्थित पशु स्वास्थ्य तथा डग ह्यान्डलर उप–शाखाले विशेष कार्यक्रम आयोजना गरी कुकुर तिहार मनाएको छ ।
    मानव सुरक्षा, अपराध अनुसन्धान, सीमा सुरक्षा सुदृढीकरण र प्राकृतिक विपद् व्यवस्थापनमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा राष्ट्रसेवक कुकुरहरूको पूजा अर्चना गर्नुकासाथै तिनको उत्कृष्ट व्यावसायिक क्षमता र विविध कौशलको प्रदर्शन गरिएको थियो ।
       सशस्त्र प्रहरी बल नेपालका तालिमप्राप्त कुकुरहरू सुरक्षा चुनौती सामना गर्न र प्राकृतिक विपद्का कठिन परिस्थितिहरूमा उद्धार कार्यका लागि महत्वपूर्ण आधारका रूपमा समेत रहँदै आएका छन् ।

APF