सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई चाडपर्वको समयमा आम नागरिकको सेवा र सुरक्षालाई ध्यानमा राखी परिचालन हुन निर्देशन दिनुभएको छ ।
असोज २७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई महानिरीक्षक पौडेलले लाइभ भिडियो स्ट्रिमिङमार्फत सो निर्देशन दिनुकासाथै आउँदै गरेको विजया दशमी, शुभ दीपावली र छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसरमा हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
उहाँले संगठनका प्रथम सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठ लगायत राष्ट्र सेवामा अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुहुँदै घाइते, अपांग भई उपचारत रहनु भएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले चाडपर्वका बेला लोकमार्गहरूमा हुनसक्ने सवारी दुर्घटना, बजार तथा औद्योगिक क्षेत्रमा चोरी–लुटपाट, सीमापार अवैध चोरी–निकासी, पैठारी, राजस्व चुहावट र लागूऔषधको ओसारपसार जस्ता अवाञ्छित गतिविधिहरू नियन्त्रण गर्न ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लाई उच्च सतर्कताका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले नागरिकहरू हर्षोल्लासकासाथ चाडपर्व मनाइरहँदा सुरक्षाकर्मीहरूले भोक, प्यास, घाम, पानी र व्यक्तिगत सुख–सुविधाको पर्वाह नगरी अनवरत रूपमा कर्तव्यपथमा खटिनु नै राष्ट्रसेवकको वास्तविक पहिचान र धर्म भएको स्मरण गराउनुहुँदै हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा मुलुकका विभिन्न भागमा भएका विपद्का घटनाहरूमा आफ्नो ज्यानको बाजी थापेर खोज, उद्धार र राहतमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूको प्रशंसा गर्नुभयो ।
उहाँले सीमा सुरक्षा, विपद् व्यवस्थापन, नागरिकको जीउधनको संरक्षण तथा आन्तरिक सुरक्षाकासाथै संयुक्त राष्ट्रसंघीय मिसनहरुमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै स्वदेशी तथा विदेशी भूमीमा चाडपर्वका समयमा आफ्नो कर्तव्यमा खटिनुहुने सम्पूर्ण राष्ट्रसेवकहरुको समर्पण, अनुशासन र सेवाभावप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संगठनभित्र भ्रष्टाचार, अनियमितता, स्वार्थको द्वन्द्व र अधिकारको दुरुपयोगमा संलग्नता कसैलाई पनि स्वीकार्य नहुने र सुशासन, पारदर्शिता तथा निष्पक्षतालाई कडाइकासाथ पालना गर्नुपर्ने उल्लेख गर्नुहँुदै नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार संगठनलाई दक्ष, आधुनिक, प्रविधिमैत्री र परिणाममुखी विशिष्टीकृत सुरक्षा निकायका रूपमा विकास गर्न सबै तहका कमाण्डरहरूलाई निर्देशन दिनुभयो ।
उहाँले गलत काम गर्नेलाई कारबाही र असल काम गर्नेलाई पुरस्कृत गर्ने नीति अनुसार व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र नागरिकको हितमा समर्पित हुनुपर्ने उल्लेख गर्नुहुँदै आन्तरिक सुरक्षा तथा हुलदंगा व्यवस्थापनमा ओभररियाक्ट नगरी स्थानीय प्रशासन ऐन बमोजिम समानुपातिक बल प्रयोगको सिद्धान्त पालना गर्न र मानवअधिकारको संरक्षण, लैङ्गिक हिंसा एवं दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीतिलाई पूर्ण रुपमा पालना गरी परिचालन हुनुपर्नेमा जोड दिनुभयो ।