Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट छिन्नमस्ता बाहिनी तथा गणहरुको विधिवत समुद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३९ गण महोत्तरीको फागुन ३ गते आयोजित एक समारोहकाबीच विधिवत समुद्घाटन गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक खनालले आजै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाको समेत समुद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी बल, नेपाल राष्ट्रको रक्षा, सीमानाको सुरक्षा, राष्ट्रियताको जगेर्ना र नेपाली जनताको सेवा, सुरक्षा, सहयोग तथा उद्वारका लागि प्रतिवद्ध रहेको उल्लेख गर्नुहुँदै संगठनका अग्रज तथा सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मेहनत, त्याग र समर्पणको फलस्वरुप संगठन राज्यको भरपर्दो सुरक्षा निकायको रुपमा स्थान बनाउन सफल रहेको बताउनुभयो । उहाँले कुनै पनि निकायको सांगठनिक संरचना समयानुकुल एवं आश्यकतानुसार परिमार्जन र परिवर्तन भएमा मात्र ती संगठनहरु चलायमान र सान्दर्भिक हुने बताउनुहुँदै संगठनको प्रभावकारिता साथै समग्र राज्यको सुरक्षा व्यवस्थालाई थप मजबुद तुल्याउन विभिन्न समयमा नेपाल सरकारबाट संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवदेन स्वीकृत भई सो बाहिनी र गणहरुको स्थापनाले महोत्तरी जिल्ला र समग्र प्रदेशको शान्ति सुरक्षा कायम राख्न अहम भूमिका खेलिरहेको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सांगठनिक पुर्नसंरचना पश्चात सीमामा पहिले भन्दाबढि संख्यामा जनशक्तिहरु परिचालित भई सीमामा २ सय २१ वटा बोर्डर आउट पोष्ट पु¥याउने लक्ष्यका साथ हाल सम्म २ सय ५ वटा बोर्र्डर आउट पोष्ट स्थापना भईसकेको र सो बोर्डर आउट पोष्टहरु स्थापना पश्चात चोरीतस्करी नियन्त्रण, सीमा अपराध नियन्त्रण, राज्यको राजश्व बृद्धि हुनुकासाथै सीमा क्षेत्रका नागरिकहरुले समेत सुरक्षित महशुस गरेको विश्वास व्यक्त गर्नुभयोे । उहाँले उत्तरी सीमाका उच्च हिमाली भू-भागको कठ्यांग्रीने जाडोदेखि दक्षिणी सीमाको अत्याधिक गर्मी र हावाहुरीको सामना गर्दै सुदूर पूर्वको ओलाङचुङगोलादेखि सुदूरपश्चिमको कालापानी, लिपुलेक नजिकको छाङ्गरु सम्मको स्थानमा सशस्त्र प्रहरी बल, नेपालका एकाईहरु मार्फत अहोरात्र तैनाथरहि संगठनलाई प्राप्त जिम्मेवारी तथा उत्तरदायित्व व्यावसायिक कुशलतापूर्वक सम्पादन गर्दै आईरहेको बताउनुभयो । संगठन भ्रष्टाचार, मानवअधिकार उल्लंघन र लैङ्गिक हिंसाका विरुद्ध शून्य सहनशिलताको नीति अवलम्वन गर्दै अघि बढिरहेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भन्नुभयो-‘यदि कोहीकतै व्यावसायिक आचरण विपरितका कृयाकलापमा संलग्न भएमा क्षम्य नहुने साथै असल र उत्कृष्ट कार्य गर्नेहरुलाई पुरस्कृत गरी प्रोत्साहन गरिने छ ।’ उहाँले कोभिड-१९ महामारी व्यवस्थापनमा सशस्त्र प्रहरी कर्मचारीहरु अग्रपंक्तिमा रहेर प्रदर्शन गरेको व्यावसायिकताको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै शान्ति र सुशासन कायम राख्न सवै सुरक्षा निकाय तथा सरोकारवाला निकायहरुसँगको समन्वयले जस्तोसुकै सुरक्षा चुनौतीलाई पनि परास्त गर्न सकिन्छ भन्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमले सो बाहिनी तथा मातहतका युनिटहरुले जिम्मेवारीका क्षेत्रमा शान्ति सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापन, औद्योगिक सुरक्षा, महात्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, राष्ट्रिय गौरवका परियोजना, पूर्वपश्चिम लोकमार्ग, हुलाकी राजमार्ग आदि ठाउँहरुमा खटिएर उत्कृष्ट कार्यसम्पादन गर्दै आईरहेको चर्चा गर्नुहुँदै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ व्यवस्थापनमा अग्रपंक्तीमा रहि उत्कृष्ट कार्यसम्पादन भएको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली सेना मध्यपूर्वी पृतनापति उपरथि सुरेशकुमार कार्की, जिल्लास्थित विभिन्न नगरपालिकाका प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, नागरिक समाज, बुद्धिजीवि तथा स्थानीय भद्रभलाद्मी लगायत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2077-11-03
APF News
तामाकोशी नदीमा बेपत्ता भएका सहचालकको शव एपीएफ गोताखोरद्वारा फेला
दोलखा, दोलखा जिल्लाको विगु गाउँपालिका ४ स्थित बलिटार भन्ने स्थानमा ट्याक्टर दुर्घटनामा परी तामाकोशी नदीमा बेपत्ता भएका सोही ट्याक्टरका सहचालक अनन्त बहादुर खड्काको शव सशस्त्र प्रहरी बल, नेपालको गोताखोर टोलीले फागुन ३ गते फेला पारेको छ । सोही जिल्लाको गौरीशंकर गाँउपालिका ५ बस्ने १४ बर्षिय खड्का गत माघ २० गते भएको ट्याक्टर दुर्घटनामा परी सो नदीमा बेपत्ता भएका थिए । उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्ड खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव घटनास्थलदेखि चारसय मिटर तल नदीमा डुबेको अवस्थामा फेला पारेको हो । एपीएफ टोलीले उनको शव स्थानीय प्रहरीलाई बुझाएको छ ।
2077-11-03
APF News
एपीएफ टोलीद्वारा काठसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १३ स्थित मिलन चोकबाट फागुन २ गते एपीएफ टोलीले करीब ८९ हजार रुपैयाँ बराबरको २५.६ क्यूफिट सालको काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने ५० बर्षिय जितन महतो छन् । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेलुवाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । जंगलबाट अवैध रुपले काठ कटान गरी चार वटा साइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त काठसहित उनलाई पक्राउ गरेको हो भने अन्य व्यक्तिहरु एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै भागी फरार भएका थिए । एपीएफ टोलीले त्यसवेला उल्लेखित साइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेका निज महतोलाई बरामद काठ तथा साइकलसहित आवश्यक कारवाहीको लागि सव-डिभिजन वन कार्यालय सबैयामा बुझाएको छ ।
2077-11-02
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रौटहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टिस्थित सीमा ईलाकाबाट फागुन २ गते एपीएफ टोलीले करीब १ लाख ६१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले फागुन २ गते करीब १ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मुर्ती तथा गरगहना बरामद गरेको छ । अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त मुर्ती तथा गरगहना रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित बाईपास ईलाकाबाट बरामद गरिएको हो । बरामद सामाग्री स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी बारा जिल्लाको बिश्रामपुर गाँउपालिका वडा नम्बर ३ र ४ को सीमा ईलाकाबाट फागुन २ गते एपीएफ टोलीले करीब १ लाख ७७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स, मोबाईल फोनको कभर र कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2077-11-02
APF News
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा स्वास्थ्य शिविर संचालन
सुनसरी, केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघ र प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६ घुस्कीस्थित कस्मिया मदरसामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले उक्त स्वास्थ्य शिविरको माघ २९ गते एक कार्यक्रमका वीच उद्घाटन गर्नुभएको थियो । नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौं र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीको सहयोगमा माघ २९ र ३० गते सो शिविर संचालन भएको हो । नेपल एपीएफ अस्पतालबाट खटिएका सशस्त्र प्रहरी उपरीक्षक डा. मिना कुँवर जोशीको कमाण्डमा रहेका २२ जना स्वास्थ्यकर्मीबाट जेनेरल फिजिसियन, नाक, कान, घाँटी, आँखा र स्त्री तथा प्रशुती रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो । उक्त शिविरमा १ सय ८६ जना पुरुष र ३ सय २८ जना महिला गरी ५ सय १४ जनाको स्वास्थ्य जाँच गर्नुको साथै निःशुल्क रुपमा औषधी बितरण गरिएको थियो । सो कार्यक्रममा हरिनगर गाँउपालिका अध्यक्ष गफार अन्सारी, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति बंशीराज दाहाल, एपीएफ अधिकृत तथा जवान लगायत स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।
2077-10-30
APF News
सप्तकोशी नदीमा बगेका घिमिरेको सकुशल उद्धार
सुनसरी, सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ बराहक्षेत्र मन्दिर नजिक माघ २८ गते दिउँसो सप्तकोशी नदीमा बगेका सोही नगरपालिका ५ बस्ने ६० बर्षिय भुवन घिमिरेको सशस्त्र प्रहरी सहायक हवल्दार डम्बर श्रेष्ठले जिवितै उद्धार गरेका छन् । सुनसरी जिल्लाको हरिनगर गााउपालिका ६ मा यही माघ २९ र ३० गते सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट संचालन हुने स्वास्थ्य शिविरमा खटिई गएका श्रेष्ठले उनको उद्धार गरेका हुन । सो स्वास्थ्य शिविर संचालनको लागि नेपाल एपीएफ अस्पतालबाट खटिएका स्वास्थ्यकर्मी सवार बोटमा रहेका सहायक हवल्दार श्रेष्ठले निज घिमिरेलाई नदीमा पौडिन नसकी डुविरहेको देखेपछि उनले तत्कालै नदीमा हामफाली पौडिदै गएर घिमिरेलाई नदीबाट सकुशल बाहिर निकालेका थिए । उद्धार गरिएका घिमिरेलाई स्थानीय प्रहरीमा बुझाइएको छ ।
2077-10-29
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित पूर्व-पश्चिम लोकमार्गबाट माघ २६ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको सुखिपुर नगरपालिका ७ बलही बस्ने २२ बर्षिय जितेन्द्र यादवलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस गोलबजारबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । लागूऔषध खरिद विक्री गरिरहेको अवस्थामा उनलाई एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट ४५ वटा, कोरेक्स दुई बोतल र सय ग्राम गाँजासहित पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला निज यादवको साथबाट ३८ हजार पाँच सय रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका निज यादवलाई बरामद लागूऔषध तथा रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सर्लाही जिल्लाको लालबन्दी नगरपालिका २ मलंगवाबाट माघ २७ गते एपीएफ टोलीले ७५ बोतल वीनसिरेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका ४ बस्ने ४१ वर्षिय सुरेन्द्र यादव छन् । भारतीय मोटरसाईकलमा सवार निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार गेट ईलाकाबाट माघ २७ गते एपीएफ टोलीले तीन पत्ता नाइट्रोभेट र दुई बोतल वीनसिरेक्ससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको ठोरी गाउँपालिका ३ बस्ने २६ वर्षिय अमृतबहादुर बस्नेत छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज बस्नेतलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।
2077-10-27
APF News
माननीय गृहमन्त्री थापा ‘बादल’बाट दुई दिने सेमीनार समापन
काठमाडौं, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, काठमाडौंको आयोजनामा यही माघ २५ र २६ गते संचालित ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु’ विषयक दुई दिने सेमीनार सम्पन्न भएको छ । यसअघि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २५ गते नेपाली सेनाको मुख्यालय भद्रकाली काठमाडौंमा उद्घाटन गर्नुभएको सो सेमिनार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा सोमबार आयोजित एक समारोहवीच माननीय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समापन गर्नुभएको हो । सो अवसरमा माननीय गृहमन्त्री थापाले सीमा सुरक्षा तथा व्यवस्थापन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुहुँदै सशस्त्र प्रहरी बल, नेपाललाई नेपाल सरकारले सीमा सुरक्षार्थ डेडिकेटेड फोर्सको रुपमा परिचालन गर्दै सीमा सुरक्षा बलियो बनाइने उल्लेख गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टको संख्या २०५ बाट बढाउँदै पाँच सय वटा पु¥याउने सरकारको कार्यनीति रहेको उल्लेख गर्नुहुँदै सीमा सुरक्षा सरकार र गृहमन्त्रालयको मात्र नभई सबैको साझा दायित्व भएकोले आपसी समन्वय तथा सहकार्यमा समान दृष्टिकोण र औपचारिक संयन्त्रबाट प्रभावकारी रुपमा सीमा सुरक्षा र व्यवस्थापन गर्न सकिने यसका लागि सशस्त्र प्रहरी बल, नेपाललाई सम्बद्ध सबै निकायले आवश्यक समन्वय र सहयोग गर्न मार्गनिर्देश गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै गृहसचिव महेश्वर न्यौपानेले यस खालका सेमिनारले सशस्त्र प्रहरी बल, नेपाललाई डेडिकेटेड फोर्सको रुपमा सीमामा खटिईदा आवश्यक पर्ने थप सैद्धान्तिक तथा प्रभावकारी उपायहरुको खोजी तथा अवलम्बनमा सहयोग पुग्ने उल्लेख गर्नुहुँदै सीमा सुरक्षा तथा व्यवस्थापन नेपाल सरकारको विशेष प्राथमिकतामा रहेको र त्यसका लागि आवश्यक सम्पूर्ण भौतिक श्रोतसाधन तथा अन्य पूर्वाधार निर्माणमा प्राथमिकताका साथ अगाडी बढ्ने बताउनुभयो । उहाँले सीमामा सशस्त्र प्रहरीको तैनाथीपछि सीमा अपराध नियन्त्रण एवं राजश्व संकलनमा उल्लेखनीय बृद्धि भएको उल्लेख गर्नुहुँदै कुनैपनि देशको सीमा सुरक्षामा देश गरीब र धनि भन्ने नहुने बताउनुहुँदै सशस्त्र प्रहरी बल, नेपालको परिचालनमा आवश्यक बजेट तर्जुमा गरी श्रोतसाधन सम्पन्न बनाईने र सूचना प्रवाहको लागि अन्तरनिकाय समन्वय गर्नको लागि विशेष संयन्त्रको विकास गरिने बताउनुभयो । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपालले शान्ति सुरक्षा तथा सीमा सुरक्षाको उत्तरदायित्व वहन गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपाललाई प्राप्त सहयोग र समन्वयका लागि नेपाल सरकार, गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग लगायत अन्य सम्बद्ध निकायहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालबाट भएगरेका उपलब्धीहरुको चर्चा गर्नुका साथै कोभिड-१९ महामारीमा १२१३ स्थानमा बिओपी तथा एफओबीको माध्यमबाट अहोरात्र सीमा क्षेत्रमा खटिई आवत जावत नियन्त्रण गर्ने कार्य उत्कृष्ट रुपमा सम्पादन गरेको उल्लेख गर्नुहुँदै चुस्त सीमा सुरक्षा तथा व्यवस्थापनका लागि सीमा स्तम्भ सुरक्षा, खोजी, पहिचान र डिजिटल अभिलेखीकरण तथा संरक्षण कार्यबारेको प्रतिवेदनहरु सम्बन्धित निकायमा समयमै प्रेषित भईरहेको र विगत तीन वर्षदेखि सीमा अतिक्रमण र सीमा मिचिने कार्य नभएको जानकारी गराउनुभयो । कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनको लक्ष्य अनुसार हालसम्म २०५ वटा बोर्डर आउट पोष्टहरु स्थापना भईसकेको र नेपाल सरकारले सशस्त्र प्रहरी ऐन २०५८ को दफा ६ मा व्यवस्था गरेअनुसार नेपालको सीमा सुरक्षा गर्ने जिम्मेवारीलाई पूरा गर्न ओलाङचुङ्गोलादेखि छाङरुसम्म र नवलपरासी सुस्तादेखि कञ्चनपुर ब्रम्हदेवसम्म अहोरात्र खटिई देशको सुरक्षा र राष्ट्रियताको जगेर्नामा उल्लेखनीय योगदान पु¥याईरहेको बताउनुभयो । उहाँले सीमा सुरक्षालाई थप मजबुद बनाउन र स्थानीय जनतालाई सहभागी गराउँदै ‘सीमा क्षेत्र विकास योजना’ लागू गर्न सकेमा थप प्रभावकारी हुने समेत बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषदका सहसंयोजक उपरथी सहदेव खड्काले सीमा सुरक्षा तथा व्यवस्थापनमा प्रभावकारी समन्वयको खाँचो औल्याउनु हुँदै प्रभावकारी परिचालनको लागि सीमांकन, नक्सांकन लगायत विविध विषयमा स्पष्ट निर्देशनको व्यवस्था हुनुपर्ने बताउनुभयो । उक्त सेमिनारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागबाट कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग लगायत सम्बद्ध विभिन्न मन्त्रालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
2077-10-27
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ स्थित डण्डाकोटहीमाई ईलाकाबाट माघ २० गते एपीएफ टोलीले करीव एक लाख ३४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बेलहियामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको एपीएफ टोलीले माघ १९ गते करीव एक लाख २७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना तथा कस्मेटिक सामान एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।
2077-10-20
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीबाट माघ १८ गते एपीएफ टोलीले करीब दुई लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान मोबाइल सेट बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल सेट सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मोबाइल सेट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको एपएिफ टोलीले माघ १९ गते करीब एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ । भन्सार छली ल्याउँदै गरेको उक्त सामान सिरहा जिल्लाको भगवानपुर गाँउपालिका ३ अभयनगरस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । एपीएफ टोलीले बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2077-10-19
APF News
नेपाल एपीएफ अस्पताल र मानव सेवा आश्रमका बीच स्वास्थ्य उपचार सम्बन्धी सहमति
काठमाडौं, नेपाल एपीएफ अस्पताल र मानव सेवा आश्रमका वीच स्वास्थ्य उपचार सम्बन्धी सहमति भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा माघ १८ गते आयोजित एक समारोहका वीच सो सम्झौता भएको हो । नेपाल एपीएफ अस्पतालका संरक्षक सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र मानव सेवा आश्रमका संरक्षक एवं समाजसेवी डा. गोविन्द टण्डनको उपस्थितिमा नेपाल एपीएफ अस्पतालको तर्फबाट प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जन र सो आश्रमको तर्फबाट आश्रमका अध्यक्ष रामजी अधिकारीले स्वास्थ्य उपचार सम्बन्धी पत्रमा हस्ताक्षर गर्नुभएको हो । यही माघ ९ गते २० औं सशस्त्र प्रहरी दिवस २०७७ को अवसरमा आयोजित एक समारोहका वीच सशस्त्र प्रहरी महानिरीक्षक खनालले कल्याणकारी योजना मार्फत आश्रममा रहेका बेसहारा, अशक्त, असहाय एवं अभिभावक विहिनहरुलाई नेपाल एपीएफ अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गर्नुभएको थियो । सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘मानव सेवा नै सवैभन्दा ठूलो धर्म हो’ भन्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालले सुरक्षा र सेवाका कार्यहरु सँगसँगै गर्दै जाने र यस किसिमको कार्यले ती असहाय मानिसहरुको आर्शिबाद संगठनलाई प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस प्रकारको पवित्र कार्यले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई सेवामा लाग्नका लागि उर्जा प्राप्त हुने र सो आश्रममा आश्रितहरुलाई दिईने स्वास्थ्य सेवाले अस्पतालको सेवा विस्तार हुँदै जाने बताउनुभयो । कार्यक्रममा मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डनले सो आश्रममा आश्रितहरुको उपचारका लागि विगतमा धैरै अस्पताल भौतारिनु पर्ने बाध्यता रहेको र सोचे जस्तो उपचार समेत पाउन नसकेको अप्ठ्यारा दिनहरुको स्मरण गर्नुहुँदै यस पवित्र कार्यका लागि सशस्त्र प्रहरी बल, नेपालप्रति खुशी र कृतज्ञता व्यक्त गर्नुभयो । यस सम्झौतासँगै सो आश्रमका आश्रितहरुले नेपाल एपीएफ अस्पतालमा उपलब्ध ईमरजेन्सी, बहिरङ्ग, जनरल, तथा विशेषज्ञ ओपीडी, अन्तरङ्ग सेवा अन्तर्गतका वार्ड सवै, आईसीयु, एचसियु एचडियु, माईनर तथा मेजर अप्रेशन सेवा, प्याथोलोजी सेवा निःशुल्क उपलब्ध हुनेछ । यसैगरी रेडियोलोजी अन्तर्गत एक्सरे, सीटी स्क्यान, अल्ट्रासाउण्ड, इकोकार्डियोग्राफी तथा फिजियोथेरापी सेवाका साथै आईसीयु र डाईलासिसको लागि प्रयोग हुने अस्पतालमा उपलब्ध औषधीहरु, मुटुरोग, मृगौला रोग मधुमेह आदि भई आजिवन औषधी सेवन गर्नुपर्ने बिरामीहरुको लागि आस्पतालमा उपलब्ध औषधीहरु समेत निःशुल्क उपलब्ध गराइने छ । यसैगरी अस्पतालमा अक्सिजन प्लान्ट रिफिल सिस्टम जडान भई चालू हालतमा रहेको अवस्थामा आश्रमका बिरामीहरुलाई प्रयोग हुन सक्ने अक्सिजन सिलिण्डर उपलब्ध भएमा निःशुल्क रिफिलिङ्ग र आश्रमको सिफारिसमा काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा तथा शब वाहन सेवा, अस्पतालबाट खरिद गरिएका औषधीहरु आश्रमका बिरामीहरुलाई निःशुल्क प्रदान गरिने समेत सम्झौतामा उल्लेख छ । सो सम्झौतामा नेपाल एपीएफ अस्पतालमा हाल कायम भएको ११० शैय्याको बेड मध्ये मानवसेवा आश्रमका बेसहारा, असक्त, असहाय एवं अभिभावक विहिनहरुलाई तीन शैय्याको बेड उपलब्ध गराइने उल्लेख गरिएको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगाएत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु तथा सो आश्रमका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
2077-10-18