सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको
‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७९’ अन्तर्गत फुटबल खेलको उपाधी
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले
जित्न सफल भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार प्रतियोगिता समापन
गर्नुको साथै उत्कृष्ट खेलाडी तथा बिजयी टिमलाई ट्रफी, मेडल र पुरस्कार
समेत प्रदान गर्नुभयो ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक काम,
कर्तव्यको साथसाथै नेपाली खेलकुदको विकास, विस्तार र प्रवद्र्धनको
क्षेत्रमा आफुलाई क्रियाशिल गराउँदै आएको बताउनुहुँदै खेलकुदमा हुने
स्वच्छ प्रतिस्पर्धाबाट खेलाडीहरुमा अनुशासन, कर्तव्य परायणता एवं
सामुहिक भावनाको समेत बिकास हुने उल्लेख गर्नुभयो ।
उहाँले यस्ता प्रतियोगिताले संगठनमा आपसी सहयोग, भाईचारा र बन्धुत्वको
भावना बिकास हुनुको साथै खेलकुद र फौजी जीवनको अन्योन्याश्रीत सम्बन्धले
सशस्त्र प्रहरी बलको कार्यक्षेत्रमा क्षमता र शारिरीक स्फुर्ती कायम राखी
प्रभावकारी कार्यसम्पादन गर्न सहयोगी भूमिका खेल्ने बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपालले खेलकुदलाई आफ्नो स्थापना कालदेखि नै महत्वका
साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा उत्साहजनक
सहभागिता जनाउँदै आएको उल्लेख गर्नुहुँदै महानिरीक्षक अर्यालले संगठनमा
लुकेर रहेका प्रतिभावान खेलाडीहरुको उत्पादन र बृत्तिबिकासमा निरन्तर
लागि रहने बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्र प्रकाश गौतम र बंशीराज दाहालले खेलका उप-बिजेता टिम तथा खेलाडी र
अफिसियलहरुलाई सम्मानपत्र, पदक तथा पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगिताको फाईनल खेलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता
बाहिनी मुख्यालय महोत्तरीले नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीलाई
१-० गोलको अन्तरले पराजित गरी उपाधी जितेको हो ।
नेपाल ए.पी.एफ. क्लावको आयोजनामा संचालित
उक्त प्रतियोगिता यही फागुन २८ गतेदेखि प्रधान कार्यालयको रंगशालामा
संचालन भएको थियो ।
