नेपाल-चीन अन्तर्राष्ट्रिय सीमानाका रसुवागढीमा बाढी प्रभावितहरूको खोज तथा उद्धारका लागि खटिएको सशस्त्र प्रहरी बल, नेपालको विशेष टोलीले राष्ट्रिय झण्डा पुनः राखेको छ । भाद्र २० गते रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-२ स्थित सीमानाकामा उक्त झण्डा राखिएको हो । गत भाद्र १० गते ल्हेन्दे खोलामा आएको भीषण बाढीका कारण उक्त क्षेत्रको बाटो पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । बाटो भत्किएपछि सीमा इलाकाको नियमित अनुगमनसमेत गर्न नसकिने जटिल अवस्था सिर्जना भएको थियो । बाढी प्रभावितहरूको खोज तथा उद्धारका साथै राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षाको जिम्मेवारीलाई उच्च प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीको टोली त्यसतर्फ परिचालन भएको थियो ।  नं. २० गुल्म रसुवाका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप राईको कमाण्डमा बोर्डर आउट पोस्ट टिमुरेबाट खटिएको टोली पर्वतीय उद्धार सामग्रीहरूको प्रयोग गर्दै करीव ३ किलोमिटर दुरीको अत्यन्तै जोखिमयुक्त भिरको बाटो छिचोलेर सीमानाकासम्म पुगेको हो । सो अन्तर्राष्ट्रिय सीमानाका रसुवागढीमा नेपाली सेनाको टोलीसमेत हेलिकप्टरमार्फत पुगेको थियो । त्यसपछि सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रूपमा सो स्थानमा सफलतापूर्वक राष्ट्रिय झण्डा फहराएका हुन् ।

APF