सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार
अफ्रिकी मुलुक साउथ सुडानतर्फ प्रस्थान गर्नुभएको छ । जहाँ सशस्त्र
प्रहरी बल नेपालको फम्र्ड पुलिस युनिट (एफपीयु) तैनाथ छ ।
मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा
अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत महानिरीक्षक अर्यालले
संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता र छलफल गर्नुहुने छ ।
सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलो पटक
लाईवेरियामा खटिएको थियो । साउथ सुडानको जुवामा सन् २०१४ मा सशस्त्र
प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । सो मिसनको पहिलो
कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक
दर्जामा रहँदा कमाण्ड सम्हाल्नु भएको थियो । सो मिसनमा हाल १ सय ८० जना
सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् ।
पछिल्लो पटक सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली
मिसनको लागि १ सय ४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट
भविष्यमा त्यसतर्फ प्रस्थान गर्ने छ ।
सोमबार साउथ सुडानतर्फ प्रस्थान गर्नुभएका महानिरीक्षक अर्याललाई
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत बलका बरिष्ठ
अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक विदाई
गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितीमा संगठनको नेतृत्व
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्हाल्नु हुनेछ ।
