सिरहाको विभिन्न स्थानबाट पौष १३ गते सशस्त्र प्रहरीले करीव २९ लाख २२
हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्ताकपडा तथा अगरबत्तीको धुलो
बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई
छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा अगरबत्तीको
धुलो बरामद गरेको हो ।
सिरहाको नवराजपुर गाउँपालिका ५ मेनहा बस्ने संजय महतोको जस्तापाताले
छाएको टहरामा लुकाई राखेको अवस्थामा १६ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको
लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा
बुझाईएको छ ।
सोही गाउँपालिका ५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाई छिपाई
राखेको ५ लाख रुपैयाँ बराबरको १ सय २० बोरा अगरबत्तीको धुलो समेत बरामद
भएको छ ।
सशस्त्र प्रहरीले सोही ठाउँकै मेनहा बस्ने ब्रहमदेव महतोको जस्ताले
बनाएको टहरोमा ५ लाख ५० हजार रुपैयाँ बराबरको १ सय ६० बोरा अगरबत्तीको
धुलो र सोही गाउँपालिका ३ जगतपुर बस्ने शिवनारायण यादवको आगनमा लुकाई
राखेको अवस्थामा २ लाख ५० हजार रुपैयाँ बराबरको ७२ बोरा अगरबत्तीको धुलो
समेत बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयले ढुङ्गा हान्दा
सशस्त्र प्रहरीको बा १ ग २०५५ नम्बरको ट्रकमा समेत क्षती पुगेको छ ।
