काठमाडौं,
पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका २ मुडेरास्थित सीमा
ईलाकाबाट असार १२ गते सशस्त्र प्रहरीले करीब २ लाख ४ हजार रुपैयाँ
बराबरको चोरीपैठारीको मोवाईलको टेम्पर ग्लास बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य
बराबरको २ हजार ४ सय वटा टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल बिओपी
हरपुरबाट सशस्त्र प्रहरी निरीक्षक हरेराम शर्मा दाहालको कमाण्डमा खटिएको
टोलीले बरामद गरेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्कीबाट सशस्त्र प्रहरी नायव
निरीक्षक राजेन्द्र कुमार रावलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले असार
१२ गते करीब १ लाख ६५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न औषधी
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त औषधी सुनसरी जिल्लाको
हरिनगर गाँउपालिका ६ घुस्कीबाट बरामद गरिएको हो ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट सशस्त्र प्रहरी
निरीक्षक भिमबहादुर रानाको कमाण्डमा खटिएको टोलीले असार १२ गते महोत्तरी
जिल्लाको सम्सी गाँउपालिका २ स्थित पर्सा बजारबाट करीब १ लाख ८ हजार
रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा बरामद गरेको छ ।
यसैगरी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ९ पकौलीबाट असार १२ गते
सशस्त्र प्रहरीले करीब १ लाख ७४ हजार रुपैयाँ बराबरको विभिन्न किसिमको
औषधी र मोटर पार्ट्स बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामान सशस्त्र
प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार
घनश्याम यादवको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट सशस्त्र प्रहरी
सहायक निरीक्षक सोमराज शर्माको कमाण्डमा खटिएको टोलीले असार १२ गते करीब
१ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त लत्ताकपडा बाँके
जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट बरामद गरिएको
हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
