काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङबाट खटिएको टोलीले जेठ १० गते करीव १ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले मोरङ जिल्लाको बुढिगंगा गाउँपालिका १ स्थित पुष्पलाल चोकबाट बरामद गरेको हो । यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ७ सतिघट्टा सीमा ईलाकाबाट जेठ ९ गते सशस्त्र प्रहरीले करीव १ लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसैगरी ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित माईल ईलाकाबाट जेठ ९ गते सशस्त्र प्रहरीले करीव २ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको फुलको विरुवा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त विरुवा सशस्त्र प्रहरी बल नेपाल बिओपी पशुपतिनगरबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
APF