काठमाडौँ,
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन
हुने सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको प्रथम प्रवचन
भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सोही प्रतिष्ठानमा बैशाख
९ गते आयोजित एक समारोहका वीच पानसमा द्विप प्रज्वलन गरीे उक्त तालिमको
उद्घाटन गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले त्यसअवसरमा फौजी संगठनमा तालिमको
महत्वमाथि प्रकाश पार्नुहुँदै संगठनलाई राज्यबाट प्राप्त जिम्मेवारीका
क्षेत्रहरुमा पूर्ण व्यवसायिक भई चुस्त र दुरुस्त कार्यसम्पादन गर्नको
लागि तालिम अपरिहार्य रहेको चर्चा गर्नुहुदै तालिमले शारिरीक र मानसिक
विकास गर्नुका साथै अधिकृत तथा जवानहरुको वृत्तिविकासमा समेत महत्वपूर्ण
भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
उहाँले तालिमलाई प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले सिकाउने र सिक्ने
मौकाको रुपमा लिनुपर्ने बताउनुहुँदै प्रशिक्षार्थी अधिकृतहरुलाई अनुशासित
र लगनशिल भई तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्नेतर्फ अग्रसर रहन
निर्देशन दिनुभयो ।
महानिरीक्षक के.सी.ले चेन अफ कमाण्ड फौजी संगठनको मेरुदण्ड भएको उल्लेख
गर्नुहुँदै राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि संगठनमा
आवद्ध राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले निःस्वार्थ भावनकासाथ
ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित भई राष्ट्रको सुरक्षा, आम
नागरिकको सेवा, सीमा सुरक्षा, लगायतका विविध जिम्मेवारीका क्षेत्रहरुमा
आ-आफ्नो तहबाट योगदान पुर्याउनुपर्ने बताउनुभयो ।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.र सशस्त्र
प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललाई सो प्रतिष्ठानका कार्यकारी
निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले प्रतिष्ठानको
तर्फबाट मायाको चिनो समेत प्रदान गर्नुभयो ।
५६ हप्ता अवधिको उक्त आधारभूत तालिममा ५ जना महिला तथा ४३ जना पुरुष गरी
कुल ४८ जना नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ ।
सो समारोहमा सशस्त्र प्रहरी निरिक्षक बिकास अधिकारीले उक्त तालिम
सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु लगायत बिल्लादार
तथा जवानहरुको उपस्थिती रहेको थियो ।
