काठमाडौं,
सुनसरी जिल्लाको कोशी गाँउपालिका ३ पश्चिम कुशाहास्थित सीमा ईलाकाबाट फागुन ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको धरान उपमहानगरपालिका १५ बस्ने २२ बर्षिय अनिल गुरुङलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट श्रीपुरबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।
को २७ प ८५९१ नम्बरको स्कुटरमा आउँदै गरेका निज गुरुङलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा स्पास्मो ट्याब्लेट १ सय ५० वटा र
ट्रमाडोल ट्याब्लेट २ हजार ९ सय ७० वटा फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका निज गुरुङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट आपतालबाट खटिएको एपीएफ टोलीले कञ्चपुर जिल्लाको पुनर्वास नगरपालिका ४ कार्गिलडाँडा स्थित सीमा ईलाकाबाट फागुन ५ गते विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १ बस्ने ३० बर्षिय सद्दाम मिया छन् ।
से ४ प ७७६७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा पिभोन स्पास प्लस ट्याब्लेट १० वटा, नाईट्राभेट ट्याब्लेट दुई वटा र एक ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका निज मियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
