काठमाण्डौ,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘नवौं राष्ट्रिय खेलकुद
प्रतियोगिता २०७९’मा सहभागी भई विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्न
सफल नेपाल एपीएफ क्लवका खेलाडीहरुलाई कार्तिक १५ गते सशस्त्र प्रहरी बल
नेपाल प्रधान कार्यालय स्वयम्भू हल्चोकमा आयोजित एक कार्यक्रमका बीच
हार्दिक बधाई तथा सम्मान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले त्यसअवसरमा नेपाल एपीएफ क्लवका
खेलाडीहरुले विभिन्न विधामा सहभागी भई हासिल गरेको पदकले खेलाडीहरुको
मात्र नभई संगठनको नाम समेत उच्च रहेको बताउनुहुँदै आगामी दिनहरुमा
खेलाडीहरुले अनुशासन, मेहनत र लगनशिल भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
स्तरका प्रतियोगिताहरुमा समेत उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त
गर्नुभयो ।
उहाँले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवका
खेलाडीहरुले बिभिन्न बिधामा हासिल गरेकोे राष्ट्रिय कीर्तिमानको प्रशंसा
गर्नुहुँदै उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुलाई संगठनको तर्फबाट आगामी
दिनमा थप सेवा र सुविधा प्रदान गरिने बताउनुभयो ।
आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन
शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल एपीएफ क्लवका खेलाडी
लगायत सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्वाचन
सुरक्षार्थ परिचालन हुन समेत निर्देशन दिनुभएको छ ।
गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न
स्थानहरुमा संचालन भएको उक्त राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ
क्लवले ६५ स्वर्ण, ७२ रजत र ८२ काँस्य गरी कुल २ सय १९ पदक सहित दोश्रो
स्थान हासिल गरेको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ
अधिकृत, सिनियर अधिकृत, जुनियर अधिकृत लगायत बिल्लादार तथा जवानहरुको
समेत उपस्थिती रहेको थियो ।
