Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा ‘कर्मचारी संचय कोषको सेवा तथा सुविधा’ विषयमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं, सशस्त्र प्रहरी कर्मचारीहरुलाई कर्मचारी संचय कोषले प्रदान गरिरहेको विविध सेवा तथा सुविधा बारेमा जानकारी गराउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले कर्मचारी संचय कोष सँगको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजना गरेको ‘कर्मचारी संचय कोषको सेवा तथा सुविधा’ विषयक अन्तरक्रिया कार्यक्रम मंसीर १५ गते सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी अधिकृतहरु तथा लेखा अधिकृतहरु सहभागी भएको सो अन्तरक्रिया कार्यक्रममा कर्मचारी संचय कोषका बरिष्ठ प्रवन्धक दिलीपराज पौडेलले प्रस्तुतीकरण मार्फत कोषले आफ्ना संचय कर्ताहरुलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रम, संचयकर्ता सापटी कार्यक्रम, संचय कोषको व्यवस्थापन र निवृत्तीभरण कोष व्यवस्थापन लगायतका विविध विषयमा जानकारी गराउनुभयो । त्यसअवसरमा कर्मचारी संचय कोषका प्रवन्धक कृष्णप्रसाद शर्माले सो कोषले संचय कर्ताहरुलाई प्रदान गर्ने विमा सुविधा, स्वास्थ्य उपचार खर्चको सोधभर्ना, विशेष सापटी, घर निर्माण तथा खरिद र जग्गा खरिदका लागि प्रदान गर्ने लोन सुविधा, शैक्षिक लोन, प्रसुती स्याहार रकम तथा काजक्रिया अनुदान खर्च लगायतका विविध सुविधा लिन अपनाउनु पर्ने प्रक्रियाबारे जानकारी दिनुकासाथै सो अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकृतहरुबाट आएको विविध जिज्ञासाबारेमा प्रकाश पार्नुकासाथै कोषको वेभसाईट, मोवाईल एप्स, कनेक्ट आईपीएस तथा नागरिक एप्स मार्फत अनलाईन रुपमा प्रदान गरिरहेको सुविधाहरुको बारेमा समेत जानकारी गराउनुभयो ।
2078-08-15
APF News
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालीमको दीक्षान्त समारोहमा सरिक
काठमाडौँ, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १४ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा मंसीर ९ गते सम्पन्न भएको छ । त्यसअवसरमा सो समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री देउवाको सम्मानमा दीक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा सलामी अर्पण गर्नुकासाथै उहाँ समक्ष ईज्जत अर्पण कवाज प्रदर्शन गरिएको थियो । सो अवसरमा सम्माननीय प्रधानमन्त्री देउवाले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टलाई खुँडा प्रदान गर्नुकासाथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गर्नुभयो । दीक्षान्त समारोहलाई सम्बोधनका क्रममा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले स्थापनाको छोटो अवधिमा नै सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको बीरता तथा राष्ट्र एवं नागरिकको सेवा र सुरक्षामा पु्र्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै कर्तव्यपालनाको सिलसिलामा आफ्नो प्राणको आहुति दिएका सहिद सशस्त्र प्रहरीको योगदानको स्मरण गर्नुकासाथै घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले सशस्त्र प्रहरी बल, नेपालले गौरवशाली ईतिहासकासाथ राष्ट्र र नागरिकको सुरक्षा, सीमा सुरक्षा, भुकम्प, विभिन्न समयमा भएका विपद व्यवस्थापनकासाथै उद्वार तथा राहत वितरण, कोभिड-१९ महामारी नियन्त्रण तथा उपचार, दंगा व्यवस्थापन लगायतका जिम्मेवारीमा व्यवसायिक भई सम्पादन गरेका कार्यहरु प्रशंसनीय रहेको उल्लेख गर्नुहुँदै नेपाल सरकारको भरपर्दो र विश्वसनीय सुरक्षा निकायको रुपमा आफ्नो पहिचान बनाउन सशस्त्र प्रहरी बल, नेपाल सफल रहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी सीमा नाकामा फ्रन्टलाईनमा खटिदै राष्ट्रको सुरक्षा, सीमा अपराध नियन्त्रणमा क्रियाशील रहेको उल्लेख गर्नुहुँदै राज्यका सबै निकायहरुले जातजाति, भाषा, धर्म र लिङ्ग नभनी सामुहिक प्रयासकासाथ सुशासन कायम राख्दै राष्ट्रको विकास निर्माणमा आ-आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुपर्ने बताउनुभयो । सम्माननीय प्रधानमन्त्री देउवाले सुरक्षा निकायको व्यवसायिक दक्षता र क्षमता अभिबृद्धि सरकारको विशेष प्राथमिकतामा रहेको उल्लेख गर्नुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई अनुशासित, ईमानदार र लगनशील भई कार्यक्षेत्रमा क्रियाशील रहन निर्देशन दिनुकासाथै दीक्षित अधिकृतहरुलाई कार्यक्षेत्रमा पूर्ण सफलताको कामना समेत गर्नुभयो । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्राप्त भएको निर्देशन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु मार्फत कर्तव्यनिष्ठ भई अक्षरश पालना गरिने बताउनुहुँदै प्रधानमन्त्रीज्यूको गरिमामय समुपस्थिति तथा निर्देशनले सम्पूर्ण सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको हौसला तथा मनोवल उच्च भएको बताउनुभयो । उहाँले राष्ट्र, राष्ट्रियता र जनताका खातिर सेवा भावकासाथ समर्पित रहँदै सशस्त्र प्रहरी बल, नेपाल उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गर्दै राज्यप्रदत्त विविध जिम्मेवारीहरुका क्षेत्रहरु सीमा सुरक्षा तथा व्यवस्थापन, भुकम्प तथा महामारीमा उद्वार तथा राहत वितरण, कोभिड-१९ महामारीमा डेडिकेटेड अस्पताल मार्फत विशिष्ट स्तरको उपचार तथा सोको नियन्त्रण, विपद व्यवस्थापन, सशस्त्र विद्रोह तथा पृथकतावादी गतिविधि नियन्त्रण, आतंकवादी गतिविधि नियन्त्रण, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा लगायतका जिम्मेवारी निर्वाहमा कटिबद्ध रहँदै उत्कृष्ट ढंगले कार्यसम्पादन गर्दै आईरहेको उल्लेख गर्नुहुँदै सोको आम जनसमुदाय, नेपाल सरकार लगायत विभिन्न नियकाहरुबाट समेत प्रशंसा भएको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सीमा सुरक्षालाई थप व्यवस्थित र मजबुत बनाउनका लागि आवश्यक थप जनशक्ति तथा कार्यसम्पादनमा चुुस्त, दुरुस्त तथा थप प्रभावकारी ढंगले परिचालित हुन समयानुकल आवश्यक ऐन तथा नियम तर्जुमाकासाथै आवश्यक साधानश्रोतहरुको व्यवस्थापनमा सम्माननीय प्रधानमन्त्रीज्यूको अभिभावकत्व तथा पहलकदमी प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवक कर्मचारीहरु डेडिकेटेड फोर्सको रुपमा उत्तरी हिमालको कठ्याङ्ग्रिने जाडोदेखि दक्षिणी सीमाको गर्मी तथा हावाहुरीमा देश र जनताको सेवा र सुरक्षार्थ अहोरात्र खटिएर हिमपातदेखि बाढिपहिरोजन्य विपदमा समेत आफ्नो ज्यानको पर्वाह नगरी जोखिम मोलेर जिम्मेवारी निर्वाहमा कटिबद्ध रहँदै आएको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनमा नवप्रवेशी अधिकृतहरुका अभिभावकहरुप्रति समेत हार्दिक आभार प्रकट गर्नुहुँदै अधिकृतहरुकासाथै सकल दर्जाका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा ईमान्दार, कर्तव्यनिष्ठ भई जिम्मेवारी निर्वाहमा जुट्न त्यसै अवसरमा निर्देशन दिनुभयो । सो समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राईले तालिम समापन पश्चात कार्यक्षेत्र प्रवेश गर्न लागेका दीक्षित अधिकृतहरुलाई शब्दोच्चारण मार्फत सपथ ग्रहण गराउनु भएको थियो । करीव १५ महिना अवधिको उक्त आधारभूत तालिम ४ जना महिलासहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । उक्त तालिममा कवाजतर्फ सशस्त्र प्रहरी निरीक्षक चन्द्रबहादुर लामा, सहिष्णुतातर्फ सशस्त्र प्रहरी निरीक्षक प्रकाश कुमार शाही र चाँदमारीतर्फ सशस्त्र प्रहरी निरीक्षक सन्दिप भट्ट उत्कृष्ट भएका छन् । दीक्षान्त समारोहमा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, प्रधान सेनापति महारथी प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे लगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुकासाथै सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु एवं दीक्षित अधिकृतहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।
2078-08-09
APF News
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, बाँके जिल्लाको खजुरा गाउँपालिका ७ सिमलघारी ईलाकाबाट मंसीर ६ गते सशस्त्र प्रहरीले करीव ५ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको सशस्त्र प्रहरीले मंसीर ६ गते करीव १ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित चारमाईल ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-08-06
APF News
आगलागी नियन्त्रण
झापा, झापा जिल्लाको बिर्तामोड नगरपालिका २ चैतुवारी स्थित एक प्लाई फ्याक्ट्रीमा मंसीर ६ गते भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले ६ वटा दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँ बस्ने विकास गोयलले संचालन गरेको कन्काई प्लाई फ्याक्ट्रीको गोदाममा विधुतीय तार सर्टभई आगलागी भएर करीव ४ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश शनिश्चरेबाट सशस्त्र प्रहरी नायव निरीक्षक श्याम बहादुर लिम्बुको कमाण्डमा खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।
2078-08-06
APF News
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका २ स्थित पूर्व पश्चिम लोकमार्गबाट मंसीर ५ गते सशस्त्र प्रहरीले करीव ४ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको फोटो ल्यावमा प्रयोग हुने विभिन्न सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले पूर्व-पश्चिम लोकमार्गमा एक यात्रुवाहक बसमा जाँच गर्दा उक्त सामानको बिलविजक नभेटिएपछि बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले करीव ३ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित ईनरुवाबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-08-06
APF News
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
काठमाडौं, बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ९ छाता पिपराचोकस्थित बीरगंज–पथलैया सडक खण्डबाट मंसीर ३ गते सशस्त्र प्रहरीले करीव २ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको यात्रुवाहक बसमा भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जितपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले मंसीर ३ गते करीव २ लाख ५९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ठेला गाडामा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १० आदर्शनगरबाट बरामद गरेको हो । बरामद लत्ताकपडा तथा गाडा भन्सार कार्यालय बीरगंजमा बुझाईएको । उक्त गाडाको भन्सार मुल्य १० हजार रुपैयाँ रहेको छ ।
2078-08-03
APF News
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा तीन जना पक्राउ
काठमाडौं, सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ ठाटीस्थित सीमा ईलाकाबाट मंसीर २ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको लाहान नगरपालिका २० हरिनगर बस्ने राम नारायण साहलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश अभयनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजेपाम इन्जेक्सन ७८ वटा, हाईड्रोक्लोराईड ७८ वटा र बुप्रेनोर्फिन ७७ वटा फेला पारेको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट खटिएको सशस्त्र प्रहरीले झापा जिल्लाको भद्रपुर नगरपालिका ५ मेचीपुलबाट मंसीर २ गते ४० वटा निट्रोजेन ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको विर्तामोड नगरपालिका २ बस्ने १८ वर्षिया गंगा राजवंशी र १८ वर्षिय धिरज राजवंशी छन् । उनीहरुलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-08-03
APF News
सुन कछुवासहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
काठमाडौं, काठमाडांै जिल्लाको टोखा नगरपालिका ७ ग्राण्डी अस्पताल नजिकैबाट मंसीर ३ गते सशस्त्र प्रहरीले सुन कछुवासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर भई सोही नगरपालिका ३ टोखा बस्ने ५० बर्षिया सञ्जु तामाङ्ग र सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिका १ बस्ने २४ बर्षिय अम्बिर राई छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौबाट खटिएको सशस्त्र प्रहरीले उक्त कछुवासहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद कछुवासहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी टोखामा बुझाईएको छ ।
2078-08-03
APF News
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट मंसीर २ गते सशस्त्र प्रहरीले करीव ४ लाख १४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान तथा औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट सशस्त्र प्रहरी निरीक्षक भिमबहादुर रानाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय लजेश्वरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराबाट सशस्त्र प्रहरी निरीक्षक गणेश बहादुर थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले मंसीर २ गते करीव १ लाख २६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताककपडा बरामद गरेको छ । बीआर ०५ एफ ८१८९ नम्बरको भारतीय मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले बारा जिल्लाको महागढीमाई नगरपालिका २ स्थित भुतही चोकबाट बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको हो । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय बीरजंजमा बुझाएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख रुपैयाँ रहेको छ ।
2078-08-02
APF News
सशस्त्र प्रहरीद्धारा सालको काठ बरामद
रौतहट, रौतहट जिल्लाको वृन्दावन नगरपालिका ६ हरसाह स्थित एक मिलबाट कार्तिक ३० गते सशस्त्र प्रहरीले करीव १ लाख ३८ हजार रुपैयाँ बराबरकोसालको काठ बरामद गरेको छ । अबैध रुपले ल्याई लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको करीव ७० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी सोही जिल्लाको वृन्दावन नगरपालिका ६ ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले करीव ३४ हजार रुपैयाँ बराबरको १७ क्यूफिट सालको काठ बरामद गरेको छ । २ वटा अटो रिक्सामा राखेर अबैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेकोे हो । बरामद काठ तथा अटो रिक्सा आवश्यक कारवाहीको लागि सब डिभिजन कार्यालय चपुरमा बुझाईएको छ । उक्त रिक्साको भन्सार मुल्य २ लाख रुपैयाँ रहेको छ ।
2078-07-30
APF News
चाँदीका गहनासहित सशस्त्र प्रहरीद्वारा दुइ जना पक्राउ
झापा, झापा जिल्लाको मेचिनगर नगरपालिका ८ स्थित जोरसिमल ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले करीव १ लाख ४० हजार रुपैयाँ बराबरको २ के.जी. १ सय ग्राम चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ बर्षिय बिशाल चौधरी र निशान सहनी छन् । प्रदेश १-०१-०१३ प ६६७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलार्ई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले शंंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित मुल्य बराबरको उक्त चाँदी बरामद गरेको हो । त्यसवेला उनीहरु सवार उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद गरगहना तथा मोटरसाईकलसहित आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाईएको छ ।
2078-07-30