Toggle Menu

समाचार

APF News
‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफि प्रदर्शन

काठमाडौं,
    ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा प्रदर्शन गरिएको छ । 
    राष्ट्रिय खेलकुद परिषदको आयोजनामा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा संचालन हुने ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफि सातै प्रदेश तथा तीन विभागीय टीममा प्रदर्शन गरिने योजना अनुरुप आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा प्रदर्शन गरिएको हो । 
    कार्यक्रममा महानिरीक्षक अर्यालले रनिङ ट्रफिलाई विजयको प्रतिकको रुपमा लिई नेपाल एपिएफ क्लबबाट सहभागी हुने सम्पूर्ण खेलाडीहरुले उच्च मनोबलका साथ आ–आफ्नो खेलकुद विधामा पूर्ण क्षमता र खेल भावनाको अनुशरण गरी खेल्नुपर्ने बताउनुभयो ।   
    गण्डकी प्रदेशको पोखरा लगायत आसपासका जिल्लाहरुमा संचालन हुने उक्त प्रतियोगितामा कुल ३६ खेल विधा समावेश गराई संचालन गरिने कुरा सो अवसरमा जानकारी गराइएको थियो । 
    उक्त खेलकुद प्रतियोगितामा नेपाल एपिएफ क्लवको तर्फबाट ३१ खेल विधामा ५३४ जना खेलाडीहरुको सहभागीता रहने छ । 
    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, रनिङ ट्रफि टुर कार्यदल समितिका संयोजक नेपाल ओलम्पियन संघका अध्यक्ष ओलम्पियन दिपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, नेपाल महिला भलिबल टिमकी क्याप्टेन अरुणा शाही, अल्ट्रा म्याराथुन धाविका मिरा राई, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, नेपाल एपीएफ क्लबका खेलाडी तथा अफिसियलहरु लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, बिल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो ।
 

2079-06-09
APF News
नेपाल एपीएफ स्कूलको अभिभावक दिवस सम्पन्न

काठमाडौं,
    नेपाल एपीएफ स्कूल कीर्तिपुरको ‘अभिभावक दिवस–२०७९’ सम्पन्न भएको छ । 
    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लव हलमा असोज ९ गते विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको  हो । 
    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विद्यालयको गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्राहरुलाई पुरस्कार प्रदान गर्नुका साथै विद्यालयको छात्रवृत्ति अक्षय कोषमा सहयोग गर्नुहुने विभिन्न महानुभाव तथा सो स्कुलमा दश बर्ष सेवा अवधि पूरा गर्नुहुने शिक्षक, शिक्षिकाहरुलाई कदर पत्र समेत प्रदान गर्नुभयो । 
कार्यक्रममा महानिरीक्षक अर्यालले भविष्यका कर्णधार बिद्यार्थीबर्गले उच्च अनुशासनमा रहि शिक्षा आर्जन गर्न मेहनतकासाथ लाग्नुपर्ने उल्लेख गर्नुहुँदै शिक्षक, शिक्षिकाहरुले समेत अनुशासन कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । 
    उहाँले बिद्यार्थीहरुको व्यक्तित्व निर्माणमा नेपाल एपीएफ स्कुल अझ बढी सकृय रहने कुरामा विश्वास व्यक्त गर्नुहुँदै नेपाल एपीएफ स्कुललाई सात वटै प्रदेशमा स्थापना गर्ने संगठनको लक्ष्य समेत रहेको बताउनुभयो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले धन्यवाद ज्ञापनको क्रममा नेपाल एपीएफ स्कूलले बिद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्न मेहनतका साथ लागिरहेको बताउनुभयो । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युवराज पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल एपीएफ स्कुलले उत्कृष्ट परिणाम हासिल गर्नुका साथै अतिरिक्त क्रियाकलापहरुमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनुभयो ।
    कार्यक्रममा सो स्कुलका विद्यार्थीहरुले गायन, नृत्य, नाटक लगायतका विभिन्न सांस्कृतिक प्रस्तुती गर्नुकासाथै आफुमा निहित प्रतिभाहरु प्रदर्शन गरेका थिए ।
 

2079-06-09
APF News
पौडी खेल्ने क्रममा वेपत्ता भएका तीन जना मृत अवस्थामा फेला

मकवानपुर,
    पौडी खेल्ने क्रममा वेपत्ता भएका तीन जनालाई सशस्त्र प्रहरीले मृत अवस्थामा फेला पारेको छ ।     मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका ७ स्थित कर्रा खोलामा असोज ७ गते सोही ठाउँ बस्ने १३ बर्षिय संजिव मोक्तान, १७ बर्षिय साहिल लामा र १२ बर्षिय कर्साङ जिम्बा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए । 
    स्थानीयबाट सो बारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरबाट खोजी कार्यको लागि सशस्त्र प्रहरी खटिएको थियो । 
    सोही खोलामा तीनै जनाको शव पानीमा डुबिरहेको अवस्थामा सशस्त्र प्रहरीले अन्य सुरक्षा निकाय सहितको संयुक्त प्रयासमा फेला पारेको हो ।  

2079-06-08
APF News
सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पुरुषोत्तम थापालाई

काठमाडौं,
        सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पुरुषोत्तम थापालाई दिईएको छ ।
        यसअघि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी रहनु भएका
सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काको सशस्त्र प्रहरी बल नेपाल
नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु काज सरुवा
भए पश्चात बरिष्ठ उपरीक्षक थापालाई उक्त जिम्मेवारी दिईएको हो ।
        संगठनसँग सम्बन्धित सूचना तथा जानकारीको लागि उहाँलाई मोबाईल नम्बर
९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने
छ ।

2079-06-07
APF News
निःशुल्क महिला स्वास्थ्य शिविर तथा जनचेतनामुलक कार्यक्रम र पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तालिम सम्पन्न

काठमाडौं, 
    नेपाल एपीएफ अस्पताल बलम्बु, काठमाण्डौं र सिद्धिचरण नगरपालिका ओखलढुङ्गाको संयुक्त आयोजनामा ओखलढुङ्गा जिल्लाको ओखलढुङ्गा सामुदायिक मिसन अस्पतालमा गत भाद्र २७, २८ र २९ गते दुई दिने निःशुल्क महिला स्वास्थ्य शिविर तथा १ दिने महिला स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम र क्यान्सर स्क्रिनिङ तालिम सम्पन्न भएको छ । 
    सो स्वास्थ्य शिविरमा नेपाल ए.पि.एफ अस्पतालको क्यान्सर विशेषज्ञ चिकित्सक प्राविधिक सशस्त्र प्रहरी उपरिक्षक डा. सौजन्य कर्माचार्यको कमाण्डमा खटिएका स्वास्थ्यकर्मीहरुले ६ सय २६ जना स्थानिय महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ (प्याप टेस्ट, भि.आई.ए. र भि.आई.एल.आई. जाँच) गरेका थिए । साथै निःशुल्क रुपमा औषधी समेत बितरण गरिएको थियो ।
    यसैगरी सो सामुदायिक अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मिहरुलाई क्यान्सर स्क्रिनिङ तालिम समेत प्रदान गरिएको छ । 
    सो शिविरमा ३ सय ५० जना स्थानिय महिलाहरुलाई स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रममा समेत संचालन गरिएको थियो । 
 

2079-06-04
APF News
ब्याण्ड उन्नत तालिम समापन
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय साँस्कृतिक तथा बाद्यवादन गुल्म काठमाडौमा संचालित सि.सं. ६ ब्याण्ड उन्नत ग्रुप ए ग्रेड III तालिम भाद्र १५ गते सम्पन्न भएको छ । उक्त तालिमको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले एक कार्यक्रमका बीच समापन गर्नुका साथै तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी जवान बुद्धिलाल श्रेष्ठलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । उहाँले तालिमबाट सिकेका ज्ञान तथा कलाकौशललाई कार्यक्षेत्रमा परिचालित हुँदा अनुशासित एवं ईमान्दारीतापूर्वक सेवा प्रवाहमा लाग्नुपर्ने बताउनुभयो । ४२ हप्ता अवधिको उक्त तालिम ३२ जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापुर्वक सम्पन्न गरेका छन् ।
2079-05-15
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल यहि भाद्र १५ गते देखि १७ गते (अगस्ट ३१ देखि सेप्टेम्बर २) सम्म संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा संचालन हुन गइरहेको तेश्रो United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी हुन सोमबार अमेरिका प्रस्थान गर्नुभएको छ । उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हार्दिक बिदाइ गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त संगठन प्रमुखको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्नुहुनेछ ।
2079-05-14
APF News
नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालवीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालन सम्झौता
काठमाडौं, नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालवीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पु¥याउने सम्बन्धी सम्झौता भएको छ । गैर नविकरणीय उर्जा घटाई नविकरणीय उर्जा खपत बढाउने उद्देश्यले सो सम्झौता गरिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भाद्र १० गते आयोजित कार्यक्रमका वीच सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममा सो प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट चार्जिङको अवधारणा अनुसार सशस्त्र प्रहरी बल नेपालसँग सम्झौता भएको उल्लेख गर्नुहुँदै ग्याँसको खपत घटाउँदै विद्युत उपयोगलाई बढाउँदै लैजाने लक्ष्य अनुरुप प्राधिकरणले काम गरिरहेको बताउनुभयो । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यस प्रकारको सम्झौता प्राधिकरणसँग मिलेर काम गर्ने उपयुक्त अवसर भएको बताउनुहुँदै आगामी दिनमा समेत समन्वय र सहकार्य निरन्तर रहिरहने विश्वास व्यक्त गर्नुभयो । सो सम्झौता अनुसार सशस्त्र प्रहरी बलका हाल संचालित २ वटा पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थानहरुमा गरी कूल १७ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिनेछ । सो विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणमा लाग्ने सम्पूर्ण खर्च नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ भने त्यसको सुरक्षा तथा संचालन सशस्त्र प्रहरी बल नेपालले गर्ने सम्झौतामा उल्लेख छ । इन्डक्सन चुलो प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सवै बाहिनी मुख्यालय, तालिम शिक्षालय, गण र दोस्रो चरणमा सवै गुल्महरुको लागि प्राधिकरणबाट ट्रान्सफर्मर जडानको काम समेत हुनेछ । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग प्रमुख श्रीराम पोख्रेल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा नेपाल विद्युत प्राधिकरणका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
2079-05-10
APF News
पेस्तोलसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
काठमाडौं, मोरङ्ग जिल्लाको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा ईलाकाबाट भाद्र ५ गते सशस्त्र प्रहरीले दुई वटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षिय आरिफ आलमलाई पक्राउ गरेको छ । को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाईनिज पेस्तोल, सोको एक वटा म्याग्जीन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो । आलमले उक्त पेस्तोल सोही जिल्लाको उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षिय नविन धिमालले मगाएको भनि दिएको मौखिक बयानको आधारमा धिमाललाई पनि मोरङ्ग जिल्लाको रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ । धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाईकल तथा ४७ हजार ७ सय ७० नेपाली रुपैयाँ र दुई थान मोवाईल सेट समेत बरामद भएको छ । पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, म्याग्जिन, गोली, मोटरसाईकल, रुपैयाँ र मोवाईल सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाईएको छ । यसै गरी सशस्त्र प्रहरी बल नेपाल बिओपी बनैनियाले भाद्र ५ गते सप्तरी जिल्लाको राजगढ नगरपालिका २ बनैनिया सीमा ईलाकाबाट एउटा कटुवा पेस्तोल तथा सोको एउटा गोली बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनीहरुले बोकेको शंकास्पद वस्तु छाडी फरार भएपछि सो बस्तु जाँच गर्दा उक्त पेस्तोल तथा गोली बरामद गरिएको हो ।
2079-05-06
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट छिन्नमस्ता बाहिनी र मातहत इकाईहरुको निरीक्षण
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भाद्र १ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सो बाहिनी मातहत इकाईहरुको निरीक्षण गर्नुभएको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निरीक्षण भ्रमणको क्रममा सो बाहिनी र बाहिनी मातहत इकाईहरुका प्रमुखसँग सुरक्षा सम्बन्धी विविध विषयमा छलफल तथा अन्तरक्रिया गरी त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न निर्देशन समेत दिनुभयो । यसअघि साउन ३१ गते धनुषास्थित जनकपुरधाममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समुपस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल वीच शान्ति सुरक्षामा समन्वय, सहकार्य र सहयोग सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
2079-05-02
APF News
व्यवसायीक ज्ञान परिक्षण प्रतियोगिता सम्पन्न
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हल्चोकमा साउन ३१ गते ‘व्यवसायीक ज्ञान परिक्षण प्रतियोगिता’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले उक्त प्रतियोगिताका विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले प्रथम पटक सशस्त्र प्रहरी अधिकृतहरुको लागि संचालन गरिएको यस्ता प्रतियोगिताले व्यवसायीक दक्षता अभिवृद्धि गर्न थप टेवा पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय लगायत प्रदेश स्तरमा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुमा मासिक रुपमा नियमित सो प्रतियोगिता संचालन गरिने योजना रहेको छ ।
2079-05-01
APF News
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको विभिन्न सामान बरामद
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल जिल्ला कमाण्ड पोष्ट पश्चिम नवलपरासीले साउन ३१गते पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १८ स्थित सीमा ईलाकाबाट अवैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करीब १२ लाख ९० हजार रुपैयाँ बराबरको ३० बोरा चिनी बोलेरो पिकअपसहित बरामद गरेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजहवाले सोही जिल्लाको सरावल गाँउपालिका ७ बाट करीब ५६ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । यसअघि सोही जिल्लाको प्रतापपुर गाँउपालिका ५ बाट साउन २१ गते सशस्त्र प्रहरीले करीब ३ लाख ४४ हजार रुपैयाँ बराबरको नम्बर प्लेट नभएको एउटा ट्रयाक्टर, ट्रली र त्यसमा रहेको अवैध कवाडी सामान नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीले बरामद सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाएको छ । यसैगरी राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले साउन २२ गते पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाँउपालिका ५ बाट बिल बिजक नभएको पाँच बोरा लत्ताकपडासहित एउटा सवारी साधन नियन्त्रणमा लिएको छ । यूपी ५३ एम १८०० नम्बरको अल्टो कारमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडाको बिल बिजक नभएको फेला परेपछि उक्त लत्तापकडा कारसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।
2079-05-01
APF News
सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम उद्घाटन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा साउन २९ गतेदेखि सि.सं. १४ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम संचालन भएको छ । उक्त तालिम सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सोही अवसरमा उहाँले प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले तालिम अवधिमा सिक्ने र सिकाउछु भन्ने भावना लिएर अगाडी बढ्न सकियो भने कार्यक्षेत्रमा आईपर्ने जुनसुकै चुनौतीलाई पनि सामना गर्न सकिने बताउनुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले दर्जासँगै बढेको जिम्मेवारी पुरा गर्न तालिम अपरिहार्य रहेको बताउनुहुँदै तालिममा सहभागी अधिकृतहरु अनुशासित, इमान्दारिता र कर्तव्यनिष्ठ भई पुरा गर्नेतर्फ लाग्नुपर्ने उल्लेख गर्नुभयो । १२ हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षकबाट बढुवा हुनुभएका १०३ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।
2079-04-29