Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा “समर्पण एपीएफ मासिक” पत्रिका बिमोचन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हल्चोक, स्वयम्भुमा मंसीर १ गते एक कार्यक्रमका बीच “समर्पण एपीएफ मासिक” पत्रिकाको बिमोचन गर्नुभयो । उहाँले संगठनमा भएका गतिविधिहरुका बारेमा सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु जानकार हुन् भन्ने हेतुले प्रकाशन गरिएको उक्त मासिक पत्रिका संगठनको एक ऐतिहासिक क्षण समेत हुने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक अर्यालले प्रधान कार्यालयदेखि फिल्ड लेवलमा भएका कामकारवाहीहरु समावेश गरी मासिक पत्रिका प्रकाशन गरिने भएको हुँदा सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण कर्मचारीहरु यसबाट संगठनका क्रियाकलापका बारे समयमै जानकार हुने विश्वास समेत व्यक्त गर्नुुभयो । उहाँले संगठनको यस उपलब्धी र प्रयासलाई भविष्यमा अझै बढी स्तरीय बनाउँदै लगिने बताउनुभयो । मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सशस्त्र प्रहरी बल, नेपालको भूमिका उल्लेखनीय रहने बताउनुुहुँदै निर्वाचन सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी कर्मचारीहरु जुन ठाउँमा परिचालित भएतापनि आ-आफ्नो ठाउँबाट उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गर्न समेत उहाँले निर्देशन दिनुभयो । यसअघि सशस्त्र प्रहरी बल, नेपालको पाक्षिक रुपमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट “समर्पण राष्ट्रका लागि” नामक कार्यक्रम सञ्चालनमा छ । उक्त बिमोचन कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्र प्रकाश गौतम र बंशी राज दाहाल लगायत सशस्त्र प्रहरी बल, नेपाल बरिष्ठ अधिकृत, अधिकृत तथा बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।
2079-08-01
APF News
उच्च मनोवलकासाथ चुनावमा केन्द्रित हुन महानिरीक्षक अर्यालबाट युनिट कमाण्डरहरुलाई निर्देशन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट कार्तिक २७ गते वाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभएको छ । भर्चुअल माध्यमबाट देशभरका कमाण्डहरुलाई एकैसाथ निर्देशन दिनुहुँदै महानिरीक्षक अर्यालले निर्वाचनका बखत कार्यक्षेत्रमा खटिंदा आईपर्ने जस्तोसुकै चुनौतीहरुको सामना गर्न तयार भएर बस्न निर्देशन दिनुहुँदै निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्त अनुसार सबै प्रकारका सावधानी अपनाएर जिम्मेवारी पूरा गर्न र कुनैपनि कमीकमजोरी भएमा स्वयं युनिट कमाण्डर जवाफदेही हुनुपर्ने बताउनुभयो । सवारी साधनको उचित प्रयोग, त्यसमा अपनाउनु पर्ने सावधानी र न्यूनतम श्रोतसाधनको अधिकतम प्रयोग गर्दै भोग, प्यास र थकानको परवाह नगरी २४सैं घण्टा क्रियाशील रहँदै राष्ट्रको यस महान अभियानमा उच्च मनोवल र हौसलाकासाथ कार्यक्षेत्रमा खटिन निर्देशन दिनुहुँदै उहाँले भन्नुभयो- ‘निर्वाचनका बेला हुने कुनैपनि सुरक्षा कमीकमजोरी क्षम्य हुने छैन ।’ फिल्डको वस्तुस्थिति बुझेर तत्काल चेनअफ कमाण्डमा रिपोर्ट गर्नुकासाथै मुख्यालयबाट खटिने निर्वाचन अनुगमन टोलीले समेत फिल्डमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्न र मुख्यालयबाट गर्नुपर्ने समन्वय, सहयोग र समाधानमा कुनै कसर बाँकी नराख्न उहाँले विभागीय प्रमुखहरुलाई समेत सोही अवसरमा निर्देशन दिनुभयो । निर्वाचनको समयमा फिल्डमा खटिंदा सामान्य भन्दा सामान्य त्रुटि समेत आफुले सुन्न र देख्न नचाहेको बताउनुहुँदै महानिरीक्षक अर्यालले बन्दोबस्ती लगायत अन्य भौतीक व्यवस्थापन संगठनले मातहत इकाईहरुसम्म पुर्‍याई सकेकोले त्यसको उच्चतम र भरपूर प्रयोग गर्न समेत निर्देशन दिनुभयो । सो कार्यक्रममा आसन्न निर्वाचनबारे वाहिनीपतिहरुले महानिरीक्षक अर्याल समक्ष सम्पूर्ण तयारी पूरा भएको योजना प्रस्तुत गरेका थिए । सशस्त्र प्रहरी बल, नेपालले देशैभरी खटिएका जुनसुकै दर्जाका कमाण्डर तथा अन्य सशस्त्र प्रहरी कर्मचारीहरुले कार्य विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतम, केन्द्रिय निर्वाचन सेल प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टलाई सम्पर्क गर्न सक्ने गरी आजैबाट हटलाईन टेलिफोनको समेत व्यवस्था गरेको छ । महानिरीक्षक अर्यालको निर्देशन अघि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले निर्वाचनको समयमा हुनसक्ने समस्या, चुनौती तथा कार्यक्षेत्रमा खटिंदा अपनाउनुपर्ने कार्यशैलीबारे मातहत कमाण्डरहरुलाई निर्देशन दिनुभएको थियो भने महानिरीक्षक अर्याल समक्ष सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले चुनाव केन्द्रित प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम तथा बंशी राज दाहाल लगायत सशस्त्र प्रहरी बल, नेपालका वाहिनीपतिहरु, मुख्यालयका वरिष्ठ अधिकृतहरु, गणपति र गुल्मपतिहरुको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।
2079-07-27
APF News
कालिगण्डकी नदिमा हाम फालेका युवकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

स्याङजा,
    स्याङजा जिल्लाको गल्याङ्ग नगरपालिका १ स्थित राम्दी पुलबाट कालिगण्डकी नदिमा हाम फालेका एक युवकको सशस्त्र प्रहरीले कार्तिक १८ गते सकुशल उद्वार गरेको छ ।
    हरिबोधनि एकादशी स्नान गर्न गएका सोही जिल्लाको भिरकोट नगरपालिका १ बयरघारी बस्ने ३७ वर्षिय ईश्वर दर्जी उक्त नदिमा हाम फालेका थिए ।
    सो घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म स्याङजाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अर्जुन चन्दको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनलाई सकुशल उद्वार गरेको हो । 
    उद्वार पश्चात उनलाई प्रहरी चौकी राम्दीमा बुझाईएको छ ।

2079-07-18
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई हार्दिक बधाई तथा सम्मान
काठमाण्डौ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९’मा सहभागी भई विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्न सफल नेपाल एपीएफ क्लवका खेलाडीहरुलाई कार्तिक १५ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हल्चोकमा आयोजित एक कार्यक्रमका बीच हार्दिक बधाई तथा सम्मान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले त्यसअवसरमा नेपाल एपीएफ क्लवका खेलाडीहरुले विभिन्न विधामा सहभागी भई हासिल गरेको पदकले खेलाडीहरुको मात्र नभई संगठनको नाम समेत उच्च रहेको बताउनुहुँदै आगामी दिनहरुमा खेलाडीहरुले अनुशासन, मेहनत र लगनशिल भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा समेत उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवका खेलाडीहरुले बिभिन्न बिधामा हासिल गरेकोे राष्ट्रिय कीर्तिमानको प्रशंसा गर्नुहुँदै उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुलाई संगठनको तर्फबाट आगामी दिनमा थप सेवा र सुविधा प्रदान गरिने बताउनुभयो । आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल एपीएफ क्लवका खेलाडी लगायत सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्वाचन सुरक्षार्थ परिचालन हुन समेत निर्देशन दिनुभएको छ । गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानहरुमा संचालन भएको उक्त राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवले ६५ स्वर्ण, ७२ रजत र ८२ काँस्य गरी कुल २ सय १९ पदक सहित दोश्रो स्थान हासिल गरेको हो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, सिनियर अधिकृत, जुनियर अधिकृत लगायत बिल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।
2079-07-15
APF News
आचरण विपरित कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु निलम्बन गरिएको [२०७९/०७/१४ गते]

(क) सशस्त्र प्रहरी बल¸ नेपाल बि.ओ.पि. छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादव मिति २०७९/०६/२० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेको घटना सम्बन्धमा प्रारम्भिक छानविनबाट विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएका तत्कालीन बि.ओ.पि.पति सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई विभागीय कारवाही प्रक्रियाको लागि मिति २०७९/०७/१४ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी नियमावली¸ २०७२ को परिच्छेद १३ को नियम ११६ को उपनियम १ बमोजिम निलम्बन गरिएको ।


(ख) सशस्त्र प्रहरी बल¸ नेपाल नं. २८ गण हे.क्वा. कपिलबस्तुबाट निर्वाचन सुरक्षा वेश स्थापना गर्न मिति २०७९/०७/०४ गते टोली पुर्‍याई फर्कने क्रममा गाडि सुरक्षा कमाण्डरको रुपमा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदीले कमाण्डरको जिम्मेवारी सही ढंगले निर्वाह नगरी सवारी दुर्घटना हुन गई ३ जना सशस्त्र प्रहरी कर्मचारीहरुको समेत मृत्यु भएको घटना सम्बन्धमा प्रारम्भिक छानविनबाट समेत निज दोषी देखिएको हुँदा निजलाई विभागीय कारवाही प्रक्रियाको लागि मिति २०७९/०७/१४ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी नियमावली¸ २०७२ को परिच्छेद १३ को नियम ११६ को उपनियम १ बमोजिम निलम्बन गरिएको।

2079-07-14
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन

काठमाडौं,
    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा संचालित छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन गर्नुभएको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा कार्तिक २ गते आयोजित दिक्षान्त समारोहमा उक्त कोर्षमा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ र रिसर्चतर्फ प्रथम हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बहादुर सिंहलाई ‘बेष्ट रिसर्च अवार्ड’ प्रदान गर्नुभयो ।
    सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. कुशुम शाक्यले सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेलाई ‘वेष्ट एकेडेमीक अवार्ड’ प्रदान गर्नुभयो ।
    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो अवसरमा उक्त कोर्ष सफलतापूर्वक सम्पन्न गरेका मध्यम तहका एपीएफ अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै सांगठानिक जिम्मेवारी निर्वाहको क्रममा पूर्ण व्यवसायिक भई कुशलतापूर्वक क्षमता र दक्षता प्रदर्शन गर्न निर्देशन दिनुभयो ।  
    उहाँले दिक्षित अधिकृतहरुले यस कोर्षबाट प्राप्त गरेका ज्ञान, सिप, कला र कौशललाई सदुयोग गर्दै सांगठानिक बिकासमा ईमान्दार र कर्तव्यनिष्ठ भई सकारात्मक सोचका साथ उत्कृष्ट कार्यसम्पादन गर्नेतर्फ क्रियाशिल रहनुपर्ने बताउनुभयो ।
उहाँले एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलतापूर्वक संचालन गर्न नेपाल सरकार गृहमन्त्रालय, त्रिभुवन विश्वविद्यालय लगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सहयोग प्रति आभार समेत प्रकट गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. कुशुम शाक्यले संगठन र राष्ट्रका लागि दक्ष अधिकृत उत्पादनमा एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले दिक्षित अधिकृतहरुलाई कार्यक्षेत्रमा सफलताको कामना गर्नुहँुदै भोलिका दिनमा आउनसक्ने सुरक्षा चुनौतीहरु परास्त गर्दै उत्कृष्ट कार्यसम्पादन तथा कुशल नेतृत्व प्रर्दशन गरी व्यवसायिक जिम्मेवारी निर्वाहमा यस्ता कोर्षबाट प्राप्त ज्ञान उपयोगी रहने बताउनुभयो ।  
उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायमा सुरक्षा, विकास तथा शान्ति अध्ययनमा स्नातकोत्तर रहेको कुरा कार्यक्रममा जानकारी गराईएको थियो । 
२०७८ साल जेठ १६ गतेबाट संचालन भएको सो कोर्षमा २ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, ३ जना सशस्त्र प्रहरी उपरीक्षक र ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकसहित कुल १० जना जना अधिकृतहरुको सहभागीता रहेको थियो । 
सो कोर्षमा सहभागी अधिृकतहरुलाई स्टाफ ड्युटीज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व तथा व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना, स्वदेश तथा विदेश शैक्षिक भ्रमण लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञहरुद्वारा अध्यापन गराईएको कुरा त्यसअवसरमा जानकारी गराइएको थियो ।
उक्त विशेष समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो । 
 

2079/067/02
APF News
विलविजक भन्दा फरक सामानसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

सुनसरी,
    सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गबाट असोज २६ गते सशस्त्र प्रहरीले बरीव ४१ लाख ५४ हजार रुपैयाँ बराबरको ५ सय ४० कार्टुन पेय पदार्थ र सय बोरा मैदा बोकेको  दुई वटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ६ बस्ने ४१ वर्षिय सभापती यादव र सिन्धुली जिल्लाको कमलामाई नगपालिका ५ बस्ने ३८ वर्षिय जितबहादुर थिङ्ग छन् ।
    विराटनगरबाट सप्तरीतर्फ आउँदै गरेको ना ४ ख ७८८३ र बा ५ ख ६९३५ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त सामानको विलविजकमा उल्लेख भएभन्दा फरक पाईएपछि उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी हरिपुरले पक्राउ गरेको हो । 
    पक्राउ परेका दुवै जनालाई बरामद सामान तथा ट्रकसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ । 
 

2079-06-27
APF News
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ

सिरहा,
    सिरहा जिल्लाको बरियापट्टि गाउँपालिका ३ स्थित भन्सार ईलाकाबाट असोज २७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको सुखिपुर गाउँपालिका ३ बस्ने २८ वर्षिय विरेन्द्र यादवलाई पक्राउ गरेको छ ।
    भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई सशस्त्र प्रहरी बल नेपाल वरियापट्टिले जाँच गर्दा उनको साथमा बुप्रेनोथाईजिन १ वटा, हाईड्रोक्लोराईड ३ एम्पुल फेबुप्रेनोर्फिन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल र रन्टीडाईन इन्जेक्सन १ एम्पुल फेला पारेको हो । 
    पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ  ।      
 

2079-06-27
APF News
सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न

काठमाडौं, बडादशैंको अवसरमा आज महानवमीको दिन सशस्त्र प्रहरी बल, नेपालको निशान तथा मौलो पुजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा आयोजित विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको हो । उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत तथा बिल्लादार जवानहरुबाट पुजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच बिहान ७ बजेर ३१ मिनेटको पुजाको संकल्प साइतमा सुरु गरिएको निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो । पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । सशस्त्र प्रहरी बल, नेपालले बडादशैंको अवसरमा हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले मौलोपुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

2079-06-18
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सिसिएससी तालिम समापन

काठमाडौं, 
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २९ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको समापन गर्नुभएको छ ।
    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असोज १४ गते आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गर्नुको साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । 
    कार्यक्रममा उहाँले सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारीहरु कुशलतापूर्वक निर्वाह गर्न संगठनका सवै तहका कर्मचारीहरु पेशागत ज्ञानले शिक्षित प्रशिक्षित हुनुपर्ने उल्लेख गर्नुहुँदै उपलब्ध जनशक्तिलाई प्रभावकारी नेतृत्व प्रदान गर्न सक्षम नेतृत्वको अपरिहार्यतालाई यस्ता पेशागत तालिमले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चाडबाडसँगै आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै गईरहेको सन्दर्भमा सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्वाचन सुरक्षा, परिचालन र आईपर्ने सुरक्षा चुनौती र यसको व्यवस्थापनतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिनुभयो ।  
    उहाँले दर्जा अनुसारको तालिम प्राप्त निपूर्ण जनशक्तिबाट संगठनले लक्षित उद्देश्य हासिल गर्न सक्ने भएकोले तालिमबाट आर्जन गरेको सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, कला र कौशललाई कार्यक्षेत्रमा परिचालित हुँदा व्यवहारिक रुपमा समेत लागू गर्नुपर्ने बताउनुभयो । 
    महानिरीक्षक अर्यालले सीमित श्रोत साधनका बावजुद देशका ७७ वटै जिल्लाका सशस्त्र प्रहरी बल नेपाल परिचालित रहेको सन्दर्भमा प्रतिकूल भूगोल, मौसम र परिस्थितिको सामना गर्दै समयानुकुल परिवर्तित सुरक्षा चुनौतीहरुलाई परास्त गरी कार्यक्षेत्रमा थप हौसला, जोश, जाँगर र उर्जाका साथ परिचालित हुन तालिमबाट सिकेको ज्ञानले थप मद्दत पुर्याउने उल्लेख गर्नुभयो । 
    १२ हप्ता अवधिको उक्त तालिम ३३ जना सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।  
    उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको परिचालन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका आन्तरिक तथा विभिन्न क्षेत्रका विषय विज्ञबाट प्रशिक्षण प्रदान गरिएको कुरा सो अवसरमा जानकारी गराइएको थियो । 
    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

2079-06-14
APF News
एपीएफ र एसएसबी वीचको समन्वयात्क बैठक सम्पन्न

काठमाडौं, 
    सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) वीच भएको छैठौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको छ । 
    असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा सुरु भएको सो बैठकको बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 
    बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले नेतृत्व गर्नुभएको थियो । 
    बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायवीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमति भएको छ । 
    यसका साथै सीमा नाकामा हेल्प डेस्क स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति भएको छ । 
 

2079-06-13
APF News
गृहसचिव विनोद प्रकाश सिंहबाट सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन

काठमाडौं,
    गृहसचिव विनोद प्रकाश सिंहले असोज १२ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।  
    गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यम मार्फतं बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनका समस्या र चूनौतीहरुका बारेमा जानकारी लिनुभयो । 
    उहाँले सशस्त्र प्रहरी बल नेपालले सिमित श्रोत साधनको बावजुत कठिन परिस्थिति र स्थानमा समेत सीमा रक्षार्थ तैनाथ रहेको र प्रतिकुल अवस्थामा रहेका बिओपीहरुको सुधारको लागि समयानुकुल बन्दोवस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको बताउनुभयो । 
    गृहसचिव सिंहले आगामी निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहने तथा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति तथा युनिटपतिहरुले आफु मातहतकालाई उचित ढंगले परिचालन गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
    सशस्त्र प्रहर बल नेपालले शान्ति सुरक्षा कायमा गर्न सक्षमता, निपूर्णता तथा तदरुकताका साथ कार्य गर्नु हुनेछ भन्ने अपेक्षा राखेको बताउनुहुँदै उहाँले सीमा सुरक्षामा काठिन परिस्थितिका बावजुद परिचालित कर्मचारीहरुप्रति उच्च सम्मान प्रकट गर्नुभयो । 
    गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै जस्तो सुकै कठिन परिस्थितिमा समेत सहजताका साथ दायित्व निर्वाह गर्दै आईरहेको उल्लेख गर्नुहुँदै गृह मन्त्रालयले सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासको लागि प्राथमिकताका साथ कार्य गरिहेको बताउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापन गर्नुहुँदै गृहसचिव सिंहबाट भएको निर्देशनलाई अक्षरस पालना गरी ईमान्दारितापूर्वक जम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो । 
    सशस्त्र प्रहरी बल नेपालले राज्य प्रदत्त जिम्मेवारीहरुलाई सदैव शीरमा राखेर उच्च नैतिकता, इमान्दारिता र अनुशासनका साथ अहोरात्र परिचालित भई राष्ट्र र आम नागरिकको सेवा सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धार लगायतका विविध जिम्मेवारीहरुमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहिरहनु पर्ने बताउनुभयो । 
    उहाँले मानव अधिकारको रक्षा, लैंगिक हिंसा र भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ कार्यान्वयन गर्न गराउन निर्देशन दिनुहुँदै सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, चोरीपैठारी तस्करी नियन्त्रण लगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुलाई दृढताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    महानिरीक्षक अर्यालले आगामी निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनको लागि सम्पूर्ण तयारी गरिएको बताउनुहुँदै जस्तो सुकै परिस्थितिमा पनि आम नागरिकको सेवा, सुरक्षा र उद्धारमा परिचालित हुने उल्लेख गर्नुभयो । 
     उक्त निर्देशन सम्बोधन ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका इकाईहरुमा प्रत्यक्ष प्रसारण गरि हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो ।
    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, नेपाल सरकार गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोख्रेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा काठमाडौ स्थित सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति, गणपति र गुल्मपतिहरुको उपस्थिति रहेको थियो ।
 

2079-06-12
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट विजया दशमी, दिपावली तथा छठपर्वको अवसरमा शुभकामना व्यक्त

काठमाडौं, 
    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालीहरुको महान चाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली, छठपर्व र नेपाल संवतको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ । 
उहाँले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट असोज १२ गते शुभकामना दिनुहुँदै स्वदेश तथा विदेशमा विभिन्न कार्यक्षेत्रमा परिचालित सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गर्नुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले राष्ट्र र जनताको सेवा र सुरक्षाका खातिर आफ्नो प्राणको आहुति दिएका अमर सशस्त्र प्रहरीको त्याग तथा योगदानको स्मरण गर्नुुहुँदै जिम्मेवारी निर्वाहको क्रममा घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चाडपर्वको समयमा समेत नागरिकको सेवा, सुरक्षा, सहयोग र आपद विपद्मा परेकाहरुको उद्धारमा थप जोश, जाँगर, हौसला र वफादारिताका साथ परिचालित हुन सकल दर्जाका सशस्त्र प्रहरी राष्ट्रसेवकहरुलाई निर्देशन समेत दिनुभयो । 
उहाँले सुरक्षा आफैमा जटिल, संवेदनशील र चुनौतीपूर्ण हुनेहुँदा सुरक्षासँग सरोकार राख्ने अन्य निकायसँग समन्वय गरी चाडपर्वका वेला सजकताकासाथ अझ बढी सक्रिय भई परिचालन हुनुपर्ने   बताउनुभयो । 
महानिरीक्षक अर्यालले चाडपर्वको बेला स्वदेश तथा विदेशमा आवतजावत गर्ने नागरिकको सहयोग तथा सुरक्षका लागि देशका विभिन्न नाकाहरुमा आवश्यकता अनुसार सहायता कक्ष स्थापना गरी देश र आम नागरिकको सेवा, सुरक्षमा निःस्वार्थभावले सेवा प्रदान गर्न कटिबद्ध भई लाग्नुपर्ने बताउनुभयो ।  
उक्त शुभकामना सन्देश देशभर रहेका सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण गरि हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो । 

2079-06-12