Toggle Menu

समाचार

APF News
नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स ब्याडमिन्टन प्रतियोगीता सम्पन्न
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा फागुन २६ गते नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स ब्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । कार्यक्रमका विशेष अतिथि रहनु भएका माननीय सांसद रमेश लेखक र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा सो प्रतियोगिता सम्पन्न भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुहुँदै प्रतियोगिता आयोजन गर्न सहयोग पुर्‍याउनुहुने महानुभाव तथा संघसंस्थाहरुलाई धन्यवाद दिनुभयो । नेपाल एपीएफ क्लबमा आवद्ध सदस्यहरुवीच भएको मिक्स ओपन ईभेन्ट प्रतियोगितामा चेत सिंह थापा र हेलन गुरुङ्गको जोडीले धिरेन्द्र बहादुर चन्द र रमन नेपालको जोडीलाई पराजित गरी प्रथम भएको हो । यसैगरी ओपन ईभेन्टमा नरेन्द्र थापा र पदम मगरको जोडीले राजिव पोद्दार र दिपक गुरुङ्गको जोडीलाई पराजित गरी प्रथम स्थान हासिल गरेका छन् । नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स कमिटिका अध्यक्ष हरि सिटौलाले यस्ता खेलकुद प्रतियोगिताले विभिन्न पेशा, व्यवसायिक परिवेशबाट आएका क्लवका सदस्यहरुमा एक आपसमा भाईचाराको सम्वन्ध, समन्वय तथा सहयोगको भावनाको विकासमा टेवा पुग्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले निर्णायकवर्ग तथा उक्त प्रतियोगिता व्यवस्थापनमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा एपीएफ क्लब मेम्बर्स कमिटिका पदाधिकारी, सल्लाहकार सदस्य तथा अन्य प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
2079-11-26
APF News
एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डद्वारा संयुक्त सांगितीक प्रस्तुती
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा बिहिबार एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डको संयुक्त सांगितीक प्रस्तुती सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डबीच बिगतदेखि नै निरन्तर रुपमा सांगितीक प्रस्तुती तथा प्रशिक्षणको आयोजना हुँदै आएको स्मरण गर्नुहुँदै यस्ता किसिमका कार्यक्रमले दुई देश र संगठनहरु बीच भएको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्ड बीचको संयुक्त प्रस्तुती सशस्त्र प्रहरी बल, नेपाल र ब्रिटिस गोर्खा बीचको बलियो बन्धनको प्रतिक तथा एक आपसमा भईरहेको सहकार्यको एउटा उदाहरण समेत रहेको बताउनुहुँदै यस किसिमको कार्यक्रम आगामी दिनहरुमा समेत निरन्तर भईरहने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक अर्यालले संयुक्त ब्याण्ड टिमका सदस्यहरुले प्रस्तुत गरेका उत्कृष्ट सांगितीक धुनको प्रशंसा गर्नुहुँदै धन्यवाद समेत दिनुभएको थियो । उक्त कार्यक्रममा दुई वटै देशका विभिन्न गितहरुको सुमधुर सांगितीक धुनहरु प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा महानिरीक्षक अर्यालले British Gurkhas Band की Music Director Captain Esther Hayesलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा बेलायती राजदुतावासका प्रतिनिधि लेफ्टिनेन्ट कर्णेल कमल गुरुङ्ग लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, बिल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।
2079-11-25
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वदेश फिर्ता
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अफ्रिकी मुलुक साउथ सुडानमा भएको मेडल परेडमा सहभागी भई आईतबार स्वदेश फर्कनु भएको छ । साउथ सुडानमा सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपीयु)को नवौं डफ्फाका १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत रहेका छन् । उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गर्नुभयो । महानिरीक्षक अर्यालले मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता तथा छलफल गर्नुभएको थियो । सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका सुरेश कुमार श्रेष्ठलाई दर्ज्यानी चिन्ह समेत प्रदान गर्नुभएको थियो । मेडल परेडमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक अर्याल सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
2079-11-21
APF News
निःशुल्क आयुर्बेद तथा वैकल्पिक स्वास्थ्य शिविर संचालन
“११३ औं अन्तराष्ट्रिय नारी दिवस २०७९” को उपलक्ष्यमा सशस्त्र प्रहरी परिवार महिला संघले आयुर्वेद चिकित्सालय नरदेवी काठमाण्डौको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. १९ बगलामुखी (विशेष कार्यदल) गण काठमाण्डौमा निःशुल्क आयुर्बेद तथा वैकल्पिक स्वास्थ्य शिविर संचालन भएको छ । संघकी अध्यक्ष श्रीमती अनिता लामीछाने अर्यालको प्रमुख आतिथ्यतामा फागुन १८ गते संचालन भएको स्वास्थ्य शिविरमा स्थानिय बासिन्दा, जेष्ठ नागरिक, सशस्त्र प्रहरी कर्मचारीहरु र सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रीत परिवारहरुले निःशुल्क रुपमा स्वास्थ्य परीक्षण र उपचार गराएका थिए । शिविर स्त्री रोग, छाला रोग, वाथ रोग, पाइल्स, फिस्टुला आदि रोगहरुको अकुपञ्चर, अकुप्रेशर, कपिंग, स्नेहन र स्वेदन विधि प्रयोग गरी उपचार गर्नुको साथै निःशुल्क रुपमा औषधी समेत बितरण गरिएको थियो । स्वास्थ्य शिविरमा १ सय ८२ महिला र ३ सय १५ पुरुष गरी ४ सय ९७ जनाले उपचार सेवा लिएका थिए । सोही अवसरमा अजिज फाउण्डेशनकी अध्यक्ष सुश्री सर्की ल्हमु शेर्पाले महिला सशस्त्र प्रहरी कर्मचारीहरुको लागी अटोमेटिक सेनिटरी प्याड भेण्डिङ मेशिन समेत हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, आयुर्बेद चिकित्सालयका निर्देशक डा. प्रदिप के.सी., चिकित्सकहरु लगायत स्वास्थ्यकर्मीहरुका साथै सशस्त्र प्रहरी बल, नेपाल नं. १९ बगलामुखी (विशेष कार्यदल) गणका गणपति तथा सिनियर अधिकृत, जुनियर अधिकृत, विल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।
2079-11-19
APF News
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्धारा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरुलाई विविध विषयमा प्रशिक्षण
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालित सातौ एपीएफ कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरुलाई फागनु १७ गते विविध विषयमा प्रशिक्षण गराउनुभएको छ । उहाँले व्यक्तिगत जीवनमा आईपर्न सक्ने विविध समस्या र त्यस सम्बन्धि अनुभव तथा वर्तमान समयमा राष्ट्र तथा नागरिकमा आईपर्ने विविध चुनौतीहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो । साथै उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल बीच एक आपसमा भएका समन्वय र सहकार्य तथा राष्ट्रिय सुरक्षामा नेपाल प्रहरीको भूमिकाको बारेमा समेत प्रशिक्षण गराउनु भएको थियो । सो प्रशिक्षण कार्यक्रमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका विषयविज्ञ प्रमुख नारायण अधिकारी लगायत प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
2079-11-18
APF News
श्रोत नखुलेको भारती रुपैयाँसहित सशस्त्र प्रहरीद्धारा दुई जना नियन्त्रणमा :-
श्रोत नखुलेको ७ लाख २० हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित रानी भन्सार ईलाकाबाट फागनु १७ गते दुई जनालाई नियन्त्रणमा लिएको छ । भारत घर बताउने ३९ वर्षिय सुरेन्द्र कुमार र ३३ वर्षिय सहनी गुप्तालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीले उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा रहेको सशस्त्र प्रहरीले जाँच गर्दा उनीहरुले बोकेको झोलामा फेला परेको उल्लेखित रुपैयाँ श्रोत खुलाउन नसकेपछि सो रुपैयाँसहित नियन्त्रणमा ल्याईएको हो । नियन्त्रणमा ल्याईएका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको छ ।
2079-11-18
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान :-
नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका सुरेशकुमार श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले फागुन १६ गते दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । दक्षिण सुडानको जुवामा मेडल परेड कार्यक्रममा सहभागी हुनुभएका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सोही ठाउँमा संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट (पीओसी) कोअर्डिनेटरको रुपमा कार्यरत रहनु भएका सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
2079-11-18
APF News
यूनाईटेड नेशन्स मिशन ईन साउथ सुडानमा मेडल परेड कार्यक्रम सम्पन्न:-
संयुक्त राष्ट्र संघको आह्वानमा यूनाईटेड नेशन्स मिशन ईन साउथ सुडान जुवामा फर्म्ड पुलिस युनिट (एफपीयु)मा कार्यरत नवौं डफ्फाका सशस्त्र प्रहरी कर्मचारीहरु र UNMISS UNPOL Nepalese Contingent मा कार्यरत कर्मचारीहरुको फागुन १७ गते यूएन मेडल परेड कार्यक्रम सम्पन्न भएको छ । UNMISS OIC SRSG/Deputy SRSG-Political Mr. Guang CONG को प्रमुख आतिथ्यतामा उक्त मेडल परेड कार्यक्रम सम्पन्न भएको हो । साथै विशेष प्रतिनिधि संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, Deputy Force Commandar, Deputy Police Commissioner, UNPOL Senior Leadership का पदाधिकारी, UNMISS अन्तर्गतका विभागीय प्रमुखहरु, MIlitary Componant का विशिष्ट अधिकृतहरु तथा FPU Coordinator Cell/Field Office का पदाधिकारीहरुको समेत मेडल परेडमा उपस्थिती रहेको थियो । सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुभकामना व्यक्त गर्नुभएको थियो भने UNMISS NEPFPU-1 Juba का Commanding Officer सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम पश्चात सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु तथा IPOs (Nepalese Contiongent)लाई निर्देशन तथा कार्यालय निरीक्षण समेत गर्नुभएको थियो ।
2079-11-18
APF News
सशस्त्र प्रहरीद्वारा काठको कोईलासहित तीन वटा ट्याक्टर नियन्त्रणमा :-
पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका ४ हर्कपुराबाट फागुन १८ गते सशस्त्र प्रहरीले करीव १५ लाख ९८ हजार रुपैयाँ बराबरको काठको कोईला र तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । भन्सार छली अवैध रुपले लु २ त १९०५, लु २ त ५४०९ र लु २ त १९११ नम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त कोईला तथा ट्याक्टर सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजाहाले नियन्त्रणमा लिएको हो । ट्याक्टर जाँच गर्ने क्रममा उक्त ट्याक्टरका चालक भने फरार भएका थिए । नियन्त्रणमा ल्याईएको कोईलासहितको तीन वटै ट्याक्टर आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको छ ।
2079-11-18
APF News
लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा दुई जना नियन्त्रणमा :-
सुनसरी जिल्लाको कोशी गाउँपालिका १ स्थित सीमा ईलाकाबाट फागुन १७ गते सशस्त्र प्रहरीले ४७ वटा स्पास्मो प्रोक्सिभन प्लस र ४ बोतल डालेक्स डिसी नाम लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही जिल्लाको बराहक्षेत्र नगरपालिका १ बस्ने २८ वर्षिय सुजन श्रेष्ठ र २१ वर्षिय राज कार्कीलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीले उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो । को ३९ प ९२५९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई ड्यूटिमा रहेको सशस्त्र प्रहरी जाँच गर्दा उनीहरुमो साथमा उक्त लागूऔषध तथा ४ हजार ५ सय ७० नेपाली रुपैयाँ, १ थान मोवाईल सेट र सवारी दर्ता प्रमाणपत्र १ थान समेत फेला पारेको हो । नियन्त्रणमा ल्याईएका दुवै जनालाई बरामद लागूऔषध, मोटरसाईकल र अन्य सामानसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लौकहीमा बुझाईएको छ ।
2079-11-18
APF News
निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलबाट निर्देशनः-
निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल नेपालका बाहिनी, राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा शिक्षालयहरुमा प्रमुखको रुपमा जिम्मेवारी पाएका सशस्त्र प्रहरी नायव महानिरीक्षक र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई संगठनको लक्ष्य र उद्देश्य अनुरुप कार्य गर्न निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा फागुन १७ गते निर्देशन सम्बोधन कार्यक्रममा उहाँले नेतृत्वमा रहँदा आफु मातहतका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत जिम्मेवारीबोधका साथ कार्य गर्न प्रेरित गर्नुपर्ने उल्लेख गर्नुहुँदै संगठनको लक्ष्य, उद्देश्य र योजनामा रहेर उच्च स्तरको जिम्मेवारी बोधकासाथ कार्य गर्न निर्देशन दिनुभयो । अतिरिक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका इकाईहरुको आधारभूत आवश्यकताको व्यवस्थापनलाई तीब्रता दिनुपर्ने उल्लेख गर्नुहुँदै बडी मास इन्डेक्स (बिएमआई)का आधारमा स्वास्थ्य वर्गीकरण सम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्डलाई प्राथमिकताकासाथ लागू गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले सीमामा हुने अवैध गतिविधि, चोरीतस्करी निकासी नियन्त्रणमा गम्भिर भएर लाग्न र आर्थिक पारदर्शीतामा शुन्य सहनशिलताको नीति अवलम्वन गरी मानवअधिकारको पूर्ण पालना गर्दै कर्तव्य निर्वाहमा कटिवद्ध रहन निर्देशन दिनुभयो । उहाँले अन्य सरोकारवाला निकाय र सुरक्षा नियकाहरुसँगको समन्वय, सहकार्य र सहयोगमा कार्य गर्नुपर्ने बताउनुहुँदै भेटघाट आचारसंहिताको समेत पूर्ण पालना गरी कुनैपनि प्रकारका जन गुनासोहरु नआउने गरी कार्य गर्न निर्देशन दिनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरणको लागि समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आफ्नो क्षेत्राधिकार भित्रको संवेदनशिलता, प्रकृती र विपद् सँग सम्बन्धित प्रतिकार्य योजनाहरु बनाउँदै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सूचना श्रोतको विकास गर्दै स्वच्छ र निश्पक्षताकासाथ मानवअधिकारको सम्मान गर्दै कुनै पनि प्रकारको कमीकमजोरी नआउने गरी कार्य गर्न निर्देशन दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा क्षेत्रका हरेक गतिविधिहरुलाई उच्च सतर्कता र चनाखो भई समकक्षीहरुसँग समन्वय र सहकार्यमा सीमा सुरक्षा व्यवस्थापन, चोरीतस्करी नियन्त्रण लगायतका कार्यहरु त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्ने बताउनुहुँदै सीमा सुरक्षाको चुनौतीहरुलाई सुक्ष्म ढंगले अध्ययन गरी चुस्त, दुरुस्त कार्य गर्न निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल सरकार (सम्माननीय प्रधानमन्त्री एवं गृहमन्त्रीस्तर)को यही फागुन १४ गतेको निर्णयले बाहिनीपति, रा.स.प्र.बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा तालिम शिक्षालयहरुमा समादेशकको रुपमा खटिईजान लाग्नुभएका सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु लगायत सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
2079-11-17
APF News
सम्पर्क विहिन भएका घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोरद्धारा फेला
तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका ४ स्थित मस्र्याङ्दीमा नदिमा बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोरले फागुन १६ गते फेला पारेको छ । सोही जिल्लाको आँबुखैरेनी गाउँपालिका ३ बस्ने ३६ वर्षिय घिमिरे यही फागुन १२ गतेदेखि सम्पर्क विहिन रहेको थिए । उनले प्रयोग गरेको स्कुटर तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दी नदिको किनारामा रोकी राखेको अवस्थामा फेला परेपछि उनी हराएको आशंका गरिएको थियो । सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी कार्य गर्दा उनको शव झोलुङ्गे पुल मुनि पानिभित्र फेला पारी बाहिर निकालेको हो । उनको शव पोष्टमार्टमको लागि स्थानीय प्रहरीलाई बुझाईएको छ ।
2079-11-16
APF News
सशस्त्र प्रहरीद्वारा गाँजा बरामद
सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ नरकटियास्थित भुटाहा-घुस्की भित्री सडक खण्डबाट फागुन १५ गते सशस्त्र प्रहरीले करीब २ सय ५८ के.जी गाँजासहित एउटा गाडी नियन्त्रणमा लिएको छ । भुटाहाबाट घुस्कीतर्फ आउँदै गरको बि.आर. १ ए.के. ६१०० नम्बरको स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरले जाँच गर्दा उल्लेखित परिमाणको गाँजा फेला परेपछि गाँजासहित गाडी नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीले सो गाडी रोक्ने वित्तिकै गाडी चालक गाडी छोडेर भागेका थिए । गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त गाँजा फेला परेको हो । बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ ।
2079-11-16