Toggle Menu

समाचार

APF News
नं. ९ पशुपतिनाथ बाहिनीमा संचालन भएको ‘बाहिनीपति कप २०७९’का विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न
सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यतामा नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा संचालन भएको ‘बाहिनीपति कप २०७९’का विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको । नायव महानिरीक्षक थापाले प्रतियोगिताका विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुकासाथै खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक धन्यवाद समेत प्रकट गर्नुभएको थियो । उहाँले खेलकुद मानव जीवन एक महत्वपूर्ण अंग भएको चर्चा गर्नुहुँदै सकारात्मक सोचकासाथ खेलकुद प्रतियोगितामा सहभागी भएमा सदैव सफलता मिल्ने बताउनुभयो । नायव महानिरीक्षक थापाले यस प्रकारका पेशागत गतिविधिहरुमा सहभागी गराउँदा सशस्त्र प्रहरी कर्मचारीहरुको व्यावसायिक क्षमता अभिबृद्धि, सामूहिक भावनाको विकास, सेवाप्रतिको निष्ठा, युनिटप्रतिको बफादारिता, व्यक्तिगत अनुशासन तथा प्रतिस्पर्धात्मक क्षमता बिकास गराउने विश्वास व्यक्त गर्नुभयो । ‘सशस्त्र प्रहरी बल नेपालमा पेशागत गतिविधि संचालन सम्बन्धि कार्यादेश २०७९’मा उल्लेख भए अनुसार यही चैत्र १९ गतेदेखि संचालन गरिएको विभिन्न विधाका प्रतियोगिताहरुमा नम्बर १९ बगलामुखी बिशेष कार्यदल गण प्रथम, नम्बर २१ गण दक्षिणकाली द्धितीय र नम्बर २० विपद् उद्धार गण तृतिय भएको थियो । प्रतियोगितामा दौड, फुटबल, भलिबल र व्याडमिन्टन खेलहरु संचालन गरिएको थियो । कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ र १२ का वडा अध्यक्ष लगायत बाहिनी मातहत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
2079-12-24
APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्काबाट शिशु स्याहार र बिओपी भवनहरु उद्घाटन
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काले चैत्र २२ गते नवनिर्मित शिशु स्याहार केन्द्र र बिओपीहरुको भवन उद्घाटन गर्नुभएको छ । नायव महानिरीक्षक खड्काले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० बागेश्वरी गण बाँके परिसरमा नवनिर्मित शिशु स्याहार केन्द्र, बिल्लादार जवान मेस तथा बाँके जिल्लास्थित बिओपी गंगापुर, खडैचा र बढैयाको लागि नवनिर्मित भवनहरु उद्घाटन गर्नुभएको हो । उहाँले संगठनले सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न विभिन्न किसिमका कल्याणकारी कार्यहरु तथा बृत्तिविकासमा जोड दिँदै आईरहेको उल्लेख गर्नुहुँदै संगठनबाट प्राप्त नीति निर्देशनहरुको अक्षरश पालना गर्दै कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बाँके जिल्लाको नरैनापुर गाँउपालिकाका प्रमुख इस्तियाक अहमद शाह, जानकी गाँउपालिकाका प्रमुख छब्बन खाँ, प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० बागेश्वरी गण बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेश विक्रम शाही, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रतिनिधि र सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।
2079-12-23
APF News
चोरीपैठारीको सामान नियन्त्रणमा
रौतहटस्थित सशस्त्र प्रहरी बल, नेपालका सुरक्षा बेस तथा बिओपीहरुले रौतहट जिल्लाको विभिन्न स्थानबाट ४ लाख ९ हजार ६ सय ४० रुपैयाँ बराबरको चोरीपैठारीको सामान नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस फतुहाले चैत्र २२ गते रौतहट जिल्लाको यमुनामाई गाँउपालिका ५ ईद्रिस गेट ईलाकाबाट १ लाख ३४ हजार ५ सय ९० रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामान नियन्त्रणमा लिएको हो । यसैगरी सोही जिल्लाको गौर नगरपालिका २ भन्सार रोड ईलाकाबाट चैत्र १९ गते र राजपुर नगरपालिका ७ कुडियाबाट चैत्र २० गते प्रस्तावित सीमा सुरक्षा गुल्म गौर (बिओपी गौर) ले २ लाख ७५ हजार ५० रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएका सामानहरु स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
2079-12-23
APF News
सशस्त्र प्रहरीको गोताखोरले फेला पार्यो माघ ९ गते सेती नदिमा बेपत्ता भएका गुरुङ्गको शव
गत माघ ९ गते सेती नदिमा हाम फालेर बेपत्ता भएका कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षिय बिश्व बहादुर गुरुङ्गको शव चैत्र २२ गते बुधबार सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । उनी गत माघ ९ गते उक्त नदिमा हाम फालेर बेपत्ता भएको बताईएको छ । सोही जिल्लाको पोखरा महानगरपालिका १६ दिपस्थित के.आई. सिंह पुलबाट सोही महानगरपालिका १९ लामाचौर बस्ने ३१ वर्षिया अल्का गुरुङ्ग चैत्र २१ गते मंगलबार उक्त नदिमा हाम फालेको भन्ने खबर प्राप्त भए पश्चात नम्बर २४ कालिका गण मालेपाटन पोखराबाट गएको गोताखोरसहितको टोलीले उनको खाजीकार्य गर्ने क्रममा बिश्व बहादुर गुरुङ्गको शव फेला पारेको हो । अल्का गुरुङ्गको खोजीकार्य जारी रहेको छ । गुरुङको शव पोष्ट मार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
2079-12-22
APF News
श्रोत नखुलेको भारतीय ५ लाख र नेपाली ५ लाख रुपैयाँसहित तीन जना नियन्त्रणमा
सर्लाही जिल्लाको कविलासी नगरपालिका ८ अगर्वाबाट चैत्र २२ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको ५ लाख भारतीय र ५ लाख नेपाली रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नम्बर १० गण सर्लाहीले उल्लेखित रुपैयाँसहित सोही जिल्लाको धनकौल गाँउपालिका ६ घर भई हाल हरिवन नगरपालिका ११ बस्ने ४५ बर्षिय गान्धि साह सोनार, रुपन्देही जिल्लाको साविक फरेना गाविस ६ बस्ने ३५ बर्षिय राजेश बनिया र भारत घर भई हाल पर्सा जिल्लाको बिरगंज महानगरपालिका १९ बस्ने १९ बर्षिय अनिल साहलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नं. २-०३-०१५ प ५९६९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा उनीहरुको साथमा उक्त रुपैयाँ फेला परेको र सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । उनीहरुको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा (४ लाख ९८ हजार), २ हजार दरको एक वटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा (१ हजार ६ सय), १ सय दरको ४ सय ८४ वटा (४८ हजार ४ सय), ५ सय दरको ३ सय वटा (१ लाख ५० हजार), १ हजार दरको ३ सय वटा (३ लाख) नोट बरामद भएको हो । नियन्त्रणमा लिएका तीनै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।
2079-12-22
APF News
श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ भन्सार सीमा ईलाकाबाट चैत्र २१ गते करीव ३ लाख २० हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारत घर बताउने २७ वर्षिय राकेश कुमार तिवारीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (बिओपी मलंगवा)ले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिइएको हो । बी.आर. ३० ए.ए. ३४५५ नम्बरको मोटरसाईकलमा सवार उनलाई जाँच गर्दा उनको साथमा फेला परेको रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । बरामद भएको उल्लेखित रुपैयाँमा १ सय दरको २ सय वटा, ५ सय दरको २ सय ७० वटा र १ हजार दरको १ सय ६५ वटा नोट रहेको छ । नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाईएको छ ।
2079-12-22
APF News
माननीय उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट प्रधान कार्यालयको निरीक्षण भ्रमण र बरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रमको समापन
माननीय उप-प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रधान कार्यालयको निरीक्षण भ्रमणका साथै बरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रमको समापन गर्नुभई सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । माननीय उप-प्रधान एवं गृहमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, संगठनात्मक संरचना, काम कर्तव्य र जिम्मेवारी अन्तर्गतका विषयहरुमा शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, दंगा नियन्त्रण, सार्वजनिक सम्पत्तीको संरक्षण, तथा कानूनको कार्यान्वयन गर्ने क्रममा सम्पादन गरिएका समग्र गतिविधिहरु समेटेर गरिएको प्रस्तुतीकरणले संगठनको बारेमा थप प्रष्ट भएको बताउनुभयो । उहाँले शान्ति, सुरक्षा, प्रतिबद्धताको मुल मन्त्रलाई आत्मसात गरी नागरिकको जिउधनको सुरक्षा, सीमा सुरक्षा, राजश्व सुरक्षा, औद्योगिक सुरक्षा कायम गर्न अहोरात्र खटिएर सेवा प्रदान गर्ने कार्य सराहनीय रहेको बताउनुहुँदै राज्यले सुम्पिएका जिम्मेवारीहरु साथसाथै सशस्त्र प्रहरी बलले भैपरि आउने विषम परिस्थितिहरुमा समेत आफ्नो क्षमता, व्यावसायिकता र उच्च पेशागत दक्षता प्रदर्शन गरी राज्यको अब्बल सुरक्षा निकायको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको समेत बताउनुभयो । उहाँले प्रधान कार्यालयमा देशभरमा कार्यरत वरिष्ठ अधिकृतहरु भेला भई संगठनलाई कसरी गतिशिल र सक्षम बनाउन सकिन्छ भनि छलफल गर्न गोष्ठी आयोजना गर्ने कार्य प्रशंसनिय रहेको बताउनुहुँदै स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत मुलुकको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन अझ मिहेनतका साथ कार्यसम्पादन गरी भ्रष्टाचार र आर्थिक अनुशासनका सवालमा कुनै पनि सम्झौता नगरी निर्मम रुपमा प्रस्तुत हुन समेत निर्देशन दिनुभयो । उप-प्रधान एवं गृहमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बल, नेपालसंग सम्बन्धित कानूनी विषयहरु (ऐन, नियमावली, कार्यविधि, मापदण्ड) लाई बदलिदो परिवेशमा समसामयिक परिमार्जन, पुनरावलोकन गर्ने र आवश्यकता अनुसार नयाँ कानुन तर्जुमा गर्नुपर्ने बताउनुहुँदै संगठनलाई नेपाल सरकारले तोकेको जिम्मेवारी अनुरुपको कार्य प्रभावकारी ढंगले सम्पादन गर्नका लागि मौजुदा दरबन्दी संरचनाको पुनर्संरचना गर्ने गरी संगठन तथा व्यवस्थापन गर्ने कार्यलाई अगाडी बढाउन गृहमन्त्रालयको आवश्यक पहलकदमीमा कुनै कमी नहुने बताउनुभयो । उहाँले सशस्त्र प्रहरीले न्यून सेवा सुविधा र अपर्याप्त स्रोत साधनका बाबजुद कतिपय ठाउँमा भाडाको घर, अस्थाई संरचनामा बसेर, कतिपय ठाउँमा जीर्ण अवस्थाका आवास तथा भवनहरुबाट नागरिकलाई सेवा र सीमाको सुरक्षा गरिरहेको अवस्था विद्यमान रहेको हुँदा यस्ता समस्याहरु समाधान गरी भौतिक पूर्वाधार निर्माण र संगठनको क्षमता बढाउने विषयमा गृहमन्त्रालयको तर्फबाट आवश्यक सहयोग रहने बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्ड सहितको थप बिओपीहरुको स्थापना, मौजूदा बिओपीहरुको स्तरवृद्धि गर्दै समग्र संगठनलाई नै प्रविधिमैत्री एवं चलायमान बनाउनु पर्ने उल्लेख गर्नुहुँदै हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीको लागि मापदण्ड अनुसारको पोशाक, सशस्त्र प्रहरी कर्मचारीलाई उपलब्ध हुने रासनको न्यायोचित वितरण तथा अन्य सेवासुविधामा उचित ध्यान पुर्‍याईने बताउनुभयो । उप-प्रधान एवं गृहमन्त्री श्रेष्ठले विपद् प्रतिकार्य, राहत तथा उद्धारमा सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउनुहुँदै विपद् उद्धार केन्द्रहरूको विस्तार, विपद् उद्धार सामाग्रीको नियमित उपलब्धता र विपद् व्यवस्थापनमा संलग्न सशस्त्र प्रहरीको क्षमता विकासका लागि कार्ययोजना बनाई उचित स्रोतसाधनको प्रबन्धसहित ठोस कार्य गर्नका लागि मन्त्रालय सदैव सकारात्मक रहेको बताउनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षा आफैमा जटिल, संवेदनशिल र चुनौतीपूर्ण विषय भएको बताउनुहुँदै अन्य सुरक्षा निकायहरुसँग निकट समन्वयका साथ राज्य प्रदत्त कार्यादेशहरुलाई कुशलतापूर्वक बहन गर्दै नेपाल सरकार तथा मजकुर गृह मन्त्रालयका नीति, कार्यक्रम, आदेश, निर्देशनहरुलाई अक्षरशः पालना गरी ईमान्दारिताकासाथ परिचालन भईरहेको बताउनुभयो । उहाँले प्रशासन मायाले होईन न्यायले चल्दछ, भन्ने मान्यतालाई अंगिकार गर्दै आन्तरिक प्रशासनलाई प्रणालीगत, निश्चित पद्दतीमा संगठन चल्ने अवस्था सिर्जना गर्नका लागि पारदर्शीता र जवाफदेहीता सहितको पूर्वानुमानयोग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, यू.एन. मिशन तथा कल्याणकारी कार्यक्रम एवं अवसरहरुलाई न्यायसंगत रुपमा वितरणको प्रक्रिया थालनी गरिएको बताउनुभयो । महानिरीक्षक अर्यालले कर्मचारीहरुमा थप हौसला बृद्धिका लागि पश्चिमी अफ्रिकी मुलुक माली स्थित संयुक्त राष्ट्रसंघीय मिसनमा १ सय ४० जनाको फर्म्ड पुलिस युनिट (एफपीयु) परिचालन गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको बताउनुभयो । उहाँले राज्यको मेरुदण्डको रुपमा रहेको राजस्व एवं भन्सार वृद्धि गर्ने कार्यमा सरोकारवालाहरु सबैको रचनात्मक सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुहुँदै सम्बन्धित सबै निकायहरुसँग आवश्यक सहयोग, समन्वयन र सहकार्यका साथ अगाडी बढिरहेको बताउनुभयो । महानिरीक्षक अर्यालले प्रधान कार्यालयमा आयोजित बरिष्ठ अधिकृत छलफलले संगठन सुधारका योजना र कार्यक्षेत्रमा व्याप्त कठिनाई र समस्याहरुका बारेमा समेत निचोड निकाल्न सफल भएको बताउनुहुँदै विशेषत सीमा सुरक्षा, राजस्व संकलन, जनशक्ति तथा स्रोतसाधनका साथै सरुवा, बढुवा लगायतका वृत्ति बिकासका विषयलाई ऐन, नियमावलीले सम्बोधन गर्ने गरी मजकूर मन्त्रालयमा पेश गरिने हुँदा सकारात्मक साथ र सहयोगको अपेक्षा गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा माननीय उप-प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधान कार्यालय स्थित केन्द्रिय समन्वय सेल, संग्राहलय, अनुगमन तथा गुनासो व्यवस्थापन इकाई र सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विपद् उद्धार सामाग्रीहरुको अवलोकन गरि सो सम्बन्धि जानकारी लिनुको साथै उद्वारका विषयमा समेत जानकारी लिनुभएको थियो । सोही क्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टले संगठनको विषयवस्तु सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम देशभरका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण गरि हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो । कार्यक्रममा श्रीमान् गृहसचिव विनोद प्रकाश सिंह, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल, गृहमन्त्रालयका सह-सचिव तथा प्रवक्ता, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु, गृहमन्त्रालयका पदाधिकारी, तालिम शिक्षालयका समादेशकहरु लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
2079-12-21
APF News
चोरीपैठारीको सामानसहित पिकअप गाडी नियन्त्रणमा
मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिर ईलाकाबाट चैत्र २० गते करीव १६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी नियन्त्रणमा लिइएको छ । बाग्मती प्रदेश ०१-०२५च ५२३० नम्बरको गाडीमा राखेर ल्याउँदै गरेको ४३ बोरा स्पेशल मिल्क पाउडर र ५५ वटा खाली क्यारेट नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो । साथै उक्त गणले सोही स्थानबाट करीव ४ लाख ८३ हजार रुपैयाँ बराबरको मोवाईल कभर, टेम्पर ग्लास लगायतका सामान नियन्त्रणमा लिएको हो । बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।
2079-12-20
APF News
प्रधान कार्यालयमा बरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रम शुरु
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा चैत्र १९ गतेदेखि दुई दिने बरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रम शुरु भएको छ । संगठनको समसामयीक विषयहरु तथा समस्याहरुको बारेमा छलफल गरी वर्तमान तथा भविष्यमा आउन सक्ने चुनौती तथा अवसरहरुको पहिचान गर्दै भावी कार्य दिशाको मार्गनिर्देशन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यस्ता किसिमका कार्यक्रमले संगठनलाई थप गतिशिल बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले हजारौँ सदस्यहरु रहेको एउटा सिंगो संगठनलाई कुनै व्यक्ति विशेषले मात्र सुधार गर्न सम्भव नरहेको बताउनुहुँदै म एक जनाले उर्जा दिएर के हुन्छ भन्ने मानसिकताबाट माथि उठी असम्भव के छ, भन्ने मनस्थिती बनाई शान्ति सुरक्षा, तालिम, सीमा, विपद् उद्धार, प्रशासन, बन्दोवस्ती लगायत राज्यले निर्दिष्ट गरेका म्याण्डेटहरुमा परिचालित हुँदा आईपरेका समस्याको पहिचान, सुधारका क्षेत्रहरु, मौजुदा संयन्त्र एवं परिपाटीमा गर्नुपर्ने परिमार्जनमा विश्लेषण तथा गहन अध्ययन र छलफल गरी समाधानको निकास र निचोड निकाल्ने विश्वास व्यक्त गर्नुभयो । दुई दिनसम्म चल्ने कार्यक्रममा प्रधान कार्यालयका बरिष्ठ अधिकृतहरु, प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, बाहिनीपतिहरु, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक र तालिम शिक्षालयका समादेकहरुकोे उपस्थिती रहने छ ।
2079-12-19
APF News
चोरीपैठारीको सामान बरामद
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट चैत्र १९ गते करीव २ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद भएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बरामद गरेको हो । यसैगरी कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ५ डाबर यशोधरा गाउँपालिका ६ रंगपुरबाट चैत्र १९ गते करीव १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद भएको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर र बिओपी मर्यादापुरले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।
2079-12-19