Toggle Menu

समाचार

APF News
बिलविजकमा उल्लेख भए भन्दा बढि सामान भएको तीन वटा ट्रक नियन्त्रणमा:

पर्सा जिल्लाको बिराटनगर महानगरपालिका १४ स्थित चण्डाल चोकबाट असार २९
गते सशस्त्र प्रहरीले करीव १ करोड ३६ लाख ९७ हजार रुपैयाँ बराबरको सामान
सहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।
        विशेष सूचनाको आधारमा खटिएको नम्बर १३ गण पर्साले  बिरगंजबाट पथलैयातर्फ
जाँदै गरेको बा.प्र ०३–१३–००१ ख १९९७, ना. ६ ख ४४४६, ना. ७ ख २३३५
नम्बरको ट्रकमा जाँच गर्दा बिल बिजकमा उल्लेखित मुल्य भन्दा बढि सामान
देखिएपछि नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएका ट्रकहरुमा किसमिस, भटमास, पिल्लो, नेटकटन लगायतका
सामानहरु रहेका   छन् ।
        नियन्त्रणमा लिइएका तीन वटै ट्रक आवश्यक कारवाहीको लागि राजश्व
अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

2080-03-29
APF News
मानवअधिकार सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम समापन

        सशस्त्र प्रहरी बल नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)को
संयुक्त आयोजनामा प्रधान कार्यालयमा संचालित मानवअधिकार सम्बन्धि
प्रशिक्षक प्रशिक्षण तालिम (TOT) असार २९ गते सम्पन्न भएको छ ।
        सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले प्रशिक्षक
प्रशिक्षण तालिम समापन गर्नुकासाथै सफलतापूर्वक तालिम सम्पन्न गर्ने
प्रशिक्षार्थी अधिकृतहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
        सुरक्षा क्षेत्रमा कार्यरत कर्मचारीहरुले मानवअधिकारका विभिन्न
आयामहरुको बारेमा जानकारी राख्न अत्यन्त जरुरी रहेको बताउनुहुँदै उहाँले
भन्नुभयो–‘मानवअधिकारको रक्षा तथा सम्बर्धनको लागि क्रियाशिल रहने हामी
सशस्त्र प्रहरी बल नेपालका सबै सकल दर्जाका कर्मचारीहरु मानवअधिकारका
रक्षक पनि हौ ।’
        उहाँले तालिम प्राप्त सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई तालिमबाट
हासिल गरेका ज्ञान र दक्षतालाई नागरिकको मानवअधिकारको सुनिश्चिताका साथ
कानून कार्यान्वयनमा लाग्न निर्देशन दिनुहुँदै अनौपचारिक क्षेत्र सेवा
केन्द्रले सशस्त्र प्रहरी अधिकृतहरुलाई मानवअधिकार सम्बन्धि प्रशिक्षण
प्रदान गरी कानून कार्यान्वयन विषयमा विभिन्न विज्ञहरु उपलब्ध गराई
सैद्धान्तिक रुपमा कक्षा संचालन गरिदिनु भएकोमा धन्यवाद प्रकट गर्नुभयो ।
        कार्यक्रममा ईन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जुनसुकै क्षेत्रमा
कार्यरत रहेता पनि हामी सबैले मानवअधिकारको संरक्षण तथा सम्मान गर्नु
हामी सबैको दायित्व रहेको बताउनुभयो ।
        यही असार २४ गतेदेखि संचालन भएको तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक
३ जना, सशस्त्र प्रहरी निरीक्षक ११ जना, सशस्त्र प्रहरी नायव निरीक्षक २
जना र सशस्त्र प्रहरी सहायक निरीक्षक ९ जना गरी कुल २५ जना अधिकृतहरुको
सहभागिता रहेको थियो ।

2080-03-29
APF News
श्रोत नखुलेको नेपाली रुपैयाँ सहित एक जना नियन्त्रणमा

        बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह स्थित शर्मा
गल्लीबाट असार २८ गते सशस्त्र प्रहरीले २० लाख नेपाली रुपैयाँसहित एक
जनालाई नियन्त्रणमा लिएको छ ।
        सोही उपमहानगरपालिकाको जयसपुर बस्ने २० वर्षिय सोहेल कुरेशीलाई
प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले उल्लेखित रुपैयाँ सहित
नियन्त्रणमा लिएको हो ।
        भारतबाट नेपालतर्फ आउँदै गरेका कुरेशी चढेको मोटरसाईकल चेक जाँच गर्ने
क्रममा चालक भने मोटरसाईकल सहित भागेका थिए । मोटरसाईकल पछाडी बसेका
कुरेशीले बोकेको सो रकमको श्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएको
हो ।
        नियन्त्रणमा लिइएका कुरेशीलाई बरामद रुपैयाँ सहित आवश्यक कारवाहीको लागि
नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।

2080-03-28
APF News
वीरगंजबाट अन्दाजी १५ केजी चरेशसहित व्यक्ति नियन्त्रणमा

        पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट
अन्दाजी १५ केजी चरेश र एउटा मोटरसाईकलसहित दुई जना व्यक्तिलाई असार २७
गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको   छ ।
        सोही जिल्लाको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ बर्षिय सत्य नारायण
माझी र ४० बर्षिय प्रलाद माझीलाई बीआर २२ एम ४२०६ नम्बरको मोटरसाईकलको
ट्याङकीमा लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद चरेश र मोटरसाईलकसहित आवश्यक
कारवाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझार्ईएको छ ।

2080-03-27
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट गुल्मपति तथा स्टाफ तालिम समापन

        राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन
भएको सि.सं. ३१ गुल्मपति तथा स्टाफ तालिम समापन भएको छ ।
        प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी
महानिरीक्षक राजु अर्यालले असार २६ गते तालिम समापन गर्नुकासाथै
सर्वोत्कृष्ट सशस्त्र प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेललाई पुरस्कार
तथा सफलतापूर्वक तालिम सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई
प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
        उहाँले संगठनको व्यावसायिक छवी त्यहाँ कार्यरत सशस्त्र प्रहरी
कर्मचारीहरुको कार्यदक्षताले निश्चित गर्ने तथा त्यो क्षमता तालिमले
निर्धारण गर्ने बताउनुहुँदै प्रशिक्षणको दौरानमा सिकेका कुराहरुलाई
कार्यक्षेत्रमा लगनशिल, अनुशासित र कर्तव्यनिष्ठ भई संगठनप्रति निष्ठावान
भएर लाग्नुपर्ने बताउनुभयो ।
        महानिरीक्षक अर्यालले सफलतापूर्वक तालिम समापन गरी सशस्त्र प्रहरी बल
नेपालका विभिन्न इकाईहरुमा खटिई जान लागेका अधिकृतहरुलाई कहिकतै पनि
संगठनको अहित हुने काममा नलागि आफू मातहतका कर्मचारीहरुलाई समेत असल
कामको लागि सदैव अभिप्रेरित गरी अगाडी बढ्न निर्देशन दिनुभयो ।
        हामीले गरेका हरेक क्रियाकलापहरुको जनता र राज्यले मुल्यांङ्कन गर्ने
भएको हुँदा जस्तोसुकै अवस्थामा समेत आफूले गरेको कामप्रति थप ईमान्दार र
जवाफदेहि भई लाग्नुपर्ने बताउनुहुँदै महानिरीक्षक अर्यालले
भन्नुभयो–‘समग्र संगठनको हित के मा छ भन्ने कुरा मनन् गरी आफू पनि त्यहि
अनुरुप प्रस्तुत हुँदै मातहतका कर्मचारीहरुमा पनि सकारात्मक सन्देश
प्रवाह गर्नुपर्छ, कार्यक्षेत्रमा असिमित चुनौतीहरु छन्, ती चुनौतीहरुलाई
जुध्ने शक्ति र सामथ्र्य विकास गराउनको लागि नै यस्ता तालिमहरु संचालन
भएका हुन्छन् ।’
        उहाँले कार्यक्षेत्रमा खटिदा व्यक्तिगत स्वार्थ, आग्रह, पूर्वाग्रहलाई
थाँती राखी आफ्नो कमाण्डर र नेतृत्वसँग हातेमालो गर्दै संगठनको विकासमा
एउटै लक्ष्यकासाथ अघि बढ्नुपर्ने बताउनुहुँदै संगठनमा कार्यरत
कर्मचारीहरुलाई करले होईन रहरले जनताको सेवामा जुट्ने अवस्था सिर्जना गरी
हरेक जनताप्रति फरक ढंगले जिम्मेवारी बोध गराउनु पर्ने उल्लेख गर्नुभयो ।
        उहाँले प्रविधिसँगै बदलिदै गएका नविन चुनौतीहरुलाई परास्त गर्न प्राप्त
श्रोतसाधनको अलवा Information र Mobility को तालमेल हुनुपर्ने कुरालाई
मध्यनजर राखि प्रशिक्षण कार्यलाई समयानुकुल थप आधुनिक र बैज्ञानिक
बनाउँदै लैजान प्रशिक्षण प्रतिष्ठान तथा तालिम संचालन गर्ने सम्पूर्ण
युनिटहरुलाई सोही अवसरमा निर्देशन दिनुभयो ।
        महानिरीक्षक अर्यालले राज्य र संगठनले सुम्पिएको जिम्मेवारीलाई
कुशलतापूर्वक निर्वाह गर्दै संगठनलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने
कार्यमा खटिई रहेका प्रशिक्षण प्रतिष्ठान तथा मातहत तालिम शिक्षालयहरु,
विभिन्न विषय विज्ञ महानुभाव तथा प्रशिक्षक वर्गहरुलाई धन्यवाद
दिनुकासाथै आगामी दिनहरुमा समेत अझबढि सिर्जनशिल र सक्रियताकासाथ लागि
रहने विश्वास व्यक्त गर्नुभयो ।
        १२ हप्ता अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३३ जना सशस्त्र प्रहरी
निरीक्षकहरुको सहभागिता रहेको थियो  ।
        कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, राष्ट्रिय सशस्त्र
प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, सशस्त्र प्रहरी
बलका बरिष्ठ अधिकृत, सिनियर अधिकृत, जुनियर अधिकृत, बिल्लादार तथा
जवानहरुको समेत उपस्थिती रहेको थियो ।

2080-03-26
APF News
लागुऔषधसहित एक जना नियन्त्रणमा

        रौतहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टी स्थित बकैया बाँध इलाकाबाट
सशस्त्र प्रहरीले असार २५ गते विभिन्न किसिमको लागुऔषध सहित नियन्त्रणमा
लिएको छ ।
        सोही नगरपालिका १ बस्ने रोहित महतोलाई प्रस्तावित सीमा सुरक्षा गुल्म
गौरले नियन्त्रणमा लिएको हो ।
        भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका महतोले आलु र प्याजको झोलामा
लुकाई छिपाई ल्याउँदै गरेको डाईजापाम ३ सय वटा, फेनारागन ३ सय वटा र
नोफिन ३ सय वटा लागुऔषध फेला पारेको हो ।
        नियन्त्रणमा लिइएका महतोलाई बरामद लागुऔषध सहित आवश्यक कारवाहीको लागि
स्थानीय प्रहरीमा बुझाइएको ।

2080-03-26
APF News
शंकास्पद बिलबिजक भएको १७ लाख भन्दा बढीको ईलेक्ट्रोनिक सामान बरामद 

        बारा जिल्लाको निजगढ नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजकार्गको बकैया
पुल ईलाकाबाट असार २२ गते सशस्त्र प्रहरीले शंकास्पद बिलबिजक भएको १७ लाख
६६ हजार ८ सय ३८ रुपैयाँ बराबरको ईलेक्ट्रोनिक सामान बरामद गरेको छ ।
        विपद् व्यवस्थापन सुरक्षा बेस निजगढले उल्लेखित मूल्य बराबरको १६ वटा
कार्टुन ईलेक्ट्रोनिक सामान बरामद गरेको हो ।
        महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०७४४ नम्बरको
यात्रुबाहक बसमा जाँच गर्दा ईलेक्ट्रोनिक सामानको बिलबिजक शंकास्पद
देखिएपछि बरामद गरिएको हो ।
        बरामद ईलेक्ट्रोनिक सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

2080-03-22
APF News
गन्धकसहित व्यक्ति नियन्त्रणमा:

        कैलाली जिल्लाको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा ईलाकाबाट असार २१
गते सशस्त्र प्रहरीले करीव २९ के.जी. ५ सय ग्राम विष्फोटक पदार्थमा
प्रयोग हुने गन्धकसहित भारत घर बताउने ४२ वर्षिय शिवा गुप्तालाई
नियन्त्रणमा लिएको छ ।
        साईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त
गन्धकसहित उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरले नियन्त्रणमा
लिएको हो ।
        चेकजाँचका क्रममा उनले शुरुमा झोलामा आलु, प्याज रहेको भन्दै भाग्ने
प्रयास गरेका थिए । तर शंकास्पद अवस्थामा देखिएका उनलाई नियन्त्रणमा लिएर
जाँच गर्ने क्रममा गन्धक बरामद भएको हो । के प्रयोजनका लागि गन्धक
ल्याइएको हो भन्ने पत्ता लागेको छैन ।
        नियन्त्रणमा लिइएका गुप्तालाई बरामद गन्धक तथा साईकलसहित आवश्यक
कारवाहीको लागि ईलाका प्रहरी कार्यालय हसुलियामा बुझाईएको छ ।

2080-03-22
APF News
पच्चीस लाख भन्दा बढि मुल्य बराबरको औषधी बोकेको कारसहित व्यक्ति नियन्त्रणमा

       धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ बर्हविगहाबाट असार १९ गते साँझ
सशस्त्र प्रहरीले करीव २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी
बोकेको कारसहित भारत घर बताउने २९ वर्षिय मो ईक्वाललाई नियन्त्रणमा लिएको
छ ।
         बी.आर. ३२ ए.क्यू. १२०२ नम्बरको कारमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै
गरेको उल्लेखित मुल्य बराबरको औषधीसहित उनलाई राजश्व भन्सार सुरक्षा वेश
जनकपुरधामले नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिईएका ईक्वाललाई बरामद औषधी तथा कारसहित आवश्यक कारवाहीको
लागि राजश्व भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाईएको छ ।
 

2080-03-20
APF News
मोटरपार्ट्स तथा मदिरासहित बोलेरो गाडी नियन्त्रणमा

         ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ टासीगाउँ इलाकाबाट असार १६ गते
सशस्त्र प्रहरीले करीव ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
मोटरपार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
        प्रदेश नं. १–०३–००१ ज ००१९ नम्बरको सो गाडीमा राखी भारतबाट अवैध रुपले
ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटरपार्ट्स तथा मदिरा प्रस्तावित
सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको हो ।
        सो गाडीभित्र डिजेल पाईप ८ थान, ब्याक लाईट कभर १० थान, इन्डिकेटर लाईट
२० थान, पुस अटो स्विज २ प्याकेट, कार्वन १० थान, हेडलाईट १ थान,
सिसाफ्रेम १० थान तथा हिट बियर ७२ कार्टुन र सिक्किमे रम ३८ कार्टुन फेला
पारिएको हो ।
        बरामद मोटरपार्ट्स तथा मदिरा गाडीसहित आवश्यक कारवाहीको लागि पशुपतिनगर
भन्सार कार्यालय ईलाममा बुझाईएको छ ।

2080-03-18
APF News
सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न:

 काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा
प्रधान कार्यालय हल्चोक स्वयम्भुमा असार १७ गते सशस्त्र प्रहरी परिवार
महिला संघको २२औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ ।
        उप–प्रमुख डंगोलले सशस्त्र प्रहरी परिवार महिला संघको सेवामुखी
क्रियाकलापको साथै समाज सेवाको पवित्र कार्यमा आफ्नो जीवन समर्पण
गर्नुहुने विभिन्न क्षेत्रका महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभएको
थियो ।
        उहाँले संघले बालक, बृद्धबृद्धा तथा नारी सशक्तिकरणको क्षेत्रमा मात्र
नभई समग्र राज्यको शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद क्षेत्रलाई समेत
प्राथमिकतामा राखी सेवा मुलक कार्यहरु गर्दै आएकोमा खुशी व्यक्त
गर्नुहुँदै सुरक्षा निकाय जस्तो पवित्र संगठनले नागरिकको सेवा, सुरक्षा,
सहयोग र उद्धारको साथसाथै समाज सेवामा पनि समर्पित रहँदै आईरहेको
बताउनुभयो ।
        राज्यको सीमामा दरिलो खम्बा बनेर विपद्, प्रकोपमा परेकाहरुको आशा र
भरोसाका रुपमा रहेका राष्ट्रसेवक सुरक्षाकर्मीहरुका जीवन संगिनीहरुको
त्याग र समपर्ण भावको मुक्त कण्ठले प्रशंसा गर्नुहुँदै उप–प्रमुख डंगोलले
भन्नुभयो–‘नारीहरु संगठित भई कार्य गरे शब्दकोषमा समेत असंभव भन्ने
शब्दको स्थान नै रहँदैन ।’
        उहाँले महिलामा हुने सबै प्रकारका हिंसा र विभेदहरुको विरुद्ध आवाज
उठाउँदै सहभागिता, समानता र समतायुक्त समाजको परिकल्पना साथ अगाडी बढ्ने
प्रतिवद्धता व्यक्त गर्नुहुँदै पुरानो सत्तात्मक समाजमा अधिकार
खोज्नुमात्र समस्याको समाधान नभई भएका अधिकारहरुलाई समेत उपभोग गरी
समतामुलक समाजको निर्माण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले वार्षिकोत्सवको अवसरमा आयोजित
प्रथम महिला हाफ म्याराथन दौड विजयी खेलाडी लगायत महिला राष्ट्रसेवक
सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो

        सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनिता
लामिछाने अर्यालले विभिन्न निजी तथा सामुदयिक विद्यालयबाट एसईई परिक्षामा
उत्कृष्ट अंक ल्याउन सफल छात्रछात्राहरुलाई पुरस्कार तथा प्रशंसापत्र
प्रदान गर्नुहुँदै संघको विभिन्न सेवामुलक कार्यहरुमा सहयोग गर्ने सरकारी
तथा गैरसकारी संघसंस्था एवं महानुभावहरुको अनुकरणीय योगदानप्रति हार्दिक
आभार प्रकट गर्नुभयो ।
        उहाँले कुनैपनि सेवामुलक कार्य एक व्यक्तिको प्रयासले मात्र सहज नहुने
बताउनुहुँदै नारी शसक्तिकरण तथा बालबालिका, बृद्धबृद्धा, शिक्षा,
स्वास्थ्य र वातावरण क्षेत्रमा अगाडी बढ्न सशस्त्र प्रहरी बल नेपाललाई
काठमाडौं महानगरपालिका तथा नगरपालिकाको सहयोग र सद्भाव निरन्तर मिल्ने
अपेक्षा राख्नुभयो ।
        कार्यक्रममा संघकी सदस्य सचिव श्रीमती तुलमाया ठाडामगरले सशस्त्र प्रहरी
परिवार महिला संघको वार्षिक गतिविधि र भावी योजना प्रस्तुत गर्नुभएको
थियो ।
        कार्यक्रममा उपत्यका स्थित महानगर तथा उपमहानगरपालिकाका उप–मेयरहरु,
निजामती कर्मचारी, सैनिक तथा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु,
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, संघका पदाधिकारीहरु लगायत अन्य
संघसंस्थाका पदाधिकारीहरु र सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका
परिवारजनहरुको समेत उपस्थिती रहेको थियो ।

2080-03-17
APF News
हाफ म्याराथन दौडको उपाधी राममाया बुढालाई   

         सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सवको अवसरमा असार १६
गते आयोजना गरिएको ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधी
नेपाल पुलिस क्लवकी राममाया बुढाले हात पारेकी छिन् । उनले १ घण्टा २६
मिनेट ९ सेकेण्डमा २१ किलोमिटर दुरी पार गरि प्रथम भएकी हुन् ।
        प्रधान कार्यालय हल्चोकको रंगशालाबाट सुरु भएको प्रतियोगिता सशस्त्र
प्रहरी महानिरीक्षक राजु अर्यालयको उपस्थितिमा सशस्त्र प्रहरी परिवार
महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले उद्घाटन
गर्नुभएको थियो ।
        प्रधान कार्यालयबाट सुरु भएको  म्याराथन स्वयम्भु, कलङ्की, बल्खु,
सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउण्डबाट सोही रुट फिर्ता
हुँदै स्टार हस्पिटल सानेपा, बल्खु, कलङ्की, सितापाईला, कारखानाचोक भई
पुनः हल्चोक रंगशाला आएर समापन भएको थियो ।
        प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लवकी राममाया बुढाले १ लाख
रुपैयाँ, दोश्रो हुने नेपाल एपीएफ क्लवकी बिन्दाधन्के श्रेष्ठले १ घण्टा
२७ मिनेट २७ सेकेण्डमा निर्धारित दुरी पार गरी ७५ हजार रुपैयाँ तथा
तेस्रो हुने त्रिभुनव आर्मी क्लवकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले १
घण्टा २७ मिनेट ५० सेकेण्डमा पार गरी ५० हजार रुपैयाँ जितेका छन । साथै
चौथो हुने नेपाल एपीएफ क्लवकी आशा राउतले १ घण्टा ३२ मिनेट १८ सेकेण्डमा
पार गरी २५ हजार रुपैयाँ र पाचौं हुने नेपाल पुलिस क्लवकी सुमित्रा
चौधरीले १ घण्टा ३२ मिनेट २८ सेकेण्डमा पार गर्दै १५ हजार रुपैयाँ जितेकी
छन ।
        उपाधी हासिल गर्ने धावकहरुलाई यही असार १७ गते आईतबार वार्षिकोत्सवमा
पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ, छैठौं देखि दशौं
स्थान हासिल गरेका धावकहरुलाई भने आजै पुरस्कार तथा प्रमाणपत्र प्रदान
गरिएको थियो ।
        प्रतियोगितमा त्रिभुवन आर्मी क्लव, नेपाल पुलीस क्लव, नेपाल एपीएफ
क्लवका लगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु तथा देशैभरका
महिला धावकहरु गरी कुल ४२ जना महिलाहरुको सहभागिता रहेको थियो ।

2080-03-16