Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा एसटिएफ तालिम सम्पन्न

         सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा मंसिर २०
गते सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय
लामापाटन पोखरामा संचालित  स्पेशल टास्क फोर्स (एसटिएफ) तालिम सम्पन्न
भएको छ ।
        महानिरीक्षक अर्यालले तालिम शिक्षालयमा आयोजित समापन समारोहमा तालिममा
सर्वप्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक विजय कुँवरलाई
पुरस्कार प्रदान गर्नुकासाथै सफलतापूर्वक तालिम हासिल गरेका
प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र  समेत प्रदान गर्नुभएको थियो ।

2080-08-20
APF News
श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

        श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले सिरहा
जिल्लाको बरियारपट्टी गाउँपालिका ३ चमारटोलस्थित सीमा ईलाकाबाट मंसिर १६
गते एक जनालाई नियन्त्रमा लिएको छ ।
        सोही जिल्लाको बरियारपट्टी गाउँपालिका २ श्रीपुर बस्ने ४२ वर्षिय महोमद
फिरोजलाई उल्लेखित रुपैयाँसहित बिओपी बरियारपट्टीले नियन्त्रणमा लिएका हो ।
        भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको सुरक्षा
फौजले जाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३
वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको हो । उनले सो रकम कहाबाट
कुन प्रयोजनको लागि लिएको भन्ने श्रोत खुलाउन नसेकपछि नियन्त्रणमा लिएको
हो ।
        नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साईकलसहित आवश्यक
कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।

2080-08-17
APF News
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा राहत सामाग्री हस्तान्तरण

        सशस्त्र प्रहरी परिवार महिला संघले भूकम्प प्रभावित परिवारहरुको लागि राहत सामाग्री प्रदान गरेको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री माननीय कृष्णबहादुर जि.सी.लाई संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले मंसिर १३ गते राहत सामाग्री हस्तान्तरण गर्नुभयो ।

        अध्यक्ष लामिछाने अर्यालले गत कार्तिक १७ गते राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ स्थित रामीडाँडा केन्द्रविन्दु बनाई गएको भुकम्पबाट प्रभावित परिवारहरुलाई म्याट्रेस, सिरक डसना, लत्ताकपडाहरु लगायतका राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

        सशस्त्र प्रहरी परिवार महिला संघको आयोजना र सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको समन्वयमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, नं. ६ बाहिनी मुख्यालयका बाहिनीपति प्रदिपकुमार पाल, प्रदेशस्थित सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी अधिकृत एवं विल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।

2080-08-14
APF News
श्रोत खुलाउन नसकेको नेपाली रुपैयाँसहित व्यक्ति नियन्त्रणमा

        पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट मंसिर १२
गते सशस्त्र प्रहरीले १० लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा
लिएको छ ।
        भारतको पूर्वी चप्पारण जिल्ला रक्सौल ७ अहिर्वा टोला घर बताउने २३
वर्षिय उमेश यादवलाई नं. १३ गण पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म
बीरगंजले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
        भारतबाट बीआर ०५ एआर ८१०१ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका
यादवले लगाएको हेल्मेट भित्र लुकाई छिपाई राखेको एक हजार दरको ५ सय वटा र
पाँचसय दरको १ हजार वटा नेपाली नोटको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा
लिएको हो ।
        नियन्त्रणमा लिइएका व्यक्तिलाई बरामद रुपैयाँ र मोटरसाईकलसहित आवश्यक
अनुसन्धानको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।
 

2080-08-13
APF News
शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

       सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा शुभ दिपावली
तथा छठपर्वको अवसरमा नेपाल पूर्व सशस्त्र प्रहरी संघले आयोजना गरेको
जलपान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्ययतामा कार्तिक
२५ गते सम्पन्न भएको सो कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी
महानिरीक्षकहरु, वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षकहरु लगायत बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
        कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्ष राजु अर्यालले सम्पूर्ण वहालवाला
तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुमा नजिकिदै आएको शुभ
दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुहुँदै पूर्व सशस्त्र प्रहरी
संघले राखेको यस्ता कार्यक्रमहरुले एक आपसमा माया र सद्भाव नजिकिदै जाने
विश्वास व्यक्त गर्नुभयो ।
        उहाँले संगठन स्थापना कालदेखि यहाँसम्म आउनु पूर्व अग्रजहरुको योगदान र
कर्तव्य परायणताको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै संगठन बिकास र
विस्तारमा पूर्व सशस्त्र प्रहरी संघबाट आएका सल्लाह सुझावहरुलाई मनन गरी
अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
        कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार
बस्नेतले नेतृत्व वर्गले संगठनमा एउटा रिति र थिति बसाई गरेका हरेक
क्रियाकलापहरु प्रशंसा योग्य रहेको बताउनहुँदै संगठन जति बलियो बन्दै गयो
त्यति नै अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको समेत शिर उच्च रहने
बताउनुभयो ।
        नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी
अतिरिक्त महानिरीक्षक रविराज थापाले आत्मियता र सद्भाव बढाउन यस्ता
कार्यक्रमहरुको आवश्यकता रहेको बताउनुहुँदै पूर्व सशस्त्र प्रहरी संघले
गर्ने हरेक गतिविधिहरु जस्तै शुभकामना आदान प्रदान कार्यक्रमलाई पनि
आगामी वर्षहरुमा समेत निरन्तरता दिने बताउनुभयो ।

2080-07-25
APF News
बाहिनीस्तरीय नेपाल–भारत सीमा समन्वयात्मक बैठक सम्पन्न

       सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय
रुपन्देही र भारतीय सशस्त्र सीमा बल सेक्टर हे.क्वा. लखिमपुर खिरी तथा
सेक्टर हे.क्वा. गोरखपुर बीच कार्तिक २३ गते बाहिनीस्तरीय सीमा
समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
        नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र
प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्री र भारतीय सीमा सुरक्षा बल
(SSB) सेक्टर हे.क्वा. लखिमपुर खिरीका डिआईजी जे डि वशिष्ठ तथा
सेक्टर हे.क्वा. गोरखपुरका डिआईजी अखिलेश्वर सिंहको नेतृत्वमा बैठक
सम्पन्न भएको हो ।
        बैठकमा सीमा सुरक्षा, भन्सार छली अवैध रुपमा हुने सामान ओसार पसारमा
नियन्त्रण, सीमा स्तम्भ मर्मत संभार, मानव बेचविखन तथा अपहरण, हातहतियार
तथा लागुऔषध ओसारपसार नियन्त्रण, सुचना आदानप्रदान गर्ने लगायतका
विषयहरुमा छलफल भएको थियो ।
        कार्यक्रममा नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक
बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठ लगायत
लुम्विनी प्रदेश अन्तर्गत भारतसंग सीमा जोडिएका जिल्लाहरुका गणका
गणपतिहरु र भारतीय सशस्त्र सीमा बलका कमाण्डेन्टहरुको समेत सहभागिता
रहेको थियो ।
 

2080-07-24
APF News
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS) र नेपाल एपीएफ अस्पतालवीच शैक्षिक कार्यक्रम आदन प्रदान सम्बन्धी सम्झौता

         चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS) र नेपाल एपीएफ अस्पतालवीच
शैक्षिक कार्यक्रम आदन प्रदान सम्बन्धी सम्झौता भएको छ । स्वास्थ्य तथा
जनसंख्या मन्त्रालयमा शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
        माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख
आतिथ्यता तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालयको उपस्थितिमा NAMS
का उपकुलपति प्रा.डा. भुपेन्द्र कुमार बस्नेत र सशस्त्र प्रहरी बल
नेपालको तर्फबाट नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी
नायव महानिरीक्षक डा.रुपक महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको
हो ।
        सम्झौतामा शैक्षिक कार्यक्रम आदान प्रदान तथा वृत्तिविकासको लागि
सहकार्य गर्ने उल्लेख छ । यसैगरी नेपाल एपीएफ अस्पतालमा नर्सिङ क्याम्पस
स्थापना गर्ने र मेडिकल कलेजको सम्भाव्यता अध्ययनको योजना समेत रहेको छ ।
        कार्यक्रमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले
पहिलो पटक स्वास्थ्य मन्त्रालयले सुरक्षा निकायलाई समेत विदेश अध्ययनको
कोटा प्रदान गरी नेपाल एपीएफ अस्पतालबाट डा.सुमित्रा थापालाई
थाईल्याण्डमा हुने Seventh Asian and Pacific Population Conference
विषयक कार्यक्रममा मनोनित गरिएको जानकारी दिनुभयो । उहाँले यस प्रकारका
सम्झौताले दुवै निकायवीच शैक्षिक कार्यक्रमको विकासमा उल्लेखनीय योगदान
पुग्ने समेत बताउनुभयो ।
        कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाल एपीएफ
अस्पताललाई मेडिकल कलेजको रुपमा विस्तार गर्ने संगठनको उद्देश्य रहेको
बताउनुहुँदै सीमा क्षेत्रका सर्वसाधारणहरुलाई फाईदा पुग्ने गरी स्वास्थ्य
तथा जनसंख्या मन्त्रालय र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा स्वास्थ्य
सम्बन्धी कार्यक्रमहरु विस्तार गर्ने बिषयमा मन्त्रालयका पदाधिकारीसँग
छलफल समेत गर्नुभएको थियो ।
        कार्यक्रममा स्वास्थ्य सचिव देवकुमारी गुरागाई लगायत मन्त्रालयका
पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति
रहेको थियो ।

2080-07-24
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल एपीएफ र एसएसबी वीचको सातौं समन्वयात्मक बैठकमा सहभागी भई स्वदेश फिर्ता

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सशस्त्र प्रहरी बल, नेपाल
(एपीएफ) र मित्र रास्ट्र भारतको सशस्त्र सीमा बल (एसएसबी) वीच भएको सातौं
नेपाल भारत समन्वयात्मक बैठकमा सहभागी भई बिहीबार स्वदेश फर्कनु भएको छ ।
सो बैठक कार्तिक २० देखि २२ गतेसम्म भारतको नयाँ दिल्लीमा संचालन भएको
थियो ।
        सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु
अर्यालले नेतृत्व गर्नुभएको सो बैठकमा सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षक नारायणदत्त पौडेलको समेत सहभागिता रहेको थियो भने भारतको
सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक रश्मी शुक्लाले नेतृत्व गर्नुभएको
थियो । सो बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल
तथा राष्ट्रिय अनुसन्धान बिभागका बरिष्ठ अधिकृत समेतको सहभागिता रहेको
थियो ।
        बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमावर्ति अपराध
नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायवीच
निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमती भएको छ । यसका
साथै दुबै सुरक्षा निकाय बिच निरन्तर सहकार्य, समन्वय र आपसी हितका
बिषयमा समेत छलफल भएको थियो ।
        यसअघि छैठौँ नेपाल भारत समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हल्चोकमा सम्पन्न भएको थियो ।
 

2080-07-24
APF News
धनुषामा सशस्त्र प्रहरी बल नेपालद्वारा १२ लाख मूल्यभन्दा बढीको अबैध सामान बरामद

       सशस्त्र प्रहरी बल नेपालले धनुषा जिल्लाको विभिन्न स्थानबाट १२ लाख
रुपैयाँभन्दा बढिको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ ।
        जनकनन्दिनी गाउँपालिका–१ ईनर्वास्थित अड्डा टोल ईलाकाबाट सशस्त्र प्रहरी
बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुर मातहत बीओपी ईनर्वाबाट
विशेष सुचनाका आधारमा खटिएको टोलीले कार्तिक २० गते राति ११ बजेको समयमा
३ लाख ७५ हजार मूल्य बराबरको लत्ताकपडा र लत्ताकपडा ल्याउन प्रयोग गरेको
अन्दाजी ४ लाख ५० हजार मूल्य बराबरको मोटरसाईकल समेत बरामद गरेको हो ।
        भारतबाट भन्सार छली ज ११ प ६३२१, प्रदेश २ ०२–००१ प ०२०८ र ज ७ प ८७५६
नम्बरको तीन वटा मोटरसाइकलमा राखेर ल्याउँदै गरेको उल्लेखित
लत्ताकपडासहित मोटरसाइकल बरामद गरिएको हो ।
        साथै कार्तिक २१ गते विहान सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाबाट
खटिएको गस्ती टोलीले जनकपुरस्थित महावीर चोकबाट २ वटा मोटरसाईकलमा अबैध
रुपमा ल्याउँदै गरेको अन्दाजी २ लाख मूल्य बराबरको लत्ताकपडा र लत्ताकपडा
ल्याउन प्रयोग गरेको अन्दाजी २ लाख मूल्य बराबरको मोटरसाइकल समेत बरामद
गरेको छ ।
        सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात तस्करहरु मोटरसाइकल र सामान
छाडी भागेका थिए । बरामद लत्ताकपडा तथा मोटरसाइकल आवश्यक कारबाहीको लागि
जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
        सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा तथा गण मातहत कार्यालयहरुले
चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्रै ६० लाखभन्दा बढी मूल्य
बराबरको अबैध सामान तथा सामान ओसार पसारमा प्रयोग गरिएका सवारी साधनहरु
बरामद गरी आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाएका छन् ।

2080-07-21
APF News
सशस्त्र प्रहरी बल नेपालद्वारा डिजास्टर रिलिफ सिस्टम Disaster relief System (DRS) कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाइयो

सशस्त्र प्रहरी बल नेपालले विपद्को समयमा प्रभावितहरुको लागि प्रयोग गरिने ५ वटा डिजास्टर रिलिफ सिस्टम (DRS) कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।
गत शुक्रबार जाजरकोट जिल्लाको बारेकोट रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित सोही जिल्ला र रुकुम पश्चिमका नागरिकहरुको राहतको लागि डिआरएस कन्टेनर शनिबार त्यसतर्फ पठाईएको थियो । सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट जाजरकोटको लागि ३ वटा र नं. २९ ज्वालामाई गण दाङबाट २ वटा कन्टेर रुकुम पश्चिमको लागि पठाइएको हो । ती कन्टेनरमा उपलब्ध साधनश्रोतबाट सम्बन्धित क्षेत्रहरुमा अस्थायी बसोबासको लागि संरचना निर्माण भईसकेका छन् ।
जाजरकोट जिल्लाको भेरी नगरपालिकास्थित त्रिभुवन उच्च माध्यमिक विद्यालय र सोही नगरपालिका–१ रावतगाउँमा अस्थायी संरचना निर्माण भईसकेका छन् भने रुकुम पश्चिमको सानोभेरी गाउँपालिकामा समेत अस्थायी संरचना निर्माण भईसकेको छ ।
नेपालस्थित अमेरिकन राजदुतावासबाट सहयोग स्वरुप प्राप्त भएको ३३ वटा डिआरएस कन्टेनर मध्ये ३ वटा जाजरकोट र २ वटा रुकुम पश्चिममा पठाइएको हो । बाँकी २८ वटा कन्टेनर ७ वटै प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालय र मातहतका युनिटहरुमा विपद्को समयमा छिटोभन्दा छिटो प्रयोग गर्न सकिने गरी सुरक्षित भण्डारण गरी राखिएको छ । एउटा डिआरएस कन्टेनरमा एक सय जनाको लागि खाद्यान्न बाहेक सम्पूर्ण बन्दोबस्तीका सामान तयारी अवस्थामा राखिएको हुन्छ । जसमा टेन्ट, भाडाकुँडा लगायतका सामाग्री हुन्छन् ।
यसैगरी आइतबार नै नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्रद्वारा उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगल र नं. २२ गुहेश्वरी गण भक्तपुरमा सुरक्षित भण्डार गरी राखिएका १० हजार ७ सय थान टेन्टसहितको तीन वटा कन्टेनर समेत सशस्त्र प्रहरी बल नेपालको सुरक्षामा भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ ।

2080-07-20
APF News
भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको स्वास्थ्य सेवा

गत शुक्रबार जाजरकोट जिल्लाको बारेकोट रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा अंगभंग भएकाहरुको उपचारको लागि सशस्त्र प्रहरी बल नेपालबाट डा. रोशन पराजुली र डा. निश्चल घिमिरेको कमाण्डमा दुई वटा स्वास्थ्यकर्मीको टोली परिचालित छ ।
डा. रोशन पराजुलीको कमाण्डमा खटिएको स्वास्थ्यकर्मीको टोलीले रुकुम पश्चिम जिल्लाको मिसन अस्पताल चौरजहारीमा रहेर घाइतेहरुको उपचार गरिरहेको छ भने डा. निश्चल घिमिरेको टोलीले जाजरकोट जिल्लाको जिल्ला अस्पताल जाजरकोटमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।  
भूकम्पपश्चात नेपाल एपीएफ अस्पताल बलम्बु, काठमाडौंबाट डा. रोशन पराजुलीको कमाण्ड ९ जना रुकुम पश्चिमको लागि र सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट डा. निश्चल घिमिरेको कमाण्डमा ४ जनाको स्वास्थ्यकर्मीको टोली जाजरकोटको लागि खटिएको थियो ।

2080-07-20
APF News
कर्णाली प्रदेशमा भुकम्प, सशस्त्र प्रहरी बल, नेपालको परिचालन:

        गएराती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु
बनाई गएको भुकम्पमा परेकाहरुको खोज तथा उद्धारको लागि जाजरकोट र पश्चिम
रुकुममा ३ सय ६७ जना सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भएका छन् ।
        हालसम्म भुकम्प परी जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३७ जना गरी १ सय ३२
जनाको मृत्यु भएको छ भने १ सय ५५ जनाको उद्धार गरिएको छ ।
        भुकम्पमा परेकाहरुको खोज तथा उद्धारको लागि जाजरकोटमा सशस्त्र प्रहरी बल
नेपाल नंं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट प्रा. सशस्त्र प्रहरी
निरीक्षक डा. निश्चल घिमिरेको कमाण्डमा ४ जना मेडिकल टोली, नं. ३२ गण
सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७० जना, नं. ४२ रिजर्भ गण
बाँकेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २२ जना विपद् व्यवस्थापन
तालिम प्राप्त टोलीसहित २५ जना, आश्रित गुल्म जाजरकोटबाट ७० जना र आश्रित
गुल्म दैलेखबाट २५ जना गरी जम्मा १ सय ९४ जना सशस्त्र प्रहरी कर्मचारीहरु
आवश्यक उद्धार सामाग्रीसहित खटिएको छ ।
        त्यस्तै पश्चिम रुकुममा नेपाल एपीएफ अस्पतालबाट प्रा. सशस्त्र प्रहरी
नायव उपरीक्षक डा. रोशन पराजुलीको कमाण्डमा ९ जना, नं. २९ ज्वालामाई गण
दाङ्गबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २१ जना, नं. ४७ गुल्म
पश्चिम रुकुमबाट १ सय ७ जना, आश्रित गुल्म पूर्वी रुकुमबाट २ जना विपद्
व्यवस्थापन तालिम प्राप्त टोलीसहित ११ जना, आश्रित गुल्म सल्यानबाट २५
जना गरी जम्मा १ सय ७३ जना सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भएका छन्

        सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रहरुमा विपद् उद्धारका दक्ष
जनशक्ति समेत परिचालन गरेको छ भने अन्य युनिटहरुबाट समेत फौज परिचालनको
लागि तयारी हालतमा राखिएको छ ।

2080-07-18