Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल लुम्बिनी प्रदेशस्थित सीमा क्षेत्रको अनुगमनमा, सीमा नाकामा हुनसक्ने अबैध गतिविधि नियन्त्रण गर्न निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी र रोकथाममा कडाईकासाथ लाग्न निर्देशन दिनुभएको छ । 
    साउन १०  गते उक्त जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी,  गण, गुल्म र बोर्डर आउट पोष्ट तथा सुरक्षा पोष्टमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सो निर्देशन दिनुभएको हो ।
    उहाँले सीमा अपराध नियन्त्रण तथा राजश्व चुहावट नियन्त्रण कार्यमा प्रभावकारी रुपमा परिचालित भई नतिजामुखी काम गर्न निर्देशन दिनुहुँदै सीमा ईलाकामा हुने अवैध क्रियाकलाप रोकथाम र नियन्त्रणको लागि समयमा नै योजना बनाई तैनाथ हुनुपर्नेमा जोड दिनुभयो । 
    कार्यक्षेत्रमा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीहरुले सकारात्मक सोच र फरक कार्यशैली अपनाई पूर्ण जिम्मेवारी र बफादारिताकासाथ काम गर्न निर्देशन दिनुहुँदै महानिरीक्षक पौडेलले भन्नुभयो–‘असल मनसायकासाथ गरिएको कामकारवाहीमा भएको कमीकमजोरीको जिम्मा संगठनले लिनेछ ।’
    उहाँले परम्परागत सोच र मानसीकता भन्दा माथि उठेर नतिजा दिने किसिमले काम गर्नुपर्ने बताउनुहुँदै सीमामा बसोवास गर्ने स्थानीय वासिन्दाहरुसँग सुमधुर सम्बन्ध राख्दै सीमा वारपार गर्ने आम नागरिकहरुको सहजताका लागि समेत काम गर्नुपर्ने बताउनुभयो ।
    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा क्षेत्रमा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमको समेत प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बताउनुहुँदै विशेष गरी सीमानाकामा हुुने अवैध चोरीनिकासी तथा लागूऔषध ओसारपसार नियन्त्रण र राजश्व चुहावट लगायतका कार्यलाई उच्च प्राथमिकतामा राखी कार्य गर्नुकासाथै सीमामा हुने अवाञ्छित क्रियाकलापहरु तथा सम्भावित घट्ना दुर्घटनालाई समेत मध्यनजर गर्दै परिचालित हुनुपर्नेमा जोड दिनुभयो । सीमामा हुने अबैध क्रियाकलाप नियन्त्रणमा निर्मम ढंगले लाग्न र कुनै पनि आर्थिक प्रलोभनमा नपर्न उहाँले सीमा क्षेत्रमा कार्यरत सबै दर्जाका कर्मचारीलाई निर्देशन दिनुभयो ।
    उहाँले बर्षातको समयलाई मध्यनजर गर्दै बाढि, पहिरो र डुवान जस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुनसक्ने गरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरुलाई आवश्यक उद्धारका सामाग्रीसहित तयारी हालतमा रहन समेत निर्देशन दिनुभएको छ ।

2083-04-10
APF News
ठूलो परिमाणको लागूऔषधसहित काठमाडौंको गाङखेलबाट तीन जना नियन्त्रण

काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट साउन १२ गते सशस्त्र प्रहरीले ठुलो परिमाणको लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । 
    नियन्त्रणमा लिइएकाहरुमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार शाह, बारा जिल्लाको कलैया–५ घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी      थान–६ बस्ने २४ वर्षीय दिपक राई छन् ।  
    उनीहरूले लागूऔषध भारतबाट अवैध रुपले ल्याई बेचबिखन गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा एपीएफ इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको हो । 
    त्यसबेला सो टोलीले उनीहरूको साथबाट ट्रामाडोल नामक लागूऔषध १ लाख २० हजार क्याप्सुल, बिएसी ७०१७ नम्बर एउटा हात्ती गाडी, बागमती प्रदेश ०१–०२०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन वटा मोबाइल र केही नेपाली रूपैयाँ समेत बरामद गरेको हो ।

2083-04-12
APF News
सशस्त्र प्रहरी बल नेपालका जनशक्ति आफ्नो कार्यमा पूर्ण रुपमा व्यावसायिक र निष्पक्ष हुन जरुरी छ, सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण जनशक्ति आफ्नो कार्यमा पूर्ण रुपमा व्यावसायिक र निष्पक्ष हुन जरुरी रहेको बताउनुभएको छ । 
    साउन ७ गते राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. ३६ गुल्मपति तथा स्टाफ कोर्ष (CCSC)को समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सो कुरा बताउनुभएको हो ।
    उहाँले उत्कृष्ट र सफलतापूर्वक तालिम सम्पन्न गरेका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै तालिममा सिकेका सैद्धान्तिक एवं व्यावहारिक ज्ञानलाई कार्यक्षेत्रमा अक्षरस पालना गर्दै उच्च अनुशासन र मनोवलकासाथ इमान्दार भई सदैव राष्ट्र र संगठनको हितमा कार्य गर्न निर्देशन दिनुभएको छ ।
    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले प्रशिक्षार्थी अधिकृतहरुले सफलतापूर्वक तालिम सम्पन्न गर्नु नेतृत्व विकासका लागि संगठनले गरेको लगानीको पूर्णता भएको उल्लेख गर्नुहुँदै यस तालिमले अधिकृतहरुमा अनुशासन, परिपक्व नेतृत्व, व्यावसायिकता र सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । 
    उहाँले उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै कार्यक्षेत्रमा संगठनमा कार्यरत मध्यम तहका अधिृकतहरुले सही समयमा विवेकपूर्ण र तथ्यमा आधारित निर्णय लिन सकियो भने संगठनले लिएको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सिमित जनशक्ति र स्रोतसाधनका बाबजुद देशको जुनसुकै क्षेत्र र जस्तोसुकै कठिन परिस्थितिमा पनि परिचालन हुनसक्ने शारीरिक, मानसिक, बौद्धिक, नैतिक रुपमा सक्षम र व्यावसायिक जनशक्ति तयार गर्न राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै यस प्रशिक्षण प्रतिष्ठानलाई थप आधुनिकरण र बैज्ञानिक बनाउदै लैजान जरुरी रहेको बताउनुभयो । 
    सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले उक्त कोर्षमा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ्ग र Individual Research Paper तर्फ सशस्त्र प्रहरी निरीक्षक महेश दाहाललाई पुरस्कार तथा सफलतापूर्वक तालिम सम्पन्न गरेका अधिकृतहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । १२ हप्ता अवधिको सो कोर्षमा ३५ जना सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो । 
    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगर र अञ्जनी कुमार पोखरेल, प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापा लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

2083-04-07
APF News
सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा कोर्ष समापन

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको प्रमुख आतिथ्यमा साउन १ गते राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. ३ सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा (PGDSDMS) कोर्ष समापन भएको छ ।
    समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल तथा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रोफेसर डा.दुविनन्द ढकालले ‘बेष्ट एकेडेमीक अवार्ड तथा बेष्ट रिसर्च अवार्ड’ सशस्त्र प्रहरी निरीक्षक अनिल सुवेदी र ‘बेस्ट कम्पनी कमाण्डर’ सशस्त्र प्रहरी निरीक्षक प्रविण फुँयाललाई प्रदान गर्नुभएको थियो ।
    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सफलतापूर्वक तालिम सम्पन्न गर्नुहुने उत्कृष्ट तथा सम्पुर्ण प्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुदै सशस्त्र प्रहरी बल नेपालले आधुनिक तथा बहुआयामिक सुरक्षा चुनौतीहरूको सामना गर्न संगठनलाई प्रविधिमैत्री आधुनिकीकरणको आवश्यकता रहेको उल्लेख गर्नुभयो । 
    उहाँले सशस्त्र प्रहरी बल नेपालको मुख्य जिम्मेवारी मध्ये सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व सङ्कलनमा सहयोग तथा विपद् व्यवस्थापनमा प्रत्यक्ष रूपमा सहयोग पु¥याउने तथा सशस्त्र प्रहरी अधिकृतहरूमा रणनीतिक दृष्टिकोण, सोच, सही निर्णय लिने क्षमता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासँग सम्बन्धित ज्ञान प्रदान गर्ने उद्देश्यले यस कोर्ष संचालन गरिएको बताउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले यस कोर्षले अधिकृतहरूको शैक्षिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, स्रोत व्यवस्थापन र निर्णय लिने क्षमतालाई अभिवृद्धि गर्दै सशस्त्र प्रहरी अधिकृतहरुलाई प्रभावकारी परिचालनका रणनीतिहरू बनाउन, समन्वय तथा नेतृत्वको भूमिका निर्वाह गर्न र नीतिहरूलाई व्यवहारमा उतार्न सक्षम बनाई सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलन र विपद् प्रतिकार्य कार्यहरूमा प्रभावकारी रूपमा परिचालन हुन थप मद्दत पुग्ने बताउनुभयो । 
    समारोहमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा.दुविनन्द ढकालले दिक्षित हुने अधिकृतहरुलाई व्यावासायिक सफलताको हार्दिक बधाई दिनुहुँदै दिक्षित हुनु केवल कोर्षको अन्त्य नभई समपर्ण, अनुशासन र ज्ञानको निरन्तर खोजीको उत्सव रहेको बताउनुभयो । 
    गत असोज २६ गतेबाट गुल्मपति तथा स्टाफ तालिमको पाठ्यक्रम समेत समावेश गरी दुई सेमेष्टरमा संचालन भएको कोर्षमा ४० सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।
    कार्यक्रममा सशस्त्र प्रहरी  अतिरिक्त महानिरीक्षकहरु बंशीराज दाहाल, गणेश बहादुर ठाडा मगर, अञ्जनी कुमार पोखरेल लगायत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

2083-04-01
APF News
प्रतिशोध र अन्धबिश्वासको कारण नारीका हरेक सपनाहरु बोरामा कैद हुन नपरोस्, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम

माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रेम, स्वार्थ, प्रतिशोध र अन्धबिश्वासको कारण नारीका हरेक सपनाहरु बोरामा कैद भएको तथा जिउँदै जल्न परेको बताउनुभएको छ ।
    सशस्त्र प्रहरी परिवार महिला संघको २५औँ वार्षिकोत्सव (रजत महोत्सव)को अवसरमा असार १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले यस्ता अन्यायमा परेका नारीहरुको समग्र हित र कल्याणको लागि छिट्टै नयाँ कानून बनाउनेतर्फ अग्रसर हुने उल्लेख गर्नुभयो ।
    माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले पितृसतात्मक भनेर चिनिदै आएको समाजमा अधिकार खोज्नु मात्र समस्याको समाधान नभएको उल्लेख गर्नुहुँदै सम्पूर्ण नारीहरु प्राप्त अधिकारको उपभोग गर्दै समतामूलक समाज निर्माण गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । 
    अब कुनै नारीको हत्या गर्न तम्सिनेले हजारौ पटक सोच्न परोस् भन्दै माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले भन्नुभयो–‘केही यस्तो बनाउछु लोकले आरोप लगाओस सोविता गौतमले आफ्नै हितमा कानून बनाईछन् । हो सकेभने म आफ्नै हितमा कानून बनाउने छु किनकी म पनि एउटा नारी हु मैले बनाएको कानूनले समग्र नारीको हित र कल्याण हुन्छ भने म त्यो आरोप खेप्न तयार छु ।’
    उहाँले आजको यस विशेष कार्यक्रममा सम्मानित तथा पुरस्कृत हुने महानुभाव लगायत छात्रबृत्ती तथा संगीतबृत्ती प्राप्त गर्ने छात्रछात्राहरुलाई हार्दिक बधाई दिनुहुँदै सशस्त्र प्रहरी परिवार महिला संघले असहाय, दिन दुःखी तथा पीडित नागरिकहरुको सहयोग गर्न सशस्त्र प्रहरी परिवार महिला संघ सदैव अग्रस्थानमा रहेको बताउनुभयो ।
    माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले सामाजिक सेवाका कामहरु कुनै एक व्यक्ति विशेष वा एक निकायले मात्र सम्पादन गर्न सम्भव नहुने बताउनुहुँदै सम्बद्ध सरोकारवाला निकाय, विभिन्न संघसंस्था वा सहयोगी हातहरुकासाथै फराकिलो मन र दयालु पन भएका व्यक्तित्वहरुको खाँचो रहने    बताउनुभयो । 
    उहाँले देशको भूगोलको रक्षा मात्र नभई विपद् प्रकोपमा परेका आम नागरिकहरुको आशा र भरोसाका रुपमा रहेका राष्ट्रसेवक सुरक्षाकर्र्मीहरुका जीवन संगिनीहरुको त्याग र समर्पण भावको मुक्त कण्ठले प्रशंसा गर्नहुँदै सशस्त्र प्रहरी परिवार महिला संघले शहर केन्द्रित मात्र नभई गरीव, दुःखी तथा असहाय एवं प्रकोप पीडितहरुको साथ र सहयोगमा निरन्तर लागि रहेको बताउनुभयो ।
    उहाँले विपन्न वर्ग मात्र नभई सीमान्तकृत समुदाय, बालबालिका, सबलाङ्ग तथा विकालाङ्ग महिला, पुरुष, विद्यार्थी लगायतका गरीव दुःखीहरु सशस्त्र प्रहरी परिवार महिला संघको विभिन्न कार्यक्रम तथा सहयोगबाट लाभान्वित भएको चर्चा गर्नहुँदै आगामी दिनहरुमा समेत सो संघले सेवाका नविन क्षेत्रहरु पहिचान गरी सबैमा समर्पित गर्न थप प्रेरणा र उर्जा मिलोस भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो । 
    सोही अवसरमा माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सावित्रा कुमारी जैसी लगायत विभिन्न संघसंस्थाका महानुभावहरुले संघलाई सहयोग पुर्‍याउने तथा विभिन्न विद्यामा पुरस्कृत हुने महानुभाव तथा छात्रछात्राहरुलाई सम्मान, पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।  
     कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीले माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको उपस्थितीले मानवसेवा, उत्तरदायित्व तथा परोपरकारको पवित्र अभियानमा समर्पित संघका सम्पूर्ण सदस्यहरुमा थप उत्साह, प्रेरणा र उर्जा मिलेको बताउनुहुँदै संघको स्थापना, विस्तार तथा संस्थागत सुदृढीकरणमा विशिष्ट योगदान पुर्‍याउनुहुने पूर्व अग्रज पदाधिकारीहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्नुभयो ।

    सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो वार्षिकोत्सवलाई केवल औपचारिक उत्सवका रुपमा नभई सेवा, सहयोग, प्रेरणा र सामाजिक रुपान्तरणको अवसरको रुपमा ग्रहण गरेको बताउनुहुँदै संघकी अध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीले भन्नुभयो–‘हाम्रा निस्वार्थ सेवा, करुणा र मानवप्रेमले धेरैका आँखामा कृतज्ञाताका आशु झारेको छ भने अनगिन्ती ओठमा मुस्कान फर्काएको छ, यी सबै कुराहरु नै संघको सबैभन्दा ठूलो सम्पत्ति, गौरव र प्रेरणा स्रोत हुन जसलाई अनन्तकालसम्म जोगाई राख्न हामी प्रतिबद्ध रहने छौ ।’
    उहाँले सशस्त्र प्रहरी परिवार महिला संघले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा राहत वितरण, खेलकुद, छात्रवृत्ति, सीप विकास, नारी सशक्तीकरण, सार्वजनिक एवं धार्मिक महत्वका स्थलहरुको सरसफाई, जनचेतनामूलक तथा परोकारी गतिविधिहरु थप प्रभावकारी बनाउँदै लैजानुकासाथै सीमान्तकृत तथा पिछडिएका वर्गसम्म सेवा विस्तार गर्ने अभियानलाई निरन्तर दिनुपर्नेमा जोड दिनुभयो । 
    कार्यक्रममा संघकी उपाध्यक्ष श्रीमती सम्झना राणा दाहालले स्वागत मन्तव्य राख्नु भएको थियो भने संघकी सदस्य सचिव श्रीमती विभुती कट्टेल कार्कीले सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक गतिविधि प्रस्तुत गर्नुभएको थियो ।         
    कार्यक्रममा निजामती कर्मचारी संघकी अध्यक्ष, सैनिक श्रीमती संघकी अध्यक्ष, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, राष्ट्रिय अनुसन्धान विभाग प्रमुखका धर्मपत्नी, सशस्त्र प्रहरी परिवार महिला संघका पूर्व अध्यक्षहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नागर्जुन नगरपालिकाका कार्यबाहक नगर प्रमुख लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, विभिन्न संघसंस्थाका महानुभावहरु तथा सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।

2083-03-17
APF News
सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि विभिन्न उद्धार सामग्रीहरू हस्तान्तरण गरेको छ ।
असार १२ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरलाई सो कम्पनीका कार्यवाहक सिइओ कबि फुयाँलले उक्त सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण गरिएको सामग्रीहरूमा ७ रोल डाइनामिक रोप, ७ रोल स्टाटिक रोप, ७० वटा लक क्याराबिनर, १४ वटा थ्रो ब्याग र ६० वटा प्याडल्स रहेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले सहयोग स्वरुप प्राप्त सामग्रीहरूले विपद् उद्धार टोलीको कार्यक्षमता अभिवृद्धि गर्ने र कठिन परिस्थितिमा जनताको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सिइओ कबि फुयाँलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुरक्षा पूर्व तयारी भन्ने नाराकासाथ विपद्को समयमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई सहयोग पु¥याउनु कम्पनीको उद्देश्य रहेको बताउनुभयो ।

2083-03-12
APF News
कञ्चनपुरको फोरलाईन ईलाकाबाट ३४ लाख रुपैयाँ भन्दा बढीको बीउसहित ट्रक नियन्त्रणमा

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ स्थित फोरलाईन ईलाकाबाट जेठ १२ गते सशस्त्र प्रहरीले ३४ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको खरबुजाको बीउसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
ना ८ ख १९९४ नम्बरको ट्रकमा राखेर महेन्द्रनगरबाट दोधारा चाँदनीतर्फ लैजाँदै गरेको २ हजार २० के.जी. खरबुजाको बीउ सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकी र सीमा सुरक्षा गुल्म देवीस्थानबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको ट्रक र बरामद बीउ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ । ट्रकको भन्सार दाखिला मुल्य ३० लाख कायम भएको छ ।

2083-03-12
APF News
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम संचालन

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीको आयोजना र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोगमा ७ दिने अवधिको विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम संचालन भएको छ ।
    धनकुटा, झापा, सुनसरी र मोरङ्ग जिल्लाका स्थानीय तहमा रहेका नगर प्रहरी तथा स्थानीय वासिन्दाहरुलाई लक्षित गरी असार ९ गतेदेखि विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम संचालन गरिएको हो ।
    सो तालिममा आगलागी, जल उत्पन्न प्रकोप, प्राथमिक उपचार, सिपिआर, रोेप रेस्क्यु, भत्केका घर तथा संरचनाहरुमा खोज तथा उद्धार लगायतका विषयहरुमा सैद्धान्तिक एवं प्रयोगात्मक अभ्यासहरु गराईने छ । 
    तालिम तथा सचेतनामूलक कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा, नं. ३ कंकालिनीमाई गण मोरङ्ग, रंगेली नगरपालिकाको सभाहल, नं. ४ गण सुनसरी, र नं. ६ छिन्ताङ्ग गुल्म धनकुटामा गरी ४ ठाउँमा संचालन गरिने छ । 
    तालिममा प्रत्येक ठाउँका २०/२० जना नगर प्रहरी तथा स्थानिय वासिन्दा गरी जम्मा १ सय जनाको सहभागिता रहेको छ । सो तालिम असार १६ गतेसम्म संचालन हुनेछ । 
    तालिमले विपद्मा परेकाहरुको उद्धार तथा सहयोग र विपद् स्वयंसेवक उत्पादनमा सहयोग पुग्ने विश्वास समेत लिईएको छ ।

2083-03-10
APF News
संगठन सधैँ सहिद परिवारको साथमा छ, सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठन सधैँ सहिद परिवारको साथमा रहेको बताउनु भएको छ । उहाँले सहिदले बगाएको रगत र पसिनाले गर्दा आज संगठन यहाँसम्म आईपुगेको स्मरण गर्नहुँदै सहिदका हरेक परिवारको सुख दुःखलाई साथमा लिएर संगठन अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सहिद परिवारका सदस्यहरुमा आईपर्ने समस्याको समाधानतर्फ अग्रसर रहँदै उनीहरुका आश्रित परिवारलाई के गर्न सकिन्छ भन्ने भावनाकासाथ संगठन लागि रहने बताउनुभएको छ । 
    सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत कार्यालयहरुको निरिक्षण भ्रमणका क्रममा महानिरीक्षक पौडेल पर्वत जिल्लाको कुस्मा नगरपालिका–७ खरेहास्थित सहिद परिवारको घर पुग्नु भई सो प्रतिवद्धता व्यक्त गर्नुकासाथै परिवारका सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान समेत गर्नुभएको थियो । 
    उहाँले आगामी दिनहरुमा समेत सहिदका परिवारहरुसँग निरन्तर भेटघाट गर्ने योजना रहेको बताउनुहुँदै सहिदको परिवारमा परेका समस्या समाधनको लागि सशस्त्र प्रहरी बल नेपालको नजिकको युनिटहरुमा सम्पर्क राख्न समेत अनुरोध गर्नुभयो । उहाँले सहिद परिबारको पारिवारिक जीवन, सन्तानको पढाई लागायतको बिषयमा समेत जानकारी लिनुभएको थियो ।
    यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यकालमा समेत ६÷६ महिनामा हरेक सहिद परिवारसँग नजिकका युनिट बाट भेटघाट कार्यक्रम राख्नुकासाथै सशस्त्र प्रहरी बल नेपालका युनिटहरुको वार्षिकोत्सवमा सहिद परिवारका सदस्यहरुलाई सहभागी गराईने गरिएको थियो ।

2083-03-03
APF News
सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलद्वारा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसँग भेटघाट तथा युनिटपतिहरुलाई निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसँग भेटघाट गर्नुकासाथै सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत युनिटका कमाण्डरहरुलाई सुरक्षा सम्बन्धी आवश्यक निर्देशन दिनुभएको छ । 
    सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २५औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसँग भेटघाट गर्नुभएको थियो ।
     महानिरीक्षक पौडेलले संगठन बहालवाला तथा अवकाश प्राप्त कर्मचारीहरुको अथक मेहनत र पसिनाबाट श्रृजित भएकोले सबै कर्मचारीहरुको हकहितमा कसरी काम गर्न सकिन्छ त्यसमा संगठन अघि बढेको बताउनुभयो । 
    उहाँले बाहिनीस्तरमा ६ महिनादेखि १ वर्षसम्ममा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिने र जिल्लास्तरमा समेत भेटघाट कार्यक्रम राख्नुपर्ने जरुरी रहेको उल्लेख गर्नुहुँदै संगठन वहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुले मात्र नभई अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको प्रयासले समेत संगठन बलियो हुने हुँदा उहाँहरुको सल्लाह, सुझावको समेत अपेक्षा रहेको बताउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले आत्मीयता, देशप्रतिको उत्तरदायित्व हामी सबैमा भएको हुँदा संगठनमा कार्यरत वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको सेवा सुविधाको लागि  प्रदेशस्तरीय अस्पताल स्तरोन्नति  गर्दै जाने संगठनको योजना रहेको बताउनुभयो । 
    उहाँले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसँगको भेटघाटको क्रममा भएका अन्तक्रियाबाट आएका सल्लाह, सुझावहरु मनन योग्य भएको हुँदा संगठनबाट हुनेसक्ने र दिनसक्ने सेवा सुविधाहरु जुनसकै तहका अवकाश प्राप्त कर्मचारीहरुलाई उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
    सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले बाहिनी मातहत युनिटका कमाण्डरहरुलाई जिम्मेवारीमा रहँदा उच्च नैतिकताकासाथ कार्य गर्न निर्देशन दिनुहुँदै अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा परिचालित हुँदा जिम्मेवारीप्रति इमान्दार र प्रतिबद्ध हुनुकोसाथै थप चनाखो नतिजामुखी कार्य गर्न समेत जरुरी रहेको बताउनुभयो ।
    उहाँले विपद्को समयमा सरोकावाला तथा स्थानीय निकायहरुसँग आवश्यक समन्वय र सहकार्यकासाथ परिचालन हुनुपर्नेमा जोड दिनुहुँदै मातहत सशस्त्र प्रहरी कर्मचारीहरुको गुनासो तत्काल समाधान गर्न तथा चेनअफ कमाण्ड समेत कायम गर्न निर्देशन दिनुभयो ।

2083-03-01
APF News
सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २५औँ स्थापना दिवस सम्पन्न

 गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपाल नंं.४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २५औँ स्थापना दिवस असार १ गते सम्पन्न भएको छ । 
    सोही अवसरमा माननीय मुख्यमन्त्री पाण्डेले वार्षिकोत्सवको अवसरमा संचालन गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा टिमलाई ट्रफि, मेडल र प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
    उहाँले यस संगठनले स्थापना कालदेखि नै राष्ट्रको शान्ति र स्थायित्व कायम गर्न तथा सशस्त्र द्वन्द्व व्यवस्थापनमा पु¥याएको योगदान प्रशंसनीय रहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपाल राष्ट्र र नागरिकको जीउ धनको सुरक्षाप्रति संवेदनशील छ भन्ने कुरा विपद्को समयमा परिचालित हुँदाका दिनहरुले प्रमाणित गरेको बताउनुभयो ।
     माननीय मुख्यमन्त्री पाण्डेले सशस्त्र प्रहरी बल नेपाल विपद्को समयमा मात्र नभई अन्तर्राष्ट्रिय सीमा सुरक्षा, भूकम्प, कोरोना महामारी, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, राजश्व तथा भन्सार सुरक्षा, औद्योगिक सुरक्षा, हुल तथा दंगा व्यवस्थापन लगायतका क्षेत्रहरुमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउनुहुँदै यस्ता कार्यले संगठनको व्यावसायिकता, समर्पण र राष्ट्रप्रतिको प्रतिवद्धतालाई उजागर गरेको समेत उल्लेख गर्नुभयो ।
    उहाँले विपद्मा परेका आम नागरिकको जीउ धनको सुरक्षाको खातिर उच्च हिमाली क्षेत्रमा खोज तथा उद्धारको लागि मनाङ जिल्लामा पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरी दक्ष जनशक्ति उत्पादन तथा परिचालन गर्दै आएकोमा थप हौसला प्रदान भएको बताउनुहुँदै गण्डकी प्रदेश सरकारले विपद् प्रतिकार्य क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सुरक्षा निकायहरुलाई आवश्यक उद्धार सामाग्री उपलब्ध गराउँदै आएको र भविष्यमा समेत निरन्तरता दिईने बताउनुभयो ।
    कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले युनिटको स्थापना दिवस एउटा उत्सव र हर्षको घडी मात्र नभई विगतका उपलब्धीहरुको समीक्षा गर्दै भविष्यको लक्ष्यहरुको निर्धारण गर्ने अवसर समेत भएको चर्चा गर्नुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले संगठन प्रतिको समर्पण, कर्तव्यनिष्ठा र सेवाभावलाई थप प्रभावकारी बनाउँदै अघि बढ्नुपर्ने बताउनुभयो । 
     उहाँले विपद् उद्धार कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्धिका साथै विपद् उद्धार सामाग्री उपलब्ध गराउने कार्यमा गण्डकी प्रदेश सरकारको सहयोगप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै प्रदेशका विभिन्न ठाउँहरुमा सशस्त्र प्रहरी बल नेपालका युनिटहरु विस्तार, विपद् व्यवस्थापन वेश स्थापना, रेस्क्यु टावरमा खटिएका टोलीले गरेका कार्यहरु तथा उच्च भू–भाग तथा हिमाली क्षेत्रमा गरेका उद्धारहरु प्रशंसनिय रहेको बताउनुभयो ।
    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले नेपाल भारत तथा नेपाल चीन दुवै अन्तर्राष्ट्रिय सीमा नाकाहरु राष्ट्रिय सुरक्षा, सीमा व्यवस्थापन तथा आर्थिक गतिविधिका दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको बताउनुहुँदै भन्सार नाकाहरुको संवेदनशिलता, तस्करी नियन्त्रण, सीमा अपराध नियन्त्रण तथा राजश्व चुहावट नियन्त्रणमा समेत थप सजगता र प्रभावकारी व्यवस्थापनका साथ परिचालन हुन समेत जरुरी रहेको बताउनुभयो ।
    उहाँले संगठनको नेतृत्व सदैव राष्ट्रसेवक कर्मचारीहरुको हित, कल्याण र बृत्तिविकासमा संवेदनशील र चिन्तनशील रहने उल्लेख गर्नुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु संगठन विकासको साझा लक्ष्यतर्फ अग्रसर रहि आफ्नो कर्तव्यपथमा दृढ, अनुशासित र अविचलित भई कार्य गर्न समेत निर्देशन दिनुभयो ।
    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संगठनप्रतिको निष्ठा, अनुशासन र समर्पणले नै भविष्यका अवसरहरु सिर्जना गर्ने तथा बृत्तिविकासका ढोकाहरु पनि कर्म, क्षमता र योगदानको आधारमा खुल्दै जाने भएको हुँदा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमा खटिदा ईमान्दार, अनुशासित र लगनशील भई लाग्नुपर्नेमा जोड दिनुभयो ।
    

    
    कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले विपद प्रकोप, उच्च हिमाली उद्धार, आगलागी, सडक दुर्घटना, केवलकार लगायतका स्थानहरुमा हुने आकस्मिक दुर्घटनाहरुमा सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो जीउ ज्यान जोखिममा राखी गरेको कार्यको स्मरण गराउनुहुँदै यस्ता कार्यमा खटिदा स्थानीय सरकारको साथै विभिन्न सरोकारवाला निकायहरुबाट गुणस्तरीय उद्धार सामाग्री उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो । 
    कार्यक्रममा उपस्थित विशिष्ट महानुभाव तथा पदाधिकारीहरुले सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीलाई सहयोग पु¥याउने संघसंस्था तथा महानुभाव, विभिन्न खेल प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा टिम, वर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु, अमर सशस्त्र प्रहरीका परिवारजनहरुलाई कदरपत्र तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
    कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज गुरुङ्ग, नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटा लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत विभिन्न संघसंस्थाका महानुभाव, स्थानीय भद्रभलाद्मी, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

2083-03-01
APF News
काभ्रेपलाञ्चोक जिल्लाको बुचाकोटमा यात्रुवाहक बस दुर्घटना

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा जेठ २९ गते यात्रुवाहक बस दुर्घटना भएको छ । सो दुर्घटनामा परी घाईते भएका १५ जनालाई उद्धार गरिएको छ भने ८ जनाको घटनास्थलमा मुत्यु भएको छ ।
बनेपाबाट रोशीको खाड्पाचोक जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई सडकबाट करीव ३ सय मिटर तल खसेको थियो ।
सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेबाट सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी र विपद् व्यवस्थापन बेश भकुण्डेबाट सशस्त्र प्रहरी निरीक्षक सुनिल लामाको कमाण्डको टोली उद्धारका लागि खटिएको थियो ।
उद्धार पश्चात घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाईएको छ । मृत्यु हुनेमा ४ जना महिला र ४ जना पुरुष रहेका छन् । 

2083-02-29
APF News
विपद्को कठिन घडीमा नागरिकले खोज्ने भरोसाको रुपमा स्थापित गराउन विपद् व्यवस्थापन तालिम शिक्षालयको भूमिका महत्वपूर्ण रहेको छ, सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्को कठिन घडीमा नागरिकको भरोसाको रुपमा सशस्त्र प्रहरी बल नेपाललाई स्थापित गराउन विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।
   जेठ २८ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा नवनिर्मित स्विमिङ्गपुलको उद्घाटनको क्रममा महानिरीक्षक पौडेलले सो कुरा बताउनुकासाथै शिक्षालयले स्थापना कालदेखि नै विपद् जोखिम न्यूनिकरण, उद्धार, प्रतिकार्य तथा मानवीय सेवाका क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउँदै आएको बताउनुभयो ।
   उहाँले देशका विभिन्न भागमा आईपर्ने प्राकृतिक तथा मानव सिर्जित विपद्का घटनामा विपद् व्यवस्थापन तालिम शिक्षालयबाट प्रशिक्षित जनशक्तिले साहस, समर्पण र व्यावसायिक दक्षताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउनुहँुदै नवनिर्मित स्विमिङ्गपुलले गोताखोरको थप क्षमता बृद्धि गर्न तथा जल उद्धार सम्बन्धी तालिमलाई अझ प्रभावकारी, व्यावसायिक र नतिजामुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
   सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले कुनै पनि सुरक्षा संगठनमा वास्तविक जनशक्ति केवल इच्छाशक्ति र समर्पणले मात्र तयार हुँदैन, त्यसका लागि गुणस्तरीय तालिम, आधुनिक पूर्वाधार तथा समयानुकुल प्रविधियुक्त उपकरणहरुको समेत उत्तिकै आवश्यकता रहने उल्लेख गर्नुहुँदै राष्ट्रको गौरवको रुपमा रहेका गोताखोर र उच्च भू–भाग तथा हिमाली उद्धारक लगायत अति जोखिमयुक्त उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराउन गृहमन्त्रालयबाट समेत सकारात्मक ढंगले अघि बढेको बताउनुभयो ।
   उहाँले सशस्त्र प्रहरी बल नेपालका गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु सेती नदिको गहिरो खोचदेखि त्रिशुली नदिको उर्लदो भेल र जोखिमपूर्ण जलक्षेत्रमा आफ्नो जीवनको समेत प्रवाह नगरी नागरिकको जीवन रक्षाको लागि प्रदर्शन गरेको साहस र समर्पणले सम्पूर्ण राष्ट्रलाई गौरवान्वित बनाएको चर्चा गर्नुहुँदै यस्ता दक्ष जनशक्ति तथा समर्पित उद्धारकर्मी उत्पादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा शिक्षालयप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
   कार्यक्रममा गोरखा जिल्लाको पालुङटार नगरपालिका प्रमुख बिवश चिन्तनले सशस्त्र प्रहरी बल नेपालका गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त उद्धारकहरुलाई घटना भएको आधा घण्टाभित्र पुग्ने गरी देशको विभिन्न ठाउँमा राख्नुपर्नेमा जोड दिनुहुँदै त्यस्ता उद्धार कार्यमा स्थानीय निकाय र सशस्त्र प्रहरी बीचको सहकार्य अत्यन्तै जरुरी रहेको बताउनुभयो ।
   त्यस्तै चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जल उत्पन्न तथा नदिजन्य प्रकोपको जोखिममा परेका नागरिकको उद्धारको लागि पूर्व अभ्यास गर्ने ठाउँ निर्माण हुनु अत्यन्तै सकारात्मक रहेको बताउनुभयो । 
   राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले सशस्त्र प्रहरी बल नेपाल र वाणिज्य बैंकको सहकार्यले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गर्दै आएको हुँदा यस विपद् व्यवस्थापनको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा समेत सहयोग पुग्ने बताउनुभयो । 
   सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले स्विमिङ्गपुल निर्माणमा सहयोग पु¥याउने विभिन्न संघसंस्थाका महानुभाव तथा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

2083-02-28
APF News
मोरङबाट ९ सय २२ किलोग्राम गाँजा बरामद

सशस्त्र प्रहरीले मोरङ जिल्लाको जहदा गाउँपालिका–७ स्थित महादेवकोल ईलाकाबाट जेठ २८ गते करीब ९ सय २२ के.जी. गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म सोराभाग र बोर्डर आउट पोष्ट नोचाबाट खटिएको टोलीले जेठ २७ गते राती ११ बजे पाएको विशेष सूचनाको आधारमा उक्त गाँजा बरामद गरेको हो ।
लक्ष्मिनियाबाट तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीमा धानको भुसको बोराले छोपेर लुकाई छिपाई लैजाँदै गरेको उल्लेखित परिमाणको २९ पोका गाँजा बरामद गरिएको हो । उक्त गाडीलाई स्कटिङ गर्ने बीआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ । गाडी र मोटरसाईकल चालक भने फरार भएका थिए ।
नियन्त्रणमा लिइएको गाडी, मोटरसाईकल र बरामद गाँजा सम्बन्धित निकायमा बुझाईएको छ ।

2083-02-28