Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ :–

सुनसरी,
        सुनसरी जिल्लाको हरिहर गाँउपालिका २ नहर चोकबाट बैशाख १३ गते एपीएफ
टोलीले ८१ वटा डाईलेक्स डिसी नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ

        पक्राउ पर्नेमा भारतको अरैया जिल्ला भेलाई ग्रामपञ्चायत घर बताउने २५
वर्षिय मोहमद ईरखान छन् ।
        उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा पोष्ट भोटाहाबाट खटिएको एपीएफ
टोलीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
        भारतबाट नेपालतर्फ आउँदै गरेका निज ईरखानलाई शंका लागि जाँच गर्दा उनको
साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
        पक्राउ परेका ईरखानलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाइएको छ ।

2076-1-14
APF News
सुन जस्तो देखिने करीब ७ के.जी. पहेलो धातुसहित पक्राउ –

रसुवा, 
    रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिका २ टिमुरे घट्टेखोलास्थित स्याउ पार्किङमा स्याउ लोडि गरी रोकी राखेको एक कन्टेनरबाट बैशाख १० गते एपीएफ टोली र स्थानीय प्रहरीले करीब १ के.जी. लेखिएको ७ वटा सुन जस्तो देखिने पहेलो धातुसहित एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सोही जिल्लाको नौकुण्ड गाँउपालिका १ बस्ने ३० वर्षिय शेर ग्लवो घले छन् । 
    सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रसुवा नम्बर २१ गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जिवन के.सी.को कमाण्डमा खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उक्त धातुसहित उनलाई पक्राउ गरेको हो । 
    ना. ६ ख ९०६८ नम्बरको स्याउ लोड गरेको ट्रकमा जाँच गर्दा क्याविनको सिलिङ बत्ती भित्र लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित धातुसहित सो ट्रक समेत बरामद गरिएको हो ।   

2076-1-11
APF News
हावाहुरीको कारण फेलातालमा अलपत्र परेका तीन जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार

कास्की,
        कास्की जिल्लाको पोखरा महानगरापालिका ६ लेकसाईड स्थित फेवातालमा एक्कासी
आएको हावाहुरीको कारण सो तालमा बोटिङ्ग गरिरहेको एक डुंगामा पानी पस्न गई
अलपत्र परेका तीन जनाको एपीएफ टोलीले बैशाख ०५ गते सकुशल उद्वार गरेको छ

        सो घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण
हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ
टोलीले उनीहरुको उद्वार गरेको हो ।
        एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका सप्तरी जिल्लाको राजविराज
वस्ने ४० वर्षिय बोलबम चौरसीया, २८ वर्षिय पुन्दन चौरसीय र १२ वर्षिय भाष
चौरसीयालाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा
खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरी सो तालबाट बाहिर निकालेको हो ।

2076-1-8
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित दुई जना पक्राउ – 

बारा, 
    बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ३ खुदियाटोलास्थित सीमा ईलाकाबाट बैशाख ४ गते एपीएफ टोलीले करीब ११ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडिमेड कपडासहित दुई जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा भारतको पूर्वी चम्पारण तेलकुँवा १ घर बताउने २७ बर्षिय नाझा यादव र भारतकै मोतिहारी घर बताउने ३२ वर्षिय मुनिलाल पटेल छन् । 
    उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त कपडासहित पक्राउ गरेको हो । 
    भारतबाट अवैध रुपमा भन्सार छली ना. १ त ७७६० र ना. ४ त ३३२८ नम्बरका ट्रयाक्टरको ट्रलि मुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त कपडा बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएकोे हो ।
एपीएफ टोलीले त्यसवेला उक्त कपडा ल्याउन प्रयोग भएको दुईवटै ट्रयाक्टर समेत बरामद गरेको छ । 
 

2076-1-5
APF News
सशस्त्र प्रहरी बलको गोतोखोरले नदीबाट शब निकाल्यो

बार्दिया, 
    बर्दिया जिल्लाको मधुवन नगरपालिका ३ कोडियाघाटस्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जनाको शब सशस्त्र प्रहरी बलको गोताखोरसहितको एपीएफ टोलीले बैशाख ३ गते नदीबाट बाहिर निकालेको छ । 
    कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका बस्ने १९ वर्षिय प्रज्ज्वल कोईराला र बाँके जिल्लाको कोहलपुर नगरपालिका बस्ने १८ बर्षिय दिपेन्द्र कार्की बैशाख १ गते उक्त नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए । 
    सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटार चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिरेन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको एपीएफ टोलीले खोजी कार्य सुरु गरेको थियो । 
    सो टोलीले उक्त शब डुबेको स्थानभन्दा करीब तीन सय मिटर तल सो नदीमा तैरिरहेको अवस्थामा फेला पारी नदीबाट बाहिर निकालेको हो । 

2076-1-4
APF News
सशस्त्र प्रहरी बलबाट भएगरेका कामकारवाही सम्बन्धमा पत्रकार सम्मेलन – 

काठमाडौं, 
    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सशस्त्र प्रहरी बललाई प्राप्त कार्यादेश अनुरुप संगठनबाट हालका दिनहरुमा भएगरेका कामकारवाही सम्बन्धमा जानकारी गराउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले विभिन्न प्रकृतिका सुरक्षा चुनौतीलाई सामना गर्न तथा प्रभावकारी सुरक्षा व्यवस्थाका लागि देशको सबै स्थानमा संगठनको उपस्थितिको आवश्यकता महसुस गरी संगठनको पुनर्संरचना गरिएको बताउनुभयो । उहाँले संगठनको पुनर्संरचना गरी विगतमा ५८ जिल्लामा उपस्थिति रहेको सशस्त्र प्रहरी बललाई देशका सबै जिल्लाहरुमा तैनाथ गरिएको स्मरण गराउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले भर्ना छनौट कार्यलाई सहज, सरल र पारदर्शी बनाईएको उल्लेखि गर्नुहुँदै २०७५ साल भरिमा कूल ३ हजार ५ सय ६४ जना विभिन्न दर्जामा भर्ना लिईएको तथा हाल ३ हजार ४ सय १ जना भर्ना छनौट प्रकृयामा रहेको बताउनुभयो । विगतमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय तथा मुख्यालयहरुबाट मात्रै दरखास्त आव्हान गरिँदै आएकोमा भर्नामा सवैको पहुँचलाई सुनिश्चित गर्न ७ वटा हिमाली जिल्ला, ३० वटा पहाडी जिल्ला र तराईका २१ जिल्ला गरी ५८ जिल्लाबाट आवेदन माग गर्नुका साथै स्थानीय भाषामा प्रचार प्रसार समेत गरिएको कुरा पत्रकार सम्मेलनमा उहाँले उल्लेख गर्नुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले दण्ड र पुरस्कारको नीति अवलम्बन गर्नुका साथै विपद् जोखिम न्यूनिकरणका क्षेत्रमा, सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने महानुभावहरुलाई संगठनको तर्फबाट सम्मान गर्ने कार्यको थालनी गरिएको, सशस्त्र प्रहरी बल नेपालले परिचालनका क्षेत्रहरुमा अपेक्षाकृत उपलब्धी हासिल गरेको, संगठनको कल्याणकारी कार्यलाई अझै प्रभावकारी तथा पारदर्शी तुल्याईएको, दुर्गम स्थानका नागरिकका दुई जना सन्ततीलाई नेपाल एपीएफ स्कुलमा निःशुल्क अध्ययनको व्यवस्था मिलाईएको, चोरीपैठारी निकासी नियन्त्रण कार्यलाई प्रभावकारी बनाईएको, नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपतविपद्मा उद्धार कार्यमा शिघ्र परिचालन हुने संयन्त्रको विकास गरिएको लगायतका विविध कामकारवाहीमा भएका उपलब्धीबारे चर्चा गर्नुभयो । 
    आर्थिक पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कडाईका साथ पालना गराईएको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले गत वर्ष २.९९ प्रतिशत बेरुजु फछ्र्यौट भएकोमा अहिले दोस्रो चौमासिकसम्म आईपुग्दा ४३.७७ प्रतिशत बेरुजु फछ्ुर्यौट गरिएको बताउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति, सुरक्षा तथा अमनचयन कायम राखी सुशासन बनाई राख्न देशभर रहेका एपीएफ ईकाईमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु अहोरात्र खटिईरहेको चर्चा गर्नुहँदै ईमिडियट रेस्पोन्स टीम, चेकप्वाईन्ट, पिकेट तथा गस्ती गरी दैनिक रुपमा कूल १ हजार ८ सय ३४ टोली परिचालित रहेको, दैनिक रुपमा करीब १४ हजारको संख्यामा सशस्त्र प्रहरी कर्मचारी नियमित ड्युटीमा खटिएको, लङ्ग रेञ्ज पट्रोल तथा फोर्स मार्चमा ६ सय ४६ टोली परिचालन गरिएको तथा यसबाट ‘र्हाइवे’ मा हुन सक्ने लुटपाट, चोरी, डकैतीको कुनै पनि घटना नभएको उल्लेख गर्नुभयो ।
    सशस्त्र प्रहरी बल नेपालले एक वर्षको अवधिमा विभिन्न खालका २८ वटा अवैध हतियार बरामद  गर्नुका साथै गोली २ सय ९५ राउण्ड, म्यागजिन १३ वटा, बारुद एक सय ग्राम, डेटोनेटर ३३ वटा, ग्रिनेट ६० वटा, जिलेटिन २६ वटा तथा पाँच कार्टुन जिलेटिन लोला बरामद गरिएको तथा विभिन्न अपराधमा संलग्न ६ सय ८६ जनालाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाईएको कुरा समेत सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले जानकारी गराउनुभयो । उहाँले विभिन्न वन्यजन्तुको उद्धार गरिएको तथा देशका विभिन्न एक सय स्थानमा ईमिडियट रेस्पोन्स टीम तैनाथ गरिएको कुरा समेत उल्लेख गर्दैै सो टीममा उपलब्ध भएसम्म सशस्त्र प्रहरी बलको स्वास्थ्यकर्मी तथा एम्बुलेन्स समेत राखिएको बताउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले एक वर्षको अवधिमा सीमा अपराध नियन्त्रणमा गरिएका प्रयासबारे उल्लेख गर्नुहुँदै विभिन्न तहमा समकक्षीवीच भएको बैठकको संख्याबारेमा समेत जानकारी गराउनुभयो । उहाँले छिमेकी मुलुकका सुरक्षाकर्मीसँग समानान्तर एवं संयुक्त गस्ती गर्ने गरिएको तथा विभिन्न चाडपर्वमा सीमा नाकाहरुमा १ सय ६९ स्थानमा सहायता कक्ष स्थापना गरी १० हजार ५ सय ७५ जना यात्रुहरुलाई सहयोग पु¥याइएको बताउनुभयो । 
    विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरणतर्फ सशस्त्र प्रहरी बलले विभिन्न प्रयासहरु गरिरहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले एक वर्षको अवधिमा ६ हजार ५७ जनालाई जीवितै उद्धार गर्नुका साथै मृत्यु भएका १ हजार ४ जनाको शब निकालिएको तथा उद्धार कार्यमा करीब २१ हजार सशस्त्र प्रहरी कर्मचारी परिचालित भएको बताउनुभयो । 
    उहाँले सशस्त्र प्रहरी बलको सूचना प्रविधितर्फ प्रसस्त सुधार गरिएको बताउनुहुँदै विभिन्न एपीएफ ईकाईसँग आन्तरिक नेटवर्क जडान गरिएको, सर्विलेन्स सिस्टममा सुधार गरिएको, भिडियो कन्फरेन्सको क्षमता विकास गरिएको, सशस्त्र प्रहरी बलको तालिम पाठ्यक्रममा सुधार गरिएको, लगाएतका विविध कामकारवाहीहरुमा समयानुकुल सुधार गरिएको कुरा समेत उल्लेख गर्नुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनको आगामी योजना सम्बन्धमा चर्चा गर्नुहँुदै बोर्डर आउट पोष्टको संख्या अझै बृद्धि गर्ने पहल गर्ने लगायत थप गुल्म स्थापना गर्न पहल गर्ने, विपद् दुर्घटना तथा प्रकोपको अवस्थामा खोज तथा उद्धार क्षमतामा बृद्धि गर्नुका साथै उद्धार कार्यलाई आधुनिक तथा प्रविधि मैत्री बनाउन पहल गर्ने लगायतका विविध प्रकृतिका आगामी योजनाहरुबारे समेत उल्लेख गर्नुभयो । 
 

2076-1-3
APF News
हेरोइन जस्तो देखिने ६ पुरिया धुलोसहित दुई जना पक्राउ

पूर्वी नवलपरासी,
        पूर्व नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाँउपालिका ७ स्थित ब्यारेज पुल
ईलाकाबाट चैत्र २९ गते एपीएफ टोली र स्थानीय प्रहरीले हेरोईन जस्तो
देखिने ६ पुरिया धुलोसहित दुई जनालाई पक्राउ गरेको छ ।
        उक्त ६ पुरिया धुलोको तौल करीब आधा ग्राम रेहेको छ ।
        पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षिय विक्रम लामा र २२ वर्षिय
प्रभात बुढाथोकी छन् ।
        सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिनय त्रिवेणीबाट खटिएको
एपीएफ टोली र स्थानीय प्रहरीले निजहरुलाई पक्राउ गरेको हो ।
        लु. १८ प ४४५७ नम्बरको स्कुटीमा भारतबाट नेपालतर्फ आउँदै गरेको बेला
उनीहरुलाई पक्राउ गरिएको हो ।
        पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

2075-12-29
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गणपति तालिमको समापन तथा गुल्मपति तथा स्टाफ तालिम उद्घाटन

काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ३ गणपति तालिम समापन गर्नुका साथै मंगलबारदेखि सोही प्रतिष्ठानमा संचालन हुने सि.सं. २१ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको उद्घाटन गुर्नभयो ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा चैत्र २६ गते आयोजित उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले गणपति तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै यस्ता तालिमबाट प्राप्त ज्ञान तथा कौशलले सुरक्षाकर्मीहरुको व्यावसायीक क्षमतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा खटिँदा आपूm मातहतका कर्मचारीहरुलाई कुशल रुपमा परिचालनगरी उत्कृष्ट कार्यसम्पादनमा सघाउ पुग्ने बताउनुभयो । 
उहाँले यस्ता पेशागत तालिमले वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्नुहुँदै  शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य जनशक्ति तयार भई कार्यक्षेत्रमा आउन सक्ने चुनौतीहरुको सहज रुपमा सामना गर्न सक्ने कुशल कमाण्डर उत्पादन हुने बिश्वास व्यक्त गर्नुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिमबाट बढीभन्दा बढी ज्ञान आर्जन गर्नेतर्फ ध्यान पु¥याउँदै व्यक्तित्व बिकासमा क्रियाशिल रहनुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । 
    सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तब्यको क्रममा संगठनलाई प्राप्त जिम्मेवारी कुशल रुपमा निर्वाह गर्न सक्ने क्षमतावान र व्यावसायीक अधिकृत उत्पादनका लागि यस्ता तालिम अपरिहार्य रहेको चर्चा गर्नुभयो । 
    उहाँले राष्ट्र र संगठनले लिएको उद्देश्य परिपूर्तिका लागि प्रतिष्ठानले विभिन्न आधारभूत, पेशागत र अनिवार्य तालिमहरु प्रभावकारी ढंगबाट निरन्तर रुपमा संचालन गर्दै आइरहेको बताउनुभयोे । 
    करीब दुई महिना अवधिको गणपति तालिममा कूल ३५ जना प्रशिक्षार्थीहरु सहभागि रहेका थिए ।
    यसैगरी करीब तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३७ जना प्रशिक्षार्थीहरु सहभागि रहेका छन् ।       
गणपति तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक होमबहादुर ज्ञवाली सर्वप्रथम भएका छन भने सोधपत्रतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक धनबहादुर बानिया उत्कृष्ट ठहरिएका छन् ।

2075-12-26
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ

रुपन्देही, 
    रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ वेलहिया ईलाकाबाट चैत्र २५ गते एपीएफ टोलीले करीब १ लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा भारतको महाराजगंज २७ जगनाथपुर घर बताउने २३ बर्षिय ममताज कुरैसी छन् ।  
    अवैध रुपले भन्साल छली ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लेडिज जुत्तासहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
    पक्राउ परेका निज कुरैसीलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

2075-12-25
APF News
लागूऔषधसहित चार जना पक्राउ

दार्चुला,
    सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा दार्चुला नम्बर ५० गुल्मबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले दार्चुला जिल्लाको महाकाली नगरपालिका ४ पुलघाट ईलाकाबाट चैत्र २५ गते विभिन्न किसिमको लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा सोही जिल्लाको दुहु गाँउपालिका ५ वस्ने अर्जुन बडाल, लोकेन्द्र बम, सुशिल कुँवर र महाकाली नगरपालिका ५ बस्ने तरुरी ऐरी छन् । 
    उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा १ सय १० ग्राम चरेस, कोरेक्स एक बोतल तथा नाइट्रोभेट ट्याब्लेट तीन वटा फेला परेपछि पक्राउ गरिएको हो । 
    पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

2075-12-25
APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठबाट सशस्त्र प्रहरी जवान आधारभूत तालिम समापन

काठमाडौं,
    सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हे.क्वा. (बिशेष कार्यदल) बगलामुखी काठमाडौंमा संचालित सि.सं. २२६ (ड) सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठले आईतबार सोही गणमा आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गर्नुभयो । 
त्यस अवसरमा उहाँले तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी जवान भक्तबहादुर पेग्नी, शारीरिक सहिष्णुतातर्फ प्रथम हुन सफल सशस्त्र प्रहरी जवान जगत बहादुर बगाले, चाँदमारीतर्फ प्रथम भएका सशस्त्र प्रहरी जवान किरण तामाङ र कवाजतर्फ प्रथम भएका सशस्त्र प्रहरी जवान दिवस तामाङलाई पुरस्कार समेत प्रदान गर्नुभयो । 
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले सो अवसरमा सशस्त्र प्रहरी बल, नेपालमा नव प्रवेशी प्रशिक्षार्थी जवानहरुले लामो समयको कठिन तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई दिनुहुँदै उहाँहरुलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्नुभयो । 
उहाँले आधारभूत तालिमबाट प्राप्त ज्ञान, शिप, कला र कौशलले प्रशिक्षार्थीहरुको व्यावसायीक दक्षतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा गएपछि आईपर्ने विभिन्न जिम्मेवारी तथा चुनौतीहरुको सामना गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बल, नेपाल राष्ट्रको एउटा महत्वपूर्ण सुरक्षा निकायको रुपमा रहेको चर्चा गर्नुहुँदै राज्य प्रदत्त जिम्मेवारी निर्वाहको क्रममा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले सीमा अपराध नियन्त्रण, विपद् प्रकोपमा उद्धार, राजश्व चुहावट नियन्त्रण लगाएतका विभिन्न जिम्मेवारीहरुमा उत्कृष्ट कार्यसम्पादन गरिरहेको चर्चा गर्नुभयो । 
उहाँले राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा ईमान्दारिकासाथ कटिबद्ध रहन दिक्षित सशस्त्र प्रहरी जवानहरुलाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रत्न पोख्रेलले धन्यवाद ज्ञापनको क्रममा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी तालिमलाई समयानुकुल व्यवहारिक एवं बैज्ञानीक ढंगले संचालन गरिएको बताउनुभयो । 
तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक रामहरी अधिकारीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै करीब नौ महिना अवधिको उक्त तालिममा प्रशिक्षार्थीहरुलाइ ड्रिल, मानवअधिकार, नक्सा अध्ययन, हुल तथा दंगा व्यवस्थापन, हतियार ह्याण्डलिङ, युद्धकला लगायतका विविध विषयहरुमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइएको बताउनुभयो । 
उक्त तालिममा १ सय २९ जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । 
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुका साथै स्थानीय भद्रभलादमी तथा प्रशिक्षार्थीहरुका अभिभावकवर्गको उपस्थिति रहेको थियो । 
 

2075-12-24
APF News
एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित पक्राउ

सप्तरी, 
    सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका ३ गोबिन्दपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले एउटा कुटवा पेस्तोलसहित एक जनलाई चैत्र २२ गते पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल डगमारा ग्राम १२ घर बताउने २३ बर्षिय रमेश कुमार मण्डल छन् । 
    उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रबहादुर थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
    भारततर्फ पैदल जाँदै गरेका निज मण्डललाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त पेस्तोल फेला परेपछि पक्राउ गरिएको हो ।

2075-12-22