सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न
काठमाडौं,
बडादशैंको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा असोज २० गते सशस्त्र प्रहरी बल, नेपालको निशान तथा मौलो पुजा सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट पुजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो ।
बिहान ७ बजेर ११ मिनेटको पुजाको संकल्प साइतमा गरिएको निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो ।
सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले बडादशैंको अवसरमा महानवमीको दिन हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले मौलोपुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा एपीएफ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।
2076-06-20