Toggle Menu

समाचार

APF News
लागूऔषधसहित पक्राउ

काठामाडों,
पूर्वी नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ स्थित ब्यारेज पुलबाट माघ ७ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ बस्ने २८ वर्षिय संदीप कार्की र पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने ३७ वर्षिय नविन सुनार छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निजहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो ४८ वटा र नाईट्रोजन ट्याब्लेट १५ वटा फेला परेपछि उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल अस्थायी पोष्ट त्रिवेणीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

2075-10-8
APF News
छठ पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालद्वारा १ सय ७८ नदि तलाउ तथा मठमन्दिर सरसफाई

काठमाडौं,
छठ पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालले देशभरका १ सय ७८ नदि तलाउ तथा मठमन्दिर सरसफाई गरेको छ ।
सो पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुबाट व्रतालु भक्तजनहरुलाई सघाउ पु¥याउन गरिएको उक्त सरसफाईमा कुल २ हजार ३ सय ५३ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका थिए ।
जसमध्ये काठमाडौं उपत्यकामा मात्रै विभिन्न १२ स्थानमा सरसफाई गरिएको छ भने १ नम्बर प्रदेशमा २० तथा २ नम्बर प्रदेशमा ८८ र ३ नम्बर प्रदेशमा ७ स्थानमा सरसफाई गरिएको छ । 
यसैगरी ४ नम्बर प्रदेशमा १५ तथा ५ नम्बर प्रदेशमा २६ र ६ नम्बर प्रदेशमा ७ तथा ७ नम्बर प्रदेशमा ३ ठाउँमा रहेका नदि तलाउ तथा मठमन्दिरहरुमा सरसफाई गरिएको छ ।
स्थानीय व्रतालु भक्तजनहरुले व्रतका अवसरमा प्रयोग गर्ने नदि तलाउ तथा मठमन्दिरहरुमा सरसफाई गरिएको हो ।

2075-7-26
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ

पर्सा,
पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट कार्तिक २६ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका ८ बस्ने २३ वर्षिय सागर कार्की र सोही महानगरपालिका ९ बस्ने राजेश कुचिकार छन् । 
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
त्यसवेला एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई संका लागि जाँच गर्दा निजहरुले शरिरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा डाइजोप्याम ३९ वटा, नोफिन ३६ वटा र फेनेरागन ४० वटा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । 
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी इनरुवामा बुझाएको छ ।

2075-7-26
APF News
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा देउसीभैली कार्यक्रम

काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघले मंगलबार देउसी भैली कार्यक्रमको आयोजना गरेको छ । नेपालीको महान पर्व दिपावलीको पुनित अवसरमा लोक संस्कृतीलाई जगेर्ना गर्ने अभिप्रायले सो संघले उक्त कार्यक्रमको आयोजना गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लवमा आयोजित सो कार्यक्रममा संघका पदाधिकारी तथा कलाकारहरुले देउसी भैली कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा सो संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगाएत संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो । सो अवसरमा संघकी सदस्य सचिव श्रीमती सरस्वती पाण्डेले मन्तव्य व्यक्त गर्नुहुँदै सो संघले आफ्नो स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, सरसफाइका क्षेत्रहरुमा योगदान पु¥याउनुकासाथै सेवामूलक एवं जनचेतनामूलक कार्यक्रमहरु संचालन, विपद् प्रकोपमा पीडितहरुलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई निःशुल्क आवाशीय सुविधासहितको अध्ययनको व्यवस्था, निःशुल्क स्वास्थ्य शिविर संचालन, रक्तदान कार्यक्रमको आयोजना लगाएतका सामाजिक कार्यहरु गर्दै आईरहेको बताउनुभयो । उहाँले संघले अगामी दिनहरुमा समेत ंसमाजसेवाको क्षेत्रमा रचनात्मक कार्य तथा सेवामुखी एवं जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिने लगायत वीरगति प्राप्त तथा वहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुका सन्नतीलाई छात्रवृत्ति प्रदान गर्ने, उनीहरुका परिवारलाई सीपमूलक तालिम संचालन गर्ने लगायतका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा समेत उल्लेख गर्नुभयो । सो संघले आयोजना गरेको उक्त देउसी भैली कार्यक्रममा उठेको रकम विपन्न परिवारका बालबालिकाहरुको शिक्षा दिक्षामा खर्च गरिने कुरा सो अवसरमा जानकारी गराइएको थियो ।

2075-7-20
APF News
पहिरोले अलपत्र परेकी गर्भवती महिलाको एपीएफ टोलीद्वारा उद्वार :-

काठमाडौं,
    पहिरोको कारण सडक अवरुद्ध भई अलपत्र परेकी एक गर्भवती महिलालाई एपीएफ टोलीले उद्वार गरी अस्पताल पठाएको छ ।    
     गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका ७ मेलडाँडा बस्ने करीव २७ वर्षिया रिता कार्की नाम गरेकी ती महिला साउन १७ गते विहान रेसुङ्गा नगरपालिका १३ मा बाटो अवरोध भई अलपत्र परेकी थिईन । 
    वर्षाको कारण त्यसठाउँमा पहिरो खसेर गुल्मी जिल्लाको रिडीबाट तम्घास जाने राजमार्ग अन्तर्गत भंगेरीखोला भन्ने स्थानको सडकखण्ड अवरोध भएको थियो । त्यसठाउँमा माथिबाट पहिरोको लेदो खसेर सडक माथि करीव पाँच फिट लेदो जम्मा भई बाटो अवरोध भएको थियो ।
    विहान करीव पौने चार बजे सशस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा. गुल्मी, नम्बर ३७ गुल्मको इमिडियट रेस्पोन्स टिमलाई सो बारे खबर प्राप्त हुनासाथै करीव दुई किलोमिटर टाढा रहेको त्यसठाउँमा तत्काल एपीएफ टोली खटिएको थियो । सो लगत्तै सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश बहादुर रायमाझीको कमाण्डमा करीव ४० जनाको एपीएफ टोली समेत बाटो अवरुद्ध भएको त्यसठाउँमा पुगेर उद्वार कार्यमा जुटेको थियो ।
    घरबाट एम्बुलेन्स चढेर गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थित जिल्ला अस्पताल जान लागेकी ती महिला त्यसठाउँमा अलपत्र परेपछि एपीएफ टोलीले स्टे«चरमा राखेर बोकेर पहिरोको लेदोले अवरुद्ध सडकखण्ड पार गरी पारिपट्टि पु¥याएको थियो ।
    एपीएफ टोलीले त्यसवेला सो अस्पताललाई अनुरोध गरी पारीपट्टि एम्बुलेन्स बोलाएको तथा सो एम्बुलेन्सबाट करीव नौ किलोमिटर टाढा रहेको अस्पताल पठाएको हो ।
    त्यसपछि एपीएफ टोलीले पहिरो पन्छाउन प्रयास गरेको तथा विहान करीव साँढे सात बजे डोजरको सहायताले पहिरो हटाई बाटो सुचारु भएको छ । 

2075-4-17
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ :-

मोरङ,
    सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बुद्धनगरबाट खटिएको एपीएफ टोलीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ बाट साउन १६ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ बस्ने १८ वर्षिय सोनु शर्मा रहेका छन् ।
    गस्तीमा खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका निज शर्मालाई शंका लागि जाँच गर्दा उनको साथमा एभिल ५८ वटा, डाईजानिक ५८ वटा र लुपीजेसिस ५८ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
    पक्राउ परेका निज शर्मालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । 

2075-4-17
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको कपडा बरामद

पर्सा, पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित रजत जयन्ती चोकबाट साउन ११ गते एपीएफ टोलीले करीव ५ लाख रुपैयाँ बराबरको सुटको कपडा बरामद गरेको छ । ना ४ ख १७८७ नम्बरको ट्रकमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त कपडा सशस्त्र प्रहरी बल नेपाल राजश्ज तथा भन्सार सुरक्षा गुल्म विरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक खड्काको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो एपीएफ टोलीले बरामद कपडा तथा ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विरगंजमा बुझाएको छ । बरामद कपडा तथा गाडीको भन्सार दाखिला मुल्य करीव २० लाख ३५ हजार रुपैयाँ रहेको छ ।

2075-4-16
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका अवैध सामाग्री बरामद

झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ५ बाट साउन १२ गते एपीएफ टोलीले करीव १ लाख ६२ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका अवैध सामाग्री बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको कुर्ता सलवार, गुम्बामा प्रयोग हुने दियो, विभिन्न किसिमका तयारी पोशाक तथा थान कपडा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय झापाबाट सशस्त्र प्रहरी निरीक्षक चुनराज थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सोही कार्यालयबाट खटिएको एपीएफ टोलीले आईतबार विहान करीव २० हजार रुपैयाँ बराबरको चोरीनिकासीको ८ कार्टुन स्याउ र ३६ डिब्बा हाजमोला सोही ठाउँबाट बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामाग्री आवश्यक कारवाहीको लागि भन्सार कार्यालय काँकभिट्टामा बुझाएको छ ।

2075-4-16
APF News
एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित पक्राउ

सिरहा, सिरहा जिल्लाको कल्याणपुर नगरपालिका ५ जंडौल भन्ने स्थानबाट चैत्र २९ गते एपीएफ टोलीले एक जनालाई पक्राउ गरेको छ । सोही नगरपालिका ४ बस्ने ३४ वर्षिय विन्दुर यादवलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी सहायक निरीक्षक साधु महतोको कमाण्डमा खटिएको एपीएफ टोलीले सो ठाउँमा हिजो बेलुका जाँच गर्ने क्रममा स. ४ प ६७२२ नम्बरको मोटरसाइकलमा सवार निज यादवको साथमा उक्त हतियार फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले निज यादवलाई बरामद हतियार र उक्त मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।

2074-12-30
APF News
भारतीय रुपैयाँ सहित एपीएफ टोलीद्वारा एक जना पक्राउ

नवलपरासी, नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका ७ स्थित ग्यारेजपुलबाट बैशाख ९ गते एपीएफ टोली र नेपाल प्रहरीले भारतीय नोटसहित एकजनालाई पक्राउ गरेको छ । भारतको बगाहा घर बताउने ३८ वर्षिय कृष्ण मरहुलाई सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा पोष्ट त्रिवेणीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीको टोलीले पक्राउ गरेको हो । गस्तीमा खटिएको एपीएफ टोलीले उक्त स्थानमा जाँच गर्दा निज मरहुको साथमा भारतीय रुपैयाँ ५ सयको नोट ४ सय वटा र २ हजार दरको नोट २ सय वटा फेला पारेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज मरहुलाई आवश्यक कारवाहीको लागि बरामद भारतीय रुपैयाँसहित स्थानीय प्रहरीमा बुझाईएको छ ।

2075-1-9
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षकमा पदोन्नती हुनुभएका २२ जनालाई जेठ २ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको बैशाख २७ गतेको निर्णयले उहाँहरु पदोन्नती हुनुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा पदोन्नती हुनुभएका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई हार्दिक बधाई एवं शुभकामना दिनुहुँदै संगठन प्रतिको समर्पण एवं कार्यक्षेत्रमा उहाँहरुले पु¥याएको योगदानको मूल्याङ्कन गर्दै पदोन्नती गरिएको बताउनुभयो । उहाँले दर्जासँगै बढेको जिम्मेवारी निर्वाह गर्ने क्रममा आगामी दिनमा अझ बढि लगनशिल, अनुशासिक एवं उत्प्रेणित भएर हौसलाकासाथ कार्यक्षेत्रमा विशिष्ट योगदान पु¥याउन क्रियाशिल रहनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले गृहप्रशासन सुधार कार्ययोजनाको मूलमर्मलाई आत्मसाथ गर्दै संगठनलाई प्राप्त हरेक जिम्मेवारीलाई उत्कृष्ट एवं व्यावसायिक ढंगबाट पुरागर्न नीति, नियम र योजनाकासाथ सामुहिक भावनाकासाथ व्यक्तिगत स्वार्थलाई थाती राख्दै अगाडी बढ्नुपर्ने उल्लेख गर्नुभयो । भ्रष्टाचार एवं लैगिंक हिंसाको घटनामा संगठनले शून्य सहनशिलताको नीति अवलम्वन गरेकोे चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले कार्यक्षेत्रमा मानअधिकारको संरक्षण गर्दै उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा, रामशरण पौडेल, सुबोधकुमार अधिकारी, निराकारम बिक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।

2075-2-2
APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीबाट तालिम समापन

काठमाडौं, पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जिवी अधिकारीले सशस्त्र प्रहरी बल नेपाल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालित सि.सं. २७ सेमुहतियार तथा सेमुपति तालिमको जेठ ११ गते समापन गर्नुभयो । सो महाविद्यालयमा आयोजित तालिमको अन्तिम प्रवचन कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीले तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक मोहन राईमाझी लगायत उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीले त्यसअवसरमा व्यावसायिक जीवनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै यस्ता खालका व्यावसायिक तालिमले कार्यक्षेत्रमा दायित्व निर्वाहमा सहजता आउनुका साथै प्रशिक्षार्थीहरुको वृत्तिविकासमा समेत सघाउ पु¥याउने उल्लेख गर्नुभयो । तालिमको दौरानमा आर्जन गरेको ज्ञान, कला र कौशललाई प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा बढि भन्दा बढि उपयोग गर्नुपर्ने बताउनुहुँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीले कार्यक्षेत्रमा खटिदा सधैं नागरिकको सेवा, सुरक्षा तथा आपत विपदमा परेकाको उद्वार कार्यलाई प्राथमिकतामा राखेर उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले यस्ता पेशागत तालिमले राष्ट्रसेवक कर्मचारीहरुको व्यावसायिक क्षमतामा अभिबृढि हुने चर्चा गर्नुहुँदै कार्यक्षेत्रमा खटिएपछि सधैं उच्च मनोवल, उत्साह तथा सकारात्मक सोचकासाथ जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीले कार्यक्षेत्रमा आउन सक्ने चुनौती र निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रष्ट रही प्रभावकारी ढंगबाट कार्यसम्पादन गर्न सक्ने क्षमता अभिबृद्धिका लागि समेत पेशागत तालिम अपरिहार्य रहेको चर्चा गर्नुभयो । कार्यक्रममा सो तालिम महाविद्यालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक बंशीराज दाहालले धन्यवाद ज्ञापनको क्रममा प्रशिक्षार्थीहरुलाई सिमित श्रोत साधनका बाबजुद बढि भन्दा बढि ज्ञान दिइएको उल्लेख गर्नुभयो । तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक रामेश्वर श्रेष्ठले सो अवसरमा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १६ हप्ता अवधिको उक्त तालिममा ५० जना सशस्त्र प्रहरी सहायक निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए ।

2075-2-11
APF News
सशस्त्र प्रहरी कर्मचारीले एटीएममा भेटेको रकम बैंकलाई हस्तान्तरण

काठमाडौं, एक जना सशस्त्र प्रहरी कर्मचारीले एटीएमबाट पैसा निकाल्न जाँदा त्यहाँ ३० हजार रुपैयाँ नगद भेटाएपछि उक्त रकम बैंकलाई हस्तान्तरण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको गाडी चालकको रुपमा कार्यरत सशस्त्र प्रहरी जवान बलराम श्रेष्ठले शनिबार अपरान्ह काठमाडौको नयाँ बानेश्वर स्थित एक एटीएमबाट रकम निकाल्न खोज्दा त्यहाँ उनले उल्लेखित रुपैयाँ भेटाएका थिए । त्यसठाउँमा रहेको ग्लोवल आइएमई बैंकको एटीएम मेसीनको बाहिरै रहेको अवस्थामा सो रकम भेटिएको थियो । उक्त रकम उनी अघिको एटीएम प्रयोगकर्ताले झिकेको तथा रकम बिर्सिएर ती व्यक्तिले छाडी गएको हुन सक्ने अनुमान गरिएको छ । निज सशस्त्र प्रहरी जवान श्रेष्ठले सो रकम आईतबार ग्लोवल आइएमई बैंक नयाँ वानेश्वरका शाखा प्रवन्धक शुसिल कुमार बुढाथोकीलाई हस्तान्तरण गर्दै उक्त रकम सम्बन्धित व्यक्तिलाई बुझाई दिन आग्रह गरिएको छ ।

2075-2-13
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सीसीएससी र प्रशासनिक व्यवस्थापन तालिमको उद्घाटन

काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सि.सं. २० गुल्मपति तथा स्टाफ तालिम (सीसीएससी) र सि.सं. १ प्रशासनिक व्यवस्थापन तालिम संचालन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जेठ १४ गते सोही प्रतिष्ठानमा आयोजित एक समारोहका बीच उक्त दुवै तालिमको सयुंक्त रुपमा उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धिका लागि पेशागत तालिम अपरिहार्य रहेको चर्चा गनुहँुदै यस्ता तालिमले सशस्त्र प्रहरी कर्मचारीहरुलाई चुस्त, दुरुस्त र दक्ष बनाउनुका साथै उनीहरुको वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । उहाँले कुनैपनि संगठनको दक्षता र प्रभावकारिता त्यस संगठनमा कार्यरत मानव संसाधनको सीप र क्षमतामा निर्भर हुने चर्चा गर्नुहुँदै कार्यक्षेत्रमा आईपर्ने सुरक्षा चुनौतीहरुको सामना गर्न तालिमको विशेष महत्व रहने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले तालिम प्राप्त जनशक्तिले कूशल नेतृत्व र प्रशासनिक व्यवस्थापनमा प्रभावकारी रुपमा कार्यसम्पादन गर्नसक्ने विश्वास व्यक्त गर्नुहुँदै प्रशिक्षार्थीहरुले तालिमलाई संगठनले दिएको अवसरको रुपमा लिएर बढि भन्दा बढि ज्ञान आर्जन गर्न अनुशासित एवं लगनशिल भई लाग्नुपर्ने बताउनुभयो । प्रविधिको विकास सँगै राष्ट्रिय तथा स्थानीय स्तरमा हुन सक्ने सुरक्षा चुनौतीहरुलाई आँकलन गरी त्यस्ता चुनौतीहरुलाई परास्त गर्नसक्ने क्षमतावान अधिकृत उत्पादनमा यस्ता व्यावसायिक तालिम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तव्यको क्रममा राज्यले सुम्पिएको जिम्मेवारीहरुलाई सफलता पूर्वक सम्पन्न गर्नसक्ने कूशल अधिकृत उत्पादन गर्ने उद्देश्यका साथ सो प्रतिष्ठानले विभिन्न व्यावसायिक तालिमहरु संचालन गर्दै आइरहेको उल्लेख गर्नुभयो । उहाँले संगठनको नीति अनुरुप व्यावसायिक तालिमहरु समयानुकुल, प्रभावकारी एवं वैज्ञानिक ढंगबाट संचालन गरिने प्रतिवद्वता व्यक्त गर्नुभयो । बाह्र हप्ता अवधिको गुल्मपति तथा स्टाफ तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ३ जना तथा सशस्त्र प्रहरी निरीक्षक २७ जना र राष्ट्रिय अनुसन्धान विभागका एक जना अधिकृत गरी कुल ३१ जना प्रशिक्षार्थीहरु सहभागि रहेका छन् । यसैगरी चार हप्ता अवधिको प्रशासनिक व्यवस्थापन तालिममा २० जना सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा, रामशरण पौडेल, सुबोधकुमार अधिकारी, निराकारम बिक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

2075-2-14
APF News
सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघको १६औं वार्षिक साधारणसभा भाद्र १६ गते सम्पन्न भएको छ । सो संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठकोे प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा संघको वार्षिक आयव्यय विवरण समेत प्रस्तुत गरिएको थियो । त्यसअवसरमा संघकी अध्यक्ष श्रीमती श्रेष्ठ तथा उपाध्यक्षहरु श्रीमती आशा शाही, श्रीमती मुना ओझा, श्रीमती सरिता खनाल, श्रीमती सीता थापा र श्रीमती दीपा पौडेल लगायत संघका कार्यकारिणी पदाधिकारी एवं अन्य साधारण सदस्यहरुका बीच संघले समाजसेवाको क्षेत्रमा विगतमा गरेका कार्यहरुको समिक्षा र आगामी कार्यक्रमबारे अन्तरक्रिया भएको थियो । साधारणसभालाई सम्बोधन गर्नुहुदै संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठले समाजसेवाको क्षेत्रमा नवीन कार्यक्रमहरु संचालन गर्दै संघले निःस्वार्थ सेवाभावले कार्य गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले विसुद्ध सामाज सेवाको उद्देश्यका साथ स्थापना भएको सशस्त्र प्रहरी परिवार महिला संघले आगामी दिनहरुमा समेत सिर्जनात्मक ढंगबाट सामाजिक सेवामा सक्रिय रहिरहने बताउनुभयो । कार्यक्रममा संघकी सदस्यसचिव श्रीमती सरस्वती पाण्डेले संघको वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा संघकी कोषाध्यक्ष श्रीमती सुनिता श्रेष्ठले आर्थिक वर्ष ०७३÷७४ को वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । संघको लक्षित उद्देश्य र समाजसेवाको क्षेत्रमा संघबाट भइरहेका विविध गतिविधि तथा आगामी कार्यक्रमहरुबारे साधारणसभामा विस्तृत छलफल भएको थियो । शिक्षा, स्वास्थ्य, सरसफाईका क्षेत्रहरुमा सेवामूलक एवं सचेतनामूलक कार्यक्रहरु संचालन गर्नेदेखि विपदप्रकोप पीडितलाई सहयोग, वाहालवाला तथा वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका जेहेन्दार सन्ततीलाई छात्रवृत्ति, असाहय वालवालिका एवं बृद्धबृद्धालाई विभिन्न सहयोग, विपन्न समुदायका छात्राहरुलाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था लगायत संघले सामाजिक सेवाका विविध कार्यहरु गर्दै आएको कुरा समेत त्यसअवसरमा चर्चा गरिएको थियो । सो संघले आगामी दिनहरुमा समेत समाजसेवाको क्षेत्रमा संघको क्षमताले भ्याएसम्म अझै प्रभावकारी एवं रचनात्मक ढंगले अग्रसर रहने प्रण गरेको छ । त्यसअवसरमा सशस्त्र प्रहरी परिवार महिला संघका कार्यकारिणी पदाधिकारी एवं संघका साधारण सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

2074-5-16