गृहसचिव राईबाट सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई दज्र्यानी चिन्ह प्रदान

12th April, 2018
काठमाडौं, गृहसचिव प्रेमकुमार राईले सशस्त्र प्रहरी बल नेपालको सर्वोच्च पद सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नती हुनुभएका शैलेन्द्र खनाललाई चैत्र २९ गते गृहमन्त्रालयमा आयोजित विशेष समारोहबीच सशस्त्र प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनाल नेपाल सरकार मन्त्रीपरिषदको यही चैत्र २७ गतेको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षमा पदोन्नती हुनुभएको हो । समारोहलाई सम्बोधन गर्नुहुँदै गृहसचिव प्रेमकुमार राईले नेपाल सरकारले अंगीकार गर्ने नीति तथा कार्यक्रमलाई सफल बनाउन सधैं कटिबद्ध रहनु पर्ने उल्लेख गर्नुहुँदै जनचाहना अनुसारको सेवा प्रवाहमा ध्यान दिदै अझैं प्रभावकारी एवं पारदर्शी ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । उहाँले सुरक्षा निकायमा चेनअफ कमाण्ड ज्यादै महत्वपूर्ण मानिने हुँदा त्यसलाई ख्याल गरेर कार्य गर्नुपर्ने बताउनुहुँदै शान्ति सुरक्षा अमनचयन लगायत सरकारले सुम्पीएको जिम्मेवारी र उद्देश्य पुरागर्न आवश्यक कार्ययोजनाका साथ अगाडि बढ्न समेत निर्देशन दिनुभयो । सशस्त्र प्रहरी बल नेपालको सांगठानिक सुधार एवं कामकारवाहीमा गृहमन्त्रालयको सदैव सहयोग र समन्वय रहने चर्चा गर्नुहुँदै गृहसचिव राईले सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकास एवं मनोवल अभिबृद्धि हुने खालको कार्ययोजनालाई प्राथमिकता दिई सुशासन र सदाचार कायम गर्दै नमुनाको रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । उक्त विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल सरकारबाट प्राप्त नीति, निर्देशन, कार्यादेश र ऐननियमद्वारा प्रदत्त जिम्मेवारीहरुलाई पुरागर्न जस्तोसुकै परिस्थितिमा पनि परिचालित भई कार्य गर्न सक्ने संगठन निर्माणतर्फ आफ्नो दृष्टिकोण रहने बताउनुभयो । उहाँले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा एवं जनताको सेवा र सुरक्षाका लागि सधैं समर्पित रहने चर्चा गर्नुहुँदै सामाजिक सदभाव, सुशासन, संवैधानिक सर्वोच्चता एवं कानुनी शासनको पालनामा अनुशासित, नैतिकवान, सेवामुखी, व्यावसायिक तथा सवल ढंगबाट कर्तव्यनिष्ठ रहने बताउनुभयो । कल्याणकारी कार्यक्रमलाई तल्लो तहका अधिकृत जवानहरुको हितमा बढि भन्दा बढि उपयोग गर्नुकासाथै सशस्त्र प्रहरी कर्मचारीको सरुवा, बढुवा, युएन मिसन, पुरस्कार लगायतका वृत्तिविकासका अवसरहरुलाई वैज्ञानिक पद्धतीमा आधारित बनाइने बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भ्रष्टाचार, मानवअधिकार र लैंगिक हिंसामा शून्य सहनशिलताको नीति लिदैँ प्रविधिमा आधारित कार्यप्रणालीको विकासगरी संगठनको कामकारवाहीलाई फौजी संस्कार अनुसार चुस्त र सुदृढीकरण गर्दै लगिने बताउनुभयो । उक्त विशेष समारोहमा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी, अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु वासुदेव वली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ, दुर्जकुमार राई र सिंहबहादुर श्रेष्ठ तथा गृहमन्त्रालयका उच्च अधिकारीहरु एवं नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहको थियो । दज्र्यानी चिन्ह सुशोभन लगत्तै सशस्त्र प्रहरी महानिरीक्षक खनालले पाटनस्थित सशस्त्र प्रहरी बलको इष्टदेवी बगलामुखीमाईको मन्दिरमा पुगी पुजा अर्चना गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित स्मृती वाटिकामा जानुभई अमर सशस्त्र प्रहरीप्रति रिथ चढाई हार्दिक श्रद्वाञ्जली अर्पण गर्नुभयो । सो अवसरमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक खनालको सम्मानमा सशस्त्र प्रहरी बलको एक टोलीले सम्मान गारद अर्पण गरेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट पदवहाली सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहिबारै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा पदवहाली गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले बिहिबार नै सशस्त्र प्रहरी बलका सम्पूर्ण राष्ट्रसेवकहरुलाई निर्देशन सम्बोधनको क्रममा देश, जनता र संगठनप्रति सधैं वफादार एवं उत्तरदायी रही कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । उहाँले संगठनलाई अझै मजबुद र नमुनाको रुपमा स्थापित गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु एकजुट भई सामूहिक भावनाकासाथ अघि बढ्ने उल्लेख गर्नुहुँदै चेनअफ कमाण्ड, फौजी मर्यादा र अनुशासनमा रही हरेकले आफ्नो कार्यशैली, सोच र व्यवहारमा परिवर्तन ल्याउँदै कर्तव्य निर्वाहमा दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले भन्नुभयो ‘कोहीप्रति पुर्वाग्रही नराखी सबैलाई न्यायोचित हुने तवरले वृत्तिविकास लगायतका संगठनका हरेक अवसर र कामकारवाही पारदर्शी एवं प्रभावकारी ढंगबाट संचालन हुनेछन् ।’ उहाँले गृहप्रशासन सुधार कार्ययोजनाको मूलमर्मलाई आत्मसाथ गर्दै संगठनलाई प्राप्त हरेक जिम्मेवारीलाई उत्कृष्ट एवं व्यावसायिक ढंगबाट पुरागर्न नेतृत्व तह लगायत सकल दर्जाका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु संवेदनशिल रहने बताउनुभयो । हाल भइरहेका कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिदै आगामी दिनमा संगठनको कल्याणकारी कार्ययोजनालाई अझै प्रभावकारी एवं थप उपलब्धीमूलक बनाउदै लगिने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनको उन्नती प्रगतिमा हरेक सदस्यको सुझाव सल्लाह लिइने तर पदीय मर्यादा र फौजी आचरणबाट बाहिर गएर गरिने कुनैपनि क्रियाकलाप सह्य नहुने उल्लेख गर्नुभयो । वि.सं. २०२३ साल असोज २९ गते जन्मनु भएका सशस्त्र प्रहरी महानिरीक्षक खनालको काठमाडौंको नयाँबानेश्वरमा स्थायी बसोबास रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट प्रथम श्रेणीमा एम.ए.उत्तीर्ण गर्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक खनाल २०४९ साल बैशाख १९ गते प्रहरी निरीक्षबाट सेवा प्रवेश गर्नुभएको हो । उहाँले स्वदेश तथा विदेशमा गरी ३० वटा भन्दा बढी पेशागत तथा व्यावसायिक तालिम हासिल गर्नुकासाथै इटाली, जर्मनी, अमेरिका, चीन, भारत, कोसोभो, लाईवेरिया, सुडान लगायतका देशको भ्रमण गर्नु्भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनाल सुप्रवल जनसेवाश्री तृतीय, दुर्गम सेवा पदक, दैविक प्रकोप पीडित उद्वार पदक, युएन सेवा पदक, परदेश सेवा पदक लगायतका विभिन्न मानपदवीद्वारा सुशोभित हुनुुहुन्छ । उहाँले स्वदेश तथा विदेशमा सेवारत रहँदा उत्कृष्ट कार्यसम्पादन गरेवापत विभिन्न पुरस्कार तथा प्रशंसापत्र प्राप्त गर्नुभएको छ । उहाँले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विकास विभाग, राजस्व तथा औद्योगिक सुरक्षा निर्देशनालय, अन्वेषण तथा विकास निर्देशनालय, सशस्त्र प्रहरी बल नेपालका बाहिनी, तालिम केन्द्र, गण लगायताका कार्यालयहरुमा प्रमुख भई कार्य गर्नुभएको छ । २०५८ साल बैशाख १३ गते नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलतर्फ स्थानान्तरण हुनुभएका सशस्त्र प्रहरी महानिरीक्षक खनाल नेपाल सरकार मन्त्रीपरिषदको २०७३/०३/०२ गतेको निर्णयले सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती हुनुभएको थियो । उहाँ नेपाल सरकार मन्त्रीपरिषदको यही चैत्र २७ गतेको निर्णयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकबाट सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नती हुनुभएको हो ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-08-15
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-14
ट्रक र टाटा मोबाईल पुन: लिलाम विक्रि सम्बन्धमा (सप्रबल, नेपाल गण हेक्वा कञ्चनपुर नं ३५ गण)
2018-08-10
सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा सम्बन्धमा ।
2018-08-08 - 2018-09-09
पुराना सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सुचना ।
2018-08-08
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा सम्बन्धमा । (स्वास्थ्यतर्फ)
2018-08-05
प्राविधिक सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सम्बन्धमा
2018-08-02
(स.प्र.बल, नेपाल सीमा सुरक्षा कार्यालय,कपिलवस्तु) पुराना सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धमा
2018-08-03 - 2018-09-03
पुराना सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सुचना (स.प्र.बल, नेपाल सीमा सुरक्षा कार्यालय,कपिलवस्तु)
2018-08-02
ए.पि.एफ. कमाण्ड तथा स्टाफ तालिमको (MSDPS-2075) प्रथम सेमेष्टरको लिखित परिक्षाको नतिजा सम्बन्धमा
2018-08-02
सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित सम्बन्धमा
2018-08-01
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सम्बन्धमा
2018-07-26
सशस्त्र प्रहरी नियमावली
2018-07-25 - 2018-08-30
UN Vacancy for Special Assistance, P-3 (MINUSCA)
2018-07-20 - 2018-08-30
Logistics Planning Adviser, P-4
2018-07-03 - 2018-08-29
UN Vacancy for Police Planning Adviser, P-4 (United Nations Office in Africa Union)