मुग्लिन–नारायणगढ सडकमा पहिरोले गाडी पुरिदा दुईको मृत्यु,उद्धार कार्यमा एपीएफ टोली सकृय

23rd June, 2017
चितवन, इच्छाकामना गाँउपालिका ६ कालिखोलास्थित मुग्लिन–नारायणगढ सडकखण्डमा हिजो राति पहिरोले गाडी पुरिदा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई जना वेपत्ता भएका छन् । राति करीव साँढे ११ बजे ना.१ झ १३९० नम्बरको स्कारपियो गाडी त्यसठाँउमा पहिरोले पुरिएको भन्ने जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नरबहादुर रावतको कमाण्डमा तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो । सडकभन्दा करीव ५० मिटर माथिबाट अलिअलि पहिरो खसेको वेला त्यसठाँउबाट अगाडि बढेको उक्त गाडी एक्कासी ठूलो पहिरो खसेपछि पहिरोमा परेको थियो । त्यसवेला पहिरोले पुरै बाटो छोपिएको थियो । त्यसठाँउमा उद्धार कार्यका लागि सोही तालिम केन्द्रबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक हरिशंकर बुढाथोकीको कमाण्डमा अर्को एपीएफ टोली समेत खटिएको थियो । उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको टोली सकृयताका साथ जुटेको थियो । उक्त टोलीले त्यसठाउँबाट सो गाडीमा सवार दुई जनाको शव फेला पारेको छ भने दुई जना हराइरहेको बताइएको छ । त्यसवेला त्यसैठाँउमा विपरित दिशाबाट आएको ना. ५ ख ७८२७ नम्रबको ट्रक पहिरोमा परी सडकबाट तल खसेको छ । उक्त ट्रक नदीभन्दा करीव १५ मिटर माथि अड्किएको तथा गाडीको आधा भाग पहिरोले पुरिएको अवस्थामा रहेको छ । उक्त गाडीको चालक तथा सहचालकलाई घाइते अवस्थामा उद्धार गरी उपचारार्थ भरतपुरतर्फ पठाइएको छ । पहिरोले सडक पुरिएपछि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारको एउटा स्काइभेटर तथा अर्को एउटा स्काइभेटर र एउटा डोजर पहिरो पन्छाउने कार्यमा परिचालन गरिएको थियो ।