एपीएफ टोलीद्वारा विभिन्न किसिमको लागूऔषधसहित पक्राउ

25th March, 2017
सुनसरी, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ बाट चैत्र ११ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले सुनसरी जिल्लाकै बराह नगरपालिका ६ वस्ने २४ बर्षिय बिजय राउतलाई पक्राउ गरेको हो । एपीएफ टोलीले को. २७ प ७९२० नम्बरको मोटरसाइकलमा सवार निज राउतलाई जाँच गर्दा उनको साथमा स्मास्मो प्रोक्सिन प्लस १४४ वटा र नाईट्रोजन ट्याब्लेट १२० वटा फेला पारेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेल निज राउतले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका निजलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सोही जिल्लाकै कोशी गाउँपालिका ८ चारकुनेबाट लुपिजेसिक २ वटा, डाईजिल्याव २ वटा र फेनारगन २ वटासहित बराह नगरपालिका ३ भरौल वस्ने हेमबहादुर मगरलाई चैत्र १२ गते एपीएफ टोलीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपएिफ टोलीले निज मगरलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका मगरलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।