एपीएफ टोलीद्वारा अवैध पेस्तोलसहित तीन जना पक्राउ

22nd March, 2017
बाँके, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका २० स्थित जमुनाहबाट एपीएफ टोलीले चैत्र ८ गते दुईथान एयर पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बहराइच जिल्ला घर बताउने ५० वर्षिय लियाकत अली, ३५ वर्षिय मुफै सल र २७ वर्षिय विनोद नाम बताउने भारतीय नागरिक छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म जमुनाहबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उक्त हतियारसहित पक्राउ गरेको हो । यूपी ७० एपी ५६५६ नम्बरको भारतीय कारमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जमुनाहस्थित सीमावर्ती इलाकाबाट उक्त पेस्तोलसहित पक्राउ गरिएको हो । मंगलबार साँझ सो ठाउँमा एपीएफ टोली र स्थानीय प्रहरीले जाँच गर्ने क्रममा निजहरुको साथबाट उक्त हतियार फेला पारेको थियो । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद हतियार तथा उक्त गाडीसहितै आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ ।