गाडीसहित खोलाले बगाउँदा विपदमा परेका ६ जनाको एपीएफ टोलीद्वारा सकुशल उद्धार

02nd July, 2017
कञ्चनपुर, कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका १० स्थित हातीथलामा असार १७ गते राति बौलाहा खोलाले गाडीसहित बगाउँदा विपत्तीमा परेका ६ जनालाई एपीएफ टोलीले सकुशल उद्धार गरेको छ । स्थानीय पुनर्वासबाट महेन्द्रनगरतर्फ जाँदै गरेको जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरको गाडी र त्यसमा सवार मानिसहरुलाई राति करीव आठ बजेतिर खोलाले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथै उद्धार कार्यको लागि एपीएफ टोली खटिएको थियो । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय कञ्चनपुरबाट खटिएको एपीएफ टोली तत्कालै सो ठाउँमा पुगी खोलाले बगाएको गाडीभित्रबाट सवै ६ जना मानिसहरुलाई सकुशल उद्धार गरेको थियो । उद्धार गरिएकाहरुमा सोही जिल्ला प्राविधिक कार्यालयमा कार्यरत केदार शर्मा, गणेश ठगुन्ना, कुलराज मल्ल, रमन बस्नेत, प्रदिप पन्त र उनका चार वर्षिय छोरा अरुण पन्त रहेका छन् । खोलाले बगाउँदा विपदमा परेका उनीहरुलाई निर्वाचन सुरक्षाको लागि बेदकोटमा खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक भुवनेश्वर न्यौपानेको कमाण्डमा रहेको एपीएफ टोलीले सकुशल उद्धार गरेको हो ।